सिम्रिकको समिक्षा

0
859

बिर्तामोड  ।

झापाको बिर्तामोड– ४ स्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बार्षिक बजेटको समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विभागीय प्रमुख मिनबहादुर अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७५÷०७६ का लागि निर्धारित लक्ष्य र भए गरेका वित्तीय प्रगतिको समीक्षा गरिएको थियो भने चालू आर्थिक वर्षका लागि वित्तीय सूचांक पनि प्रस्तुत गरिएको थियो ।

संस्थाका सञ्चालक तथा कर्मचारीहरुको सहभागितामा भएको कार्यक्रममा अध्यक्ष बस्नेतले संस्थाले गत आर्थिक वर्षका लागि निर्धारण गरेको लक्ष्य ९९ प्रतिशत पूरा भएको बताए । उनले संस्थाका सञ्चालकहरुले सहकारीलाई उत्कृष्ठ बनाउन सपना देखे पनि त्यो सपना पूरा गर्न कर्मचारीहरुको भूमिका महत्वपूर्ण भएको बताए । संस्थाको सदस्य विस्तार, निक्षेप संकलन, कर्जा लगानी र नाफा आदि शीर्षकमा लक्ष्यभन्दा राम्रो प्रगति गरेको बताउँदै अध्यक्ष बस्नेतले आगामी आर्थिक वर्षमा अझ राम्रो गर्नुपर्ने बताए ।

संस्थाले बाह्य ऋण नलिई सदस्यको वित्तीय आवश्यकता पूरा गर्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यकता दर्शाउँदै अध्यक्ष बस्नेतले अब संस्थाका कर्मचारीहरुले निक्षेपमा वृद्धि गरी बाह्य ऋण मुक्त बनाउन लाग्नुपर्ने आह्वान गरे ।

कार्यक्रममा आर्थिक वर्ष ०७६÷७७ को लागि दुई अर्ब ६३ करोड ३० लाख ३७ हजार पाँच सय रुपैयाँको बजेट विनियोजन गरिने जानकारी दिइयो । जसमध्ये सञ्चालन खर्चतर्फ १८ करोड ५७ लाख पाँच सय, लगानी एक अर्ब छ करोड ९४ लाख ३० हजार, बचत फिर्तातर्फ एक अर्ब, ३५ करोड ५५ लाख ५१ हजार, सम्पत्ति खरिद तर्फ दुई करोड, २३ लाख ५६ हजार रुपैयाँ विनियोजन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

त्यस्तै संस्थाले २१ करोड १५ लाख ५४ हजार रुपैयाँ आम्दानी गरेकोमा १८ करोड ५७ लाख पाँच सय रुपैयाँ खर्च भई दुई करोड ५८ लाख ५३ हजार पाँच सय रुपैयाँ नाफा गरेको र आगामी वर्ष दुई करोड ५८ लाख नाफा आर्जन गर्ने उनले जानकारी दिए ।

कार्यक्रममा संस्थाका सचिव सुवास भट्टराईले भद्रपुरको सनसाइन बचत तथा ऋण सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । उनले सिम्रिकका १४ वटा सेवा केन्द्र सञ्चालनमा रहेकोमा सनसाइन पनि एकीकरणमा आएपछि अब १७ वटा सेवा केन्द्रबाट आफ्ना सदस्यहरुले सेवा पाउने बताए ।

विगतमा विभागीय प्रमुख र सञ्चालकहरु बसेर वार्षिक बजेट बनाउने गरिएको बताउँदै सचिव भट्टराईले यस वर्षदेखि सेवाकेन्द्रबाटै वार्षिक बजेट निर्धारण गर्ने नीति लिएको बताए ।

कार्यक्रममा संस्थाका सञ्चालक सदस्य इन्द्रबहादुर कार्की, ऋण उपसमितिका सदस्य योगराज श्रेष्ठ, लेखा समिति सदस्य ओमराज राई, शिक्षा उपसमिति सदस्य गणेशप्रसाद सुवेदी, सञ्चारकर्मी गोपाल काफ्ले लगायतले आफ्ना धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन विभागीय प्रमुख विजय बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here