भद्रपुर।
हल्दिबारी गाउँपालिकाले विद्यार्थी संख्या न्यून भएका विद्यालयहरूलाई समायोजन अर्थात् मर्ज गर्न लागेको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ ।
जिल्लामै पहिलोपटक गाउँपालिकाले पाँच वटा आधारभूत विद्यालयलाई मर्ज गर्ने र दुईवटा माविलाई स्तर कटौती गर्दै आधारभूत तहमा झार्ने निर्णय गर्न लागेपछि नेपाली कांग्रेस गाउँ समन्वय समिति हल्दिवारीले त्यसविरुद्ध गाउँपालिकालाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।
नेपाली कांग्रेस गाउँ समन्वय समितिका संयोजक दिलीपकुमार मावोको नेतृत्वमा गएका नेता तथा कार्यकर्ताहरूले मङ्गलवार दिउँसो गाउँपालिका घेराउ गर्दै गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन र उपाध्यक्ष डम्बर गिरीलाई सो ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा हल्दिवारी गाउँपालिकाभित्र १७ वटा सामुदायिक विद्यालयहरू रहेकोमा पञ्चायत मावि र सरस्वती माविको स्तर घटाई आधारभूत विद्यालय बनाउने तथा शान्ति प्रावि, रामेश्वर प्रावि, धनुषा आधारभूत, जनता प्रावि र राष्ट्रिय एकता प्राविलाई एकीकरण गरी मर्ज गराउन लागेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
त्यसक्षेत्रमा बसोबास गर्ने अभिभावक, जग्गा दाता, चन्दादाता, बुद्धिजीवीहरूको योगदानको कुनै वास्ता नगरी एकलौटी ढङ्गले निर्णय गरेकोले त्यस्तो निर्णयले अभिभावक, बुद्धिजीवी, सरोकारवाला निकाय र बिद्यार्थीहरूलाई आघात पुग्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
सामुदायिक विद्यालयमा धेरै जसो अतिविपन्न, गरीब, अनाथ, असहाय, आदिवासी तथा सीमान्तकृत समुदायका छोराछोरीहरूले अध्ययन गर्ने भएको हुँदा हल्दिवारी गाउँपालिका तथा गाउँ शिक्षा समितिले बिद्यालयको भौतिक तथा शैक्षिक सुधारतर्फ विशेष ध्यान दिनुपर्ने र उक्त निर्णय तुरुन्त सच्याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । साथै गाउँपालिकाभित्र रहेका सडकहरू जीर्ण अवस्थामा रहेकोले तत्काल सुधार गर्न समेत ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको छ ।
यता ज्ञापनपत्र बुझाए पश्चात् गाउँपालिका परिसरमै गरिएको कोणसभामा बोल्दै नेपाली कांग्रेस जिल्ला कार्य समितिका सल्लाहकार तुलसी ओलीले विद्यालय खोली सकेपछि त्यसलाई मास्न नहुने बरु बिद्यार्थी संख्या न्यून भएको भए त्यसको कारण पत्ता लगाएर सुधार गर्नुपर्ने बताए ।
त्यस्तै भूपाल बस्नेतले निजी विद्यालयलाई प्रोत्साहन दिन विद्यालय मर्ज गर्न खोजिएको आरोप लगाउँदै कांग्रेसको मागलाई बेवास्ता गरे गाउँपालिकामा तालाबन्दी गर्ने चेतावनी दिए ।
यसैबीच गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष समेत रहेका डम्बर गिरीका अनुसार शैक्षिक गुणस्तर अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षासहित बिद्यार्थी संख्या ज्याँदै न्यून भएका बिद्यालयलाई मर्ज गर्न लागेको बताएका छन् ।
अब हल्दिबारीका सबै राजनीतिक दल र सरोकारवाला पक्षसँग छलफल गरेर मात्र यस विषयलाई टुंग्याउने उनको भनाइ छ । उपाध्यक्ष गिरीले विद्यार्थी न्यून भएका विद्यालयलाई पटक–पटक विद्यार्थी संख्या बढाउन भने पनि अटेर गरेका कारण गाउँपालिकाले विद्यालय समायोजन थालेको बताए ।
सामुदायिक विद्यालयमा एक शिक्षकलाई तराईका लागि ४५ जना विद्यार्थी हुनुपर्ने भए पनि ति विद्यालयमा जम्मा ४५ जना पनि बिद्यार्थी नभएपछि समायोजन प्रक्रिया थालिएको उपाध्यक्ष गिरीले बताए । यसमा गाउँपालिकाले कुनै वदनीयत्पूर्ण निर्णय नगरेको उपाध्यक्ष गिरीको भनाइ छ ।

























