उपभोक्ता अधिकार रक्षाको प्रयास १६०० अनुगमन, १६१लाई कार्वाही

0
427

झापा।

सरकारले आपूर्ति व्यवस्थालाई प्रभावकारी र बजारलाई व्यवस्थित बनाउन आफ्नो भूमिकालाई थप सक्रिय बनाउँदै लगेको छ । सरकारले स्वच्छ, सर्वशुलभ दरमा उपभोग गर्न पाउने नागरिकको अधिकारको रक्षार्थ आफूलाई दरिलोसँग उभ्याएको जनाएको छ ।

पछिल्लो समय सरकारले उपभोक्तामाथि विभिन्न प्रकारले ठगी गर्ने व्यवसायिक फर्ममाथिको अनुगमन र कारबाहीलाई तीव्र पारेको छ । उपभोक्ता अधिकार स्थापित गराउन सक्रिय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गतआर्थिक वर्ष २०७५÷०७६मा व्यावसायिक आचरण विपरीतका कार्य गर्ने १६१ फर्ममाथि कारबाही गरी रु. ४३ लाख २१ हजार जरिवाना गरेको थियो ।

विभागले गत आ.व.मा देशभरका एक हजार छ सय ६१भन्दा बढी व्यवसायिक फर्मको अनुगमन गरेको थियो । सो वर्ष विभागले उपत्यकाभित्रका एक हजार ४१२ र उपत्यका बाहिरका २६० व्यवसायिक फर्मको अनुगमन गरेको थियो । अनुगमनका क्रममा विभागले सात वटा फर्मको कारेबार रोक्का, ७६ वटा फर्मका विरुद्ध सरकारी वकिलको कार्यालयमा मुद्दा दायर, ३१ वटा व्यवसाय बन्द र २२ वटा फर्मलाई स्पष्टीकरण सोधेको थियो ।

त्यस्तै १७१ फर्मलाई मूल्यसूची राख्न तथा अद्यावधिक गर्न, ८५ फर्मलाई साइनबोर्ड राख्न, २५६ फर्मलाई लेवल नभएको सामान बिक्री नगर्न निर्देशन दिइएको विभागले जनाएको छ । गतवर्ष दुई हजार ८०० व्यवसायिक फर्मको अनुगमन गर्ने वार्षिक लक्ष्य राखिए पनि जनशक्ति अभावका कारण तोकिएको लक्ष्य हासिल गर्न नसकिएको बिभागको भनाइ छ । नयाँ उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनका क्रममा कैफियत भेटिए निरीक्षण अधिकृतले तत्कालै जरिवाना गर्न सक्ने व्यवस्था गरेकाले पनि तोकिएको संख्यामा अनुगमन गर्न नसकिएको विभागको तर्क छ ।

अनुगमनलाई तीव्रता दिँदै आएको विभागले पछिल्लो साउन महिनामा ४१ वटा फर्मविरुद्ध कारबाही गरेको छ । ती फर्मलाई रु. तीन लाख ३७ हजार जरिवाना गरिएको विभागका निर्देशक शोभाकर रेग्मीले जानकारी दिए । साउनमा २५ वटा अनुगमन टोलीले ८४ वटा फर्मको अनुगमन गरेको थियो ।

त्यस्तै २४ वटा व्यावसायिक फर्मसँग स्पष्टीकरण सोधिएको छ । तीन वटा फर्ममाथि शिलबन्दी गरिएको, एउटा फर्मबिरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढाइएको तथा पाँच वटा नमूना सङ्कलन गरी गुणस्तर परीक्षणका लागि पठाइएको विभागले जनाएको छ ।

गत आवमा विभागबाट सम्पादन भएको कामको बारेमा जानकारी दिन विहीवार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक योगेन्द्र गौचनले जनशक्तिको अभावबीच पनि आपूर्ति व्यवस्थालाई सहज र बजार अनुगमनलाई प्रभावकारी बनाइएको बताए ।

मुलुकभरको बजार अनुगमनको अख्तियारी पाएको विभागसँग हाल पाँच जना मात्र निरीक्षण अधिकृत रहेका छन् । पर्याप्त मात्रामा निरीक्षण अधिकृत नहुँदा विभागले प्रभावकारी रुपमा बजार अनुगमन गर्न सकेको छैन । काठमाडाँै उपत्यकामा मात्र ४० हजार भन्दा बढी व्यावसायिक फर्म रहेको विभागको भनाइ छ ।

महानिर्देशक गौचनले बजारको अनुगमनको क्षेत्र फराकिलो भए पनि प्राथमिकता निर्धारण गरेर अनुगमनलाई अगाडि बढाइएको बताए । अनुगमन गर्ने धेरै क्षेत्र भए पनि विभाग अहिले प्राथमिकता निर्धारण गरेर अगाडि बढेको छ– उनले भने– दैनिक उपभोग्य, अत्यावश्यक वस्तुको आपूर्तिको अवस्थालाई ध्यानमा राखेर अनुगमनलाई तीव्रता दिइएको छ ।
विभागले गतवर्ष खाद्यान्न, तरकारी, पानी, औषधिलगायत पार्टी प्यालेस, बुटिक, साडी पसलको पनि अनुगमन गरेको थियो । संघीय सरकरको एक्लो प्रयासबाट मात्र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नसकिने उल्लेख गर्दै गौचनले उपभोक्ता अधिकार संरक्षण गर्न र आपूर्ति व्यवस्थालाई सुदृढ बनाउन संघ र प्रदेश सरकारसँगै अगाडि बढ्नुको विकल्प नभएको बताए ।

उपभोक्ता संरक्षण ऐन, २०७५ले प्रदेश र स्थानीय बजार अनुगमन समिति गठन गर्न सक्ने व्यवस्था गरेको स्पष्ट पार्दै उनले प्रदेश र स्थानीय सरकारले थप सक्रियता देखाउनुपर्ने बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन गतसाता मात्र प्रदेश सरकार र स्थानीय सरकारसँग छलफल गरेको थियो ।

चाडबाडको बेलामा हुने आपूर्ति असन्तुलन तथा कृत्रिम अभाव हुन नदिने दृढता व्यक्त गर्दै महानिर्देशक गौचनले सातै प्रदेश र प्रत्येक स्थानीय तहमा सहुलियत बजार र हाट बजार चलाउने विषयमा छलफल भइरहेको बताए । दूग्ध विकास संस्थान, साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनीलगायत सरकारी संस्थान तथा निजी क्षेत्रका ठूला व्यापारीसँग मिलेर देशभर सहुलियत मूल्यको पसल सञ्चालन गर्ने योजनामा छौँ– उनले भने ।

विभागले पछिल्लो समय तरकारी, फलफूल, माछामासु, पानी, पानीपुरीलगायत खाद्यवस्तुको अनुगमनलाई तीव्रता दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here