सहमतिपछि आन्दोलन फिर्ता

0
462

भद्रपुर ।

कचनकवल गाउँपालिका एक बिद्यालय, एक संकायको निर्णयबाट पछि हटेको छ । नेविसंघ , अनेरास्ववियु र अखिल क्रान्तिकारी संयुक्त बिद्यार्थी सङ्गठनले तालाबन्दीदेखि शैक्षिक हड्तालसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेसँगै गाउँपालिका आफ्नो निर्णय सच्याउँदै पछि हटेको हो ।

गाउँपालिकाका अध्यक्ष अञ्जार आलमको अध्यक्षतामा सोमबार जनप्रतिनिधि, शिक्षक र संयुक्त बिद्यार्थी सङ्गठनको उपस्थितिमा भएको संयुक्त बैठकमा एक बिद्यालय, एक संकायको विषयमाथि छलफल गर्दै गाउँपालिकाले सो निर्णय फिर्ता लिएको हो ।

गाउँपालिकाले एक विद्यालय, एक संकायको विषयमा गतअसार १७ गते गरेको निर्णयलाई सच्याउँदै गाउँपालिकाभित्र कक्षा ११ र १२ पढाइ हुने विद्यालयमा पूर्ववतः पढाउने विषयमा सहमति भएको नेविसंघ कचनकवल सभापति सागर राजवंशीले जानकारी दिए ।

साथै गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा कक्षा १२ सम्म सबै विद्यार्थी र छात्राहरूलाई क्याम्पस तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको कार्यक्रमलाई प्रभावकारी बनाउन संयुक्त विद्यार्थी सङ्गठन लागीपर्ने अनेरास्ववियु जिल्ला सचिव रोशन लामाले बताए ।

गाउँपालिकाको निर्णय अनुसार लक्ष्मी मावि बनियानीमा नेपाली माध्यममा व्यवस्थापन संकाय, पथरिया माविमा व्यवस्थापन संकाय अंग्रेजी माध्यममा र लक्ष्मीप्रसाद देवकोटा माविमा व्यवस्थापन संकाय अंग्रेजी माध्यममा मात्र पढाउनुपर्ने बाध्यकारी निर्णयको बिरुद्ध संयुक्त बिद्यार्थी सङ्गठन आन्दोलित बनेका थिए ।

गाउँपालिकामा रहेका तीनवटा मावि तहका सामुदायिक विद्यालयमा कक्षा ११ र १२मा करिब सात सय विद्यार्थी अध्ययनरत् रहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here