आज भगवान कृष्णको जन्मदिन । दाजु कंशको निरंकुश शासनमा बन्दी बनाइएकी बहिनी देवीकको गर्भबाट जन्मिएका भगवान कृष्णलाई उनका पिता बाशुदेवले दुष्ट कंशबाट जोगाउन राति नै यशोदाकोमा पु¥याएको पौराणिक कथन छ । विचित्र लीला गरेर । बाल्यावस्थादेखि नै अनेक नामबाट सम्बोधन गरिएका भगवान श्रीकृष्णका कथाका प्रसंगहरु भारतका वृन्दावन, मथुरा र युमना किनारमा मात्र होइन सारा विश्वमा चर्चित छन् । आफ्नो व्यक्तित्व र विशिष्टताका कारण सबैलाई आकर्षित र प्रभावित गर्न सक्ने भगवान श्रीकृष्ण दिव्य व्यक्तिका रुपमा पुजिन्छन् ।
विश्वभर छरिएर रहेका वैदिक सनातन धर्मावलम्वीहरुले आजको दिनलाई हर्षोल्सापूर्वक मनाउँछन् । भगवान कृष्णको प्राकट्य दिवसका रुपमा मनाइने यस दिनमा उनको बाल लीलाहरुको संस्मरण गरिन्छ । उनले मख्खन चोरैको, गोपिनीहरुलाई सताएको, बदमाशी गरेको जस्ता अनेक बाल चरित्रलाई ‘कृष्ण लीला’ भनेर स्नेह पाउने उनको बाँसुरीको धुनले विश्वलाई मन्त्रमुग्ध पारेको विश्वास छ । उनको मुस्कानमा सौन्दर्य, सौम्यता र हर्षको अद्भूत संगम थियो र छ भनिन्छ । त्यसमाथि घुम्रिएको कपाल, कपालमा सिउरिएको मयुरको प्वाँख र गलामा पहिरिएको सुगन्धी माला र पोशाकले उनको अनुहारमा चन्द्रमाको आभाष मिल्ने हाम्रा ग्रन्थहरुले वर्णन गरेका छन् ।
द्वापरयुगका महानायक हुन् भगवान श्रीकृष्ण । उनले दृष्ट, पापी, अपराध मनोवृत्ति, अन्यायी र अत्याचारीकाविरुद्ध बाल्यावस्थादेखि नै संघर्ष गरे । जन्मदेखि नै त्यही दुष्प्रवृत्तिकाविरुद्ध लड्दा–लड्दै दुराचारी कौरव पक्षद्वारा सताइएका पाण्डवको पक्षमा उभिएर सत्यको लडाइँ लडे । महाभारतकाल समेत भनिने यो समय धेरै सैन्य, युद्ध कौशल भएका कौरवको विपक्षमा धैर्य, साहस र न्यायका पक्षमा अडिग रहन र आत्मविश्वासले युद्ध लड्न पाण्डवलाई प्रेरणा प्रदान गर्ने उनकै कारण कौरव पक्षको विनाश भयो । पाण्डव मध्येका अर्जुनको सारथी बनेर सत्य र न्यायको पक्षमा लड्न उत्प्रेरणा प्रदान गर्ने उनले कर्तव्य, धर्मको शिक्षा दिएर युद्धभूमिबाटै ‘कर्म’ र ‘फल’ बीचको सम्बन्धको ब्याख्या गर्दै ऊर्जा प्रदान गरेका थिए ।
भगवान श्रीकृष्णको जन्म, लीला र उपस्थिति यत्तिकै बुझ्न सकिन्न । यसका लागि आध्यात्मिक जगतमा प्रवेश गर्नैपर्छ । उनको प्रिय, स्नेहपूर्ण, सद्भावयुक्त सहिष्णु र हार्दिकतासहितको पात्रका रुपमा स्थापित व्यक्तित्वले विश्वका कोटी–कोटी मानव अनुप्राणित छन् । त्यही आदर्श, मान्यता, विचार र दर्शनबाट सञ्चालित मानव जातिका लागि एउटा आदर्श पुरुष, अझ भगवानका रुपमा स्थापित उनको विराट स्वरुप चाहेर पनि अलग हुन सक्दैन । आज पनि कृष्णको खाँचो छ विश्वलाई । अझ नेपालीका लागि त दृष्ट, हत्यारा, अन्यायी, दुराचारी कंश जस्ता शासक, कौरव समूह जस्ता प्रशासक र नाइकेहरुबाट मुक्ति दिलाउन द्वापरयुगीन कृष्णको प्राकट्य अनिवार्य भइसकेको छ । अर्जुनलाई भने जस्तै धर्म, न्याय र शान्ति स्थापनाका लागि चाडै ‘श्रीकृष्ण’को जन्म होस् पीडा बोकेर बाँचका नेपालीका तर्फबाट कृष्णष्टमीको शुभकामना ।



























