किराँत सभ्यताको ऐतिहासिकस्थल तुवाचुङ–जायजुम पहिराको उच्च जोखिममा

0
520

खोटाङ, 

किराँत सभ्यताको उद्गमस्थल तुवाचुङ–जायजुम पहिराको उच्च जोखिममा परेको छ । मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक कालोपत्र गर्न फराकिलो बनाएपछि भित्तापट्टिको भाग क्रमशः झर्ने क्रम नरोकिँदा ऐतिहासिकस्थल तुवाचुङ–जायजुम पहिराको जोखिममा परेको हो ।

निरन्तर पहिरो झरिरहने तुवाचुङ–जायजुमको तल्लो भेग बर्खेटारमा यस वर्ष गत असार २६ गते राति सडकमा ठूलो चट्टानसहितको पहिरो थुप्रिएको थियो । करीब ५०० मिटरमाथिबाट सडकमा खसेको पहिरो पन्छाउने काम अझै पूरा भएको छैन ।

सडकमाथि निरन्तर पहिरो झर्नाले यातायातका सवारी साधन राजधानी काठमाडौँ तथा तराईका जिल्ला आवतजावतमा समेत समस्या हुने गरेको छ ।कालोपत्रको काम भइरहेको बर्खेटार पुगेपछि सडकमाथिबाट झरिरहने पहिरोको डरले यात्रुहरु त्रासमा हुने गरेको सवारी चालकहरुले बताउने गरेका छन् ।

पत्रै–पत्र बनेर अडिएको ढुङ्गा हरेक वर्ष बर्साद शुरु हुनासाथ निरन्तर झर्नाले ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायजुमको अस्तित्व नै सङ्कटमा परेको संरक्षण समितिका महासचिव दिनेश राईले बताउनुभयो ।

“निरन्तरको पहिरोले हाम्रो ऐतिहासिकस्थल जोखिममा परेको छ”, उहाँले भन्नुभयो, “पहिरो रोकथाम गरेर दीर्घकालीन समस्या समाधान गर्न स्थानीय तथा प्रदेश र सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको छ ।”त्रिधार्मिकस्थल हलेसीभन्दा करीब तीन किलोमिटरमाथि रहेको तुवाचुङ–जायाजुममुनि सडक निर्माण गरिएकाले हरेक बर्खायाममा सडकको भित्ता खस्ने गरेको छ ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीदेखि उत्तरी क्षेत्रमा पर्ने तुवाचुङ–जायाजुम मुन्तिरको भाग तह–तह बनेर अडिएको चट्टाने भित्ताको जग सडक फराकिलो पार्ने क्रममा काटिएपछि विभिन्न ठाउँमा चट्टानको पत्र टुक्रिएर झर्ने गरेको हो ।

पहिरो खस्ने क्रम नरोकिएका कारण ऐतिहासिक तथा पर्यटकीयस्थल यस स्थानको पुरातात्विक संरचनामा असर पर्ने देखिएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेविस्थानका वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । विसं २०७५ असार २० गते राति चट्टानको पहिरो खसेको बर्खेटार सडकमा पुनः सोही वर्षको भदौ २३ गते पहिरो खस्दा लामो समय सडक अवरुद्ध भएको थियो ।बर्खेटार आसपासबाट ठेकेदार कम्पनीले ढुङ्गागिट्टी निकाल्दा तुवाचुङ–जायाजुम पहिरोको उच्च जोखिममा परेकाले आगामी दिनमा ढुङ्गागिट्टी निकाल्न रोक लगाइएको नगरप्रमुख इवन राईले बताउनुभयो ।

“निर्माणाधीन अवस्थामा रहेको हलेसी–दिक्तेल सडकखण्डमा बर्खेटार आसपासको ढुङ्गागिट्टी प्रयोग गरेको पाइयो”, उहाँले भन्नुभयो, “आगामी दिनमा नगरपालिकाको बिनाअनुमति निकालेको पाइएमा कडा कारवाही गरिनेछ ।

ढुङ्गागिट्टी निकासीमा रोक लगाइएको कुरा हलेसी क्षेत्रमा काम गर्दै आएको प्रत्येक ठेकेदार कम्पनीलाई सोमबार लिखित पत्रसमेत पठाइएको छ ।”पछिल्लो समय पर्यटकको गन्तव्यस्थल बन्दै गएको तुवाचुङ–जायाजुममा २०७४ साल मङ्सिर २ गते किराँतीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा स्थापना गरिएको छ ।

किराँती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश विदेशका किराँती र गैरकिराँती पर्यटकको भीड लाग्ने गरेको छ ।किराँतीको उद्गम थलो र आस्थाको केन्द्र तुवाचुङ–जायाजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश भारतको सिक्किम र दार्जिलिङ तथा भुटान लगायतका किराँत समुदाय आउने गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको १०० गन्तव्य पदमार्गमा पर्ने तुवाचुङ–जायाजुममा किराँती सभ्यताको अध्ययन भ्रमण तथा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका हुन् ।

तुवाचुङ जायजुममा किराँत राई समुदायले हरेक वर्ष सामूहिक चुला पूजासमेत गर्दै आएका छन् । पितृको सम्झना तथा संस्कार संस्कृतिको संरक्षणको सन्देश दिन किराँत राई समुदाय भेला भएर तीन चुलाको पूजा गर्ने गरेका हुन् । किराँत राईको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग र मानव सभ्यताको शुरुआत गरेको किंवदन्ती बोकेको स्थलमा हरेक वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाका अवसरमा एक÷एक पटक चुला पूजा गरिन्छ । ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै तीन चुलाको पूजा गर्ने गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here