युद्ध नेपालीको चाहना होइन

0
383

एक दशकभन्दा लामो सशस्त्र द्वन्द्व तथा हिंसाबाट मुक्ति पाएका नेपाली फेरि त्यस्तै द्वन्द्वमा फस्ने डरले आतंकित भएका छन् । पछिल्लो समय देशभर बढ्दै गएको बम विष्फोटका घटनाले नेपालीलाई अनिश्चय भविष्यको चिन्ताले आतंकित बनाएको हो । माओवादीले लामो समयसम्म सञ्चालन गरेको हिंसाका कारण हज्जारौं नेपालीले मृत्युवरण गर्नुप¥यो । कैयौं नारीको सिन्दुर पुछियो, कति बालक टुहुरा भए कति वृद्धवृद्धा असहाय भए र फेरि पनि सम्हालिएर कर्मको यात्रा हिँड्न थाले । त्यहीभित्रको एउटा समूह लाखौंको सवारी चढेर करोडौंको सुखभोग गरेर विलाशिताको जीवन भोग्दैछ भने त्यसभित्रकै अर्को समूह फेरि द्वन्द्वतर्फ घकेलिइएको छ । यसले आम जनमानसमा असुरक्षा र त्रासको वातावरणको सृजना गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले दूरसञ्चार प्रदायक संस्था एनसेलले राज्यलाई कर नबुझाएको भन्दै उसका टावरहरुमा बम बिष्फोट गराएको थियो । त्यसलगत्तै विभिन्न ठाउँमा आगजनी तथा विष्फोटका घटनाहरु भइरहेका छन् । सरकारले सो समूहलाई वार्ताका लागि बोलाएको, वार्ता भइरहेको बताइए पनि यस्ता गतिविधिहरु निरन्तर भइरहेका छन् । पछिल्लो समय प्रधानमन्त्रीकै जिल्ला यस्तो आतंकबाट त्रसित छ । प्रधानमन्त्रीको गृहनगर हुँदै जिल्ला सदरमुकामसँग जोडिएको बिर्तामोड नगरपालिकाकै कार्यालय विष्फोटको चपेटामा परेको छ । यद्यपि कसैले बम विस्फोटको जिम्मा लिएको छैन, तर अघिल्ला गतिविधिहरुलाई हेरेर त्यही समूहले विष्फोट गराएको हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्लो चरणमा भएको आतंक र हिंसाका घटनामा पीडक भनिने पक्ष नै परेको छ । निर्दोष मानिसले ज्यान गुमाउनु परेको छैन, भौतिक क्षति मात्रै भएको छ, तर त्यसको दूरगामी प्रभाव भनेको स्थानीयबासीलाई परेको मानसिक क्षति हो । बिर्तामोड नगरपालिकाको वडा नं. ७, ८ र ९ नम्बर वडा कार्यालयमा भएको बम बिष्फोटले त्यस्तै त्रास बढाएको छ । प्रहरीको निगरानीमा रहने सरकारी कार्यालयहरु नै असुरक्षित भएपछि आम मानिसले कसरी सुरक्षाको अनुभूति गर्न सक्छन् ? स्थानीय सरकार अर्थात् बिर्तामोड नगरपालिकाले अठार जना विदेशीलाई नेपाली नागरिकता बेचेको आरोपमा विष्फोट गराइएको नेकपा माओवादीले जनाएको छ ।

माओवादी विप्लव समूहले यसअघि झापाको दमक, भद्रपुर, अर्जुनधारा क्षेत्रमा भएका एन्सेलका टावरमा गराएको भन्दै प्रहरीले सत्रजनालाई नियन्त्रणमा लिएको थियो । त्यसैगरी अवैध हतियार पेस्तोलसहित एकजना नेपाली भारतीय सीमामा पक्राउ परेका छन् । यसले हात हतियारको प्रवेश भइरहेको हुनसक्ने देखाएको छ । भारतको पानीट्यांकीमा पक्राउ परेका मेचीनगर–११ का किर्तन बाँतर अहिले प्रहरी अनुसन्धानमा छन् । लामो द्वन्द्व र हिंसाबाट शान्तिपूर्ण वातावरणमा प्रवेश गरेको केही समयमै मुलुक फेरि आतंकमा पर्ने भयले समाज त्रस्त छ । यसका पछि तिनै नेतृत्व वर्गको द्वैध चरित्र जिम्मेवार हुन सक्छ जो हिजोसँगै सशस्त्र हिंसामा थिए । त्यसैले उनैले यसको स्थायी समाधान खोज्न जरुरी छ । किनकि अब नेपाली मर्ने र मार्ने मानसिकताबाट शान्ति र विकासको यात्रामा हिँड्न चाहन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here