चिन्तामणि दाहाल,
लामो समयको रस्साकस्सीपछि अन्ततः एमाले र माओवादीको प्राविधिक एकीकरणको काम सम्पन्न भएको छ । एकीकरण घोषणा भएको १४ महिनापछि बल्ल जिल्ला तहसम्म र भातृ संगठनहरुको नेतृत्व चयन भएको छ । यसलाई एकीकरणको तदर्थ काम सम्पन्न भएको मान्नु पर्छ । पहिलो चरणमा केन्द्रीय समिति बन्यो दुई अध्यक्ष बनाएर । कहीँ नभएको जात्रा हाँडी गाउँमा भने जस्तै ।
दोश्रो चरणमा प्रदेशका इञ्चार्ज र केही सहइञ्चार्ज तोकिए । १० जनासम्म सहइञ्चार्ज पनि तोकिएका छन् भने सहइञ्चार्ज थप्ने कम पनि जारी छ । त्यसपछि जिल्ला इञ्चार्ज र सहइञ्चार्ज बनाइए भने अहिले ३२ वटा विभाग, भातृ संगठनका प्रमुख तोक्ने काम भएको छ । तिनमा सदस्या तोक्न बाँकी नै छ । पार्टीमा हाल नराखिएको उपाध्यक्षको पद थपेर बामदेव गौतमलाई उपाध्यक्ष बनाइएको छ ।
यसका साथै एकपटक तोकिएको बरियतामा विवाद भएपछि झलनाथ खनाललाई दोश्रो र माधव नेपाललाई तेश्रो बरियतामा राखिएको छ । आफूलाई कहिले दोश्रो र कहिले तेश्रो बरियतामा राखेको भन्दै नेता नेपालले असन्तुष्टि जाहेर गरिसकेका छन् भने भातृ संगठनका छ वटामा चित्त नबुझेको भन्दै बैठक पुस्तिकामै नोट अफ डिसेन्ट लेखेका छन् । उनले सार्वजनिक रुपमै आफ्नो र झलनाथ खनालको अपमान गरेको आरोप पनि लगाए ।
त्यस्तै हालै गठन गरिएका विभाग, भातृ संगठनका प्रमुख, प्रदेश र जिल्ला इञ्चार्ज र सहइञ्चार्जमा पार्टीको विधान अनुसार कम्तीमा ३३ प्रतिशत पु¥याउनुपर्नेमा नपु¥याएको र नाम मात्रका एक दुई जनालाई राखेको भनी महिला नेतृहरु रिसाउने काम पनि शुरु भएको छ । विधान मिचिएको गुनासो पार्टीकै महिला नेतृहरुले सार्वजनिक रुपमै पोखेका छन् ।
अब दुबै पार्टी एक भएको कामलाई महाधिवेशनबाट बैधानिकता दिएपछि एकीकरणको कामले पूर्णता पाउँछ । तदर्थ रहँदैन । तर, तदर्थले महाधिवेशन गराएर एकीकरणलाई पूर्णता देला भन्ने अहम् सवाल उठ्न शुरु भएको छ । जसको उठान स्वयम् अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
पार्टी एकीकरण एउटा ऐतिहासिक कदम थियो । त्यसमा पनि एउटा सशस्त्र क्रान्तिको स्कुलिङबाट आएको र ताजा अवस्थाको र अर्को सशस्त्र क्रान्तिको स्कुलिङ भए पनि त्यसलाई छोडेर अर्ध लोकतान्त्रिक भइसकेको पार्टीबीच एकता हुनु नै महत्वपूर्ण भएकोले यो ऐतिहासिक काम नै थियो । तर, यस्तो ऐतिहासिक काम गरेर पनि विकल्प सकिएको भन्दै दुई दिनअघिमात्र अर्का अध्यक्ष प्रचण्डले दुखेसो गरे । उनले भने एकीकरण गरेर कतै गल्ती त गरिएन भन्ने लागेको छ । एकीकरणले राम्रो काम गर्न सकेन भने भुइँ न भाँडामा हुइन्छ । विकल्पै रहँदैन । एकीकरण नगरेको भए प्रशस्त विकल्प रहन्थे । प्रचण्डको भनाइको सार कुरा यही थियो ।
किन यस्तो :
प्रचण्डले नजानेर वा भावनामा आएर यस्ता कुरा गरेका होइनन् । यस भनाइले कतिपय कुरामा पूर्व माओवादीले चाहे जस्तो हुन सकेन । जनकपुर पुगेका बेला सोमबार मात्रै पनि प्रचण्डले ओलीजीले समझदारी पालना गर्छन् भन्ने विश्वास व्यक्त गरे । त्यसको अर्थ आलोपालो प्रधानमन्त्री ।
१) जति सक्छु भनेर प्रचण्ड केपी ओलीजीसँग टाँसिन गएका थिए त्यति गर्न नसकेर यस्तो दुखेसो पोखिएको हो ।
२) एकीकरण भएपछि पूर्व एमालेका अरु नेताहरुको चालामालाबाट प्रचण्डले आफूलाई पार्टीमा सुरक्षित महशुस गरिराखेका छैनन् ।
३) एकीकरणताका राखिएका भद्र सहमतिका शर्तहरु ओलीले पालना नगर्लान् कि भन्ने आशंका प्रचण्डको मनमा गढेको छ । जसमा थियो दुबै अध्यक्ष ओली र प्रचण्डले आधा आधा सरकारको नेतृत्व गर्ने ।
४) ओलीजीले सोमबारको प्रतिनिधि सभाको बैठकमा भने अर्को चुनाव नभएसम्म म नै प्रधानमन्त्री हुँ ।
५) एकीकरण प्रक्रियामा नेपाल र खनाल जस्ता नेताकावीचमा बरियताको विवाद आयो र जसलाई रोक्न प्रचण्डले गरेको प्रयत्न खेर गयो ।
६) महिला नेतृहरुलाई उचित स्थान दिन नसक्नु र पूर्व माओवादी नेताहरुलाई भने जस्तो स्थान दिन नसक्ता आफ्नै साथीहरु पनि असन्तुष्ट भएका छन् । त्यस्तै
७) सरकारले एक आर्थिक बर्ष बिताइसकेको सरकारले जनतलाई दिनुपर्ने कामको राम्रो डेलिभरी दिन सकेन । आम जनतामा सरकारका प्रधानमन्त्री नै ठूला कुरा गर्ने ससाना गर्न सक्ने काम चैं नगर्ने भन्ने सन्देश गएको छ ।
८) जनताको जनवादका विरोधी, बहुदलीय जनबादका पक्षधर इश्वर पोखरेलले स्कूल विभागको प्रमुख हुन पाएपछि आफूहरु कमजोर हुने भइयो भन्ने प्रचण्डलाई लागेको हुनुपर्छ ।
९) माओवादी जनयुद्धताका भएका घटनामा मारिएका, बेपत्ता बनाइएका र घाइतेहरुको बारेमा आयोग बनाएर अघि बढ्नुपर्नेमा त्यो त्रनेपनि त्यसले काम गर्न नसक्ता जनतामा नेकपा प्रति बढेको अनास्थाको शिकार आफू पो हुने भइयो भनेर पनि प्रचण्डको आक्रोश व्यक्त भएको हुनुपर्छ ।
१०) सरकार र नेताहरुको काम कारवाहीबाट आजित जनता र समर्थक अरु पार्टीतिर गए भने आफ्नो पार्टी कमजोर हुन्छ भनेर पार्टीभित्रैको प्रतिपक्षको भूमिका पनि अर्का अध्यक्षले गरेको पनि हुनु पर्छ । ताकि असन्तुष्टहरु अरुतिर नजाउन् ।
र, अन्त्यमा :
माथि उल्लेख गरिएका बुँदाहरुले आगामी दिनमा पार्टीको अवस्था कस्तो हुन्छ भन्ने अड्कल गर्न आइतबार कुर्नु पर्दैन । त्यसै त प्रचण्डलाई नेपालको राजनीतिमा डायनामिक नेताको रुपमा लिइन्छ । उनलाई लाग्यो भने परिवर्तनका पक्षमा कुरा गर्न डराउँदैनन् । उनकै साहसले नै माओवादी युद्धबाट, शान्तिको पक्षमा आएको हो ।
उनकै डायनामिक चरित्रसँग मिल्न नसकेर डा.बाबुराम भट्टराईले पार्टी छोडेका हुन् भने मोहन बैद्य र नेत्रविक्रम चन्द विप्लब पनि पार्टीबाट अलग्गिएका हुन् । समयलाई हेरेर उनी परिवर्तन हुन र गराउन सक्छन् । यसैले एकीकरण भइसकेपछि पनि पार्टीले खासै गति लिन नसक्ला भन्ने आशंका लागेर होला उनले विकल्पको कुरा उठाउन थालेका हुन् ।
हाललाई उपाध्यक्ष पद सिर्जना गरेर गौतमजीलाई खुशी पार्ने प्रयत्न गरियो । बरियता परिवर्तन गरेर संमुह नै नभएका झलनाथ खनाललाई दोश्रो बरियतामा राखियो र सशक्त समूह भएका माधव नेपाललाई असन्तुष्ट बनाइयो । जतिपटक संगठनका काम गर्दा पनि महिला नेतृहरुलाई पत्याइएन मात्र होइन पार्टीको विधानलाई पनि मानिएन र भनियो एकीकरणका कारणले समस्या भयो । महाधिवेशनले विधानलाई पालना गर्छ । यस्ता काम गराईले निजामति प्रशासन जस्तो बनाएर चलाएको नेकपालाई भविष्यमा कठिनाई हुन्छ नै ।
यही घटना र परिघटना तथा यसको आधारमा विश्लेषण गर्दा पंक्तिकारलाई लाग्यो एकीकरण भएको १४ महिनापछि विभागहरु, भातृ संगठनका प्रमुख तोकेर कसिएको गाँठो फुकाए लगत्तै प्रचण्डले अर्को गाँठो कस्न थालेको देखिएकोले एउटा फुक्यो अर्को गाँठो कसिन शुरु भनेर शीर्षक दिएर यो आलेख तयार पारेको हो । प्रायः एकीकृत पार्टीका कमजोरी भनेकै दुईवटा प्रष्ट धार देखापर्नु हो घुँडा टालेको शुरुवाल जस्तै ।
























