बिर्तामोड।

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक वर्षमा चमत्कार गरेको भन्दै दिवा सपना देख्ने गरेको आरोप लगाएका छन् ।
झापाको बिर्तामोडमा मंगलवार सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले भने– प्रधानमन्त्री ओलीले एक वर्षमा नेपाललाई रामराज्य बनाएँ भनेर संसदमा बताए पनि नेपाली जनताले भने अहिलेसम्म परिर्वतनको आभास नै गर्न सकेका छैनन् । पाँच वर्षभित्रमा गर्ने काम यो सरकारले एक वर्षमै चमत्कारिक रुपमा गरेको दावी गर्ने प्रधानमन्त्री ओलीले अबको दिनमा पनि केही गर्न नसक्ने युवा नेता थापाको आरोप छ ।
दोष सरकारमा छैन, दोष प्रधानमन्त्रीमा छैन, दोष यो सरकारलाई राम्रो देख्न नसक्नेहरुमा छ– थापाले भने– ‘प्रधानमन्त्रीले भने जस्तै यो सरकार पाँच वर्षसम्म चलिरहन्छ, चार वर्षमा कसैले पनि यो सरकारलाई हल्लाउन सक्दैन । तर, यो सरकारले एउटा कुरा पनि फरक ढंगले गर्नुपर्छ भन्ने आत्मबोध गर्न नसक्नु चाहिँ दुःखदायी कुरा हो ।’
यस अघि झापाको बिर्तामोड–१ निवासी प्रजातान्त्रिक योद्धा टुङ्गवहादुर बस्नेतको निधनको १२औं पुण्य तिथिका अवसरमा नेपाली कांग्रेस झापाले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै थापाले बस्नेत परिवारले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरेका थिए । उनले बुवा टुङ्गबहादुरको निधनले सिङ्गो नेपाली कांग्रेसलाई क्षति पुगेको बताए ।
श्रद्धाञ्जलि सभामा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले समेत शोक मन्तव्य राखेका थिए ।

























