गैरनेपालीलाई नागरिकता सिफारिस गर्ने वडाध्यक्षमाथि छानबिन गर्न माग

0
821

भद्रपुर,

आर्थिक चलखेल गरी गैरनेपालीलाई नेपाली नागरिकता दिएको घटना प्रकरणमा संलग्न भएको आरोप लागेका वडा अध्यक्षमाथि निष्पक्ष छानबिन गर्ने नेपाली कांग्रेसले जोडदार माग गरेको छ।

जिल्ला प्रशासन कार्यालय झापाले १६ जना गैरनेपालीलाई नागरिता बनाइदिएको घटना बाहिरिएपछि घटना प्रकरणमा संलग्न भएको आरोप खेपिरहेका भद्रपुर नगरपालिका-९ का वडा अध्यक्ष शनिलाल राजवंशीमाथि निष्पक्ष छानबिन गर्ने नेपाली कांग्रेस ९ नम्बर वडा समितिले माग गरेको हो। नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय झापा र भद्रपुर नगरपालिका कार्यालयमा छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएर उक्त माग राखेको छ।

नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, २ नम्बर क्षेत्रीय सचिव रमेश पोखरेल, जिल्ला सदस्य राजेन्द्र रिजाल, भद्रपुर नगरका उप–सभापति ज्ञानबहादुर चौहान, ९ नम्बर वडा सभापति गोपालप्रसाद श्रेष्ठ, वडा सहसंयोजक लावण्यकुमार पोखरेल, अल्छिया राजवंशी लगायतको टोलीले झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई उक्त ज्ञापनपत्र बुझाएका थिए। त्यस्तै, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठलाई समेत कार्यकर्ताहरूको सोही टोलीले ज्ञापनपत्र बुझाएका थिए।

वडाध्यक्ष राजवंशीले गैरनेपाली नागरिकलाई झुटो विवरणको आधारमा नागरिकता दिलाउन सिफारिस गरेको भन्दै गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धानले छानबिन गरिरहेकोप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गर्दै घटनाको बारेमा सत्य तथ्य पत्ता लगाई छिटोभन्दा छिटो कारबाही अघि बढाउन माग गरिएको छ। ‘गैरनेपालीलाई नागरिकता दिएको घटना प्रकरणमा नगरका वडा अध्यक्ष स्वयं परेको छ’, कांग्रेसका सभापति पोखरेलले भने, ‘घटना प्रकरणमा संलग्न भए तत्काल सरकारले कारबाही गर्नुपर्छ, निर्दोष भए पनि सत्यतथ्य बाहिर ल्याउनुपर्छ।’

अध्यक्ष सम्पर्कविहीन, कामकाज प्रभावित

नागरिकता प्रकरणमा मुछिएका वडा अध्यक्ष शनिलाल राजवंशी डेढ महिनादेखि घरयासी कामसहित बिरामी छु भन्दै सम्पर्कविहीन भएका छन्।

वडा अध्यक्ष राजवंशी नहुँदा ९ नम्बर वडा कार्यालयको योजना लगायतका अन्य कामकाजसमेत प्रभावित बनेको नेपाली कांग्रेसको ठहर छ। यदि वडा अध्यक्ष स्वयंले कार्यालयमा उपस्थित भएर सेवा दिन नसक्ने हो भने वडावासीको काम कारबाहीलाई सुचारु राख्न नगरपालिकाले अन्य विकल्प दिनुपर्ने कांग्रेसका वडा सभापति गोपालप्रसाद श्रेष्ठले बताए।

‘डेढ महिनाभन्दा बढी भइसक्यो, अहिलेसम्म वडा अध्यक्षको अत्तोपत्तो छैन’, उनले भने, ‘अब चालू आर्थिक वर्षको योजनाको कामहरू कसरी सञ्चालन हुन्छ, यसको विकल्प कसले दिन्छ?’ यता, वडा अध्यक्ष राजवंशीलाई नगरपालिकाले उपलब्ध गराएको सरकारी नम्बर ९८५२६२०३०९ बन्द रहेको छ।

नगरिकताका प्रकरणमा परेलगत्तै वडा अध्यक्ष राजवंशीले गत असार २४ गते कार्यवाहक अध्यक्ष भनेर वडा सदस्य राम दाहाललाई जिम्मेवारी दिएको जनाइएको छ। कार्यालयमा वडा सदस्य दाहाल र कार्यालय सचिव अरुणा भट्टराईले वडावासीलाई सेवा प्रदान गर्दै आइरहेको वडा सदस्य नुतन पौडेलले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here