चारपानेमा दधिकाद

0
860

विनोद पाण्डे / चारपाने।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बानालाल बारी चारपानेमा दधिकाद प्रतियोगिता सम्पन्न भएको छ ।

श्रीकृष्ण जन्माष्टमीको दिन कृष्ण भगवानको स्मरण गरी खुशीयाली साटासाट गर्ने धार्मिक मान्यता बोकेको दधिकाद विशेषगरी राजवंशी, आदिबासी समुदायले परापूर्वकालदेखि मनाउँदै आएको परम्परा हो । यस खेललाई यसबर्ष बिर्तामोड नगरपालिका खेलकुद विकास समितिको आयोजनामा शुक्रबार सम्पन्न गरिएको छ ।

खेलकुद विकास समतिका अध्यक्ष टीका संग्रौलाको अध्यक्षतामा भएको प्रतियोगितामा बिर्तामोड नगरपालिका वडा नम्बर २का अध्यक्ष नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्य रहेको थियो ।

आठौं सन्तानको रुपमा जन्मेका कृष्ण भगवानलाई दानवले केही गर्न नसकून् भनेर काँचो नरिवललाई बालकृष्णको स्वरुप मानेर एकापसमा नरिवललाई आफ्नो हृदयमा राखी सुरक्षित स्थानमा पुर्याएर खेल खेल्ने गरिन्छ । खेलमा सहभागी खेलाडीले तँछाडमँछाड गर्दै नरिवल लाई सुरक्षित स्थानमा पु¥याउन सक्ने व्यक्ति वा समूहलाई बिजेता घोषणा गरिन्छ ।

परापूर्वकालमा दहीमात्र प्रयोग गर्ने गरे पनि अहिले आएर माटो र दही मिसाएर खेलिने भएकोले यस खेलको नाम राजवंशी भाषामा दही अर्थात् दधी, हिलो अर्थात् कादो भनिएको हो ।

खेलमा विभिन्न स्थानबाट ७ वटा समूहले भाग लिएका थिए । जसमध्ये चिमित गाउँ र लालमाटीको टोली प्रथम भएको थियो । बिजेताले ३ हजार नगद पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी कृष्णले दही चोरेर खाएर हैरान भएपछि आमा यशोदाले नभेट्ने अग्लो ठाउँमा दही राखेको प्रसंगलाई स्मरण गर्दै बाँसचडी खेल पनि भएको थियो । उक्त प्रतियोगितामा पनि लालमाटी समूहका प्रदीप राजवंशी प्रथम भएर उनले २१ सय नगद पुरस्कार प्राप्त गरे ।

बालकहरुको पनि कुभिण्डो प्रतियोगिता भएको थियो । सो प्रतियोगितामा विशाल राजवंशी प्रथम भएका थिए । उनले नगद १ हजार प्राप्त गरे । निकै उल्लासमय वातावरणमा सम्पन्न भएको खेलमा सयौं दर्शकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत नगर खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले गरेका थिए । कार्यक्रमको महत्व र औचित्यमाथि शिक्षासेवी भवानीप्रसाद राजवंशीले प्रकाश पारेका थिए । नगर खेलकुद विकास समितिका अर्का उपाध्यक्ष केशव भण्डारीले शुभकामना व्यक्त गरेको कार्यक्रमको सञ्चालन राजवंशी समुदायका युवा नेतृत्वकर्ता ध्रुब राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here