अर्जुनधारा।
स्थापनाको दुई वर्षपछी सामाजिक कार्य गर्ने उद्धेश्यले झापाको बुद्धशान्ति–२ जयपुरमा रहेको वरपीपल युवा समूहले शनिबार स्थानीय दुई ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
समूहका अध्यक्ष पर्शुराम भण्डारी “सुजन भान्जा”को अध्यक्षता र ज्येष्ठ नागरिक गाँउ समितिका सचिव कृष्णप्रसाद फूँयालको प्रमुख आतिथ्यमा आयोजित तिज विशेष तथा सम्मान कार्यक्रममा समूहले उनीहरुलाई सम्मान गरेको हो ।
स्थानीय डिल्लीराम मिश्र र मनमाया मिश्रलाई प्रमुख अतिथि फूँयाल र अध्यक्ष भण्डारीले सम्मान पत्र र नगद सहित दोसल्ला ओढाई सम्मानित गरेका थिए । समूहले यस अघि विविध गतिविधि गरे पनि सामाजिकरुपमा गरेको उक्त कार्य पहिलो भएको र आगामी दिनमा त्यस किसिमका कार्यहरुलाई निरन्ता दिइने समूहका सल्लाहकार देवेन्द्र भण्डारीले बताए ।
आगामी दिनमा सामुदायिक भवन निर्माणसँगै सहकारी सञ्चालन गर्ने लक्ष्य लिएको समूहले युवाहरुको व्यक्तित्व र नेतृत्व विकाससँगै निःशुल्क स्वास्थ्य शिविर, रक्तदानलगायतका कार्यहरु गर्ने सल्लाहकार भण्डारीले जानकारी दिए ।
तिज विशेष गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा सहभागीहरुलाई दर वितरण गरिएको थियो ।
इलाका प्रहरी कार्यालय बुधबारेका सई युवराज राई, वरपीपल ज्येष्ठ चौतारीका अध्यक्ष सुदर्शन भण्डारी, सिंहदेवी किर्तन मण्डलीकी अध्यक्ष चन्द्रकला निरौलालगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा शान्ति निर्माण सेवाका लेखापाल टीका आचार्य, पञ्चकन्या किर्तन मण्डलीकी अध्यक्ष पूष्पा गौतमलगायतको आतिथ्यता रहेको थियो ।
समूहका सदस्य टंक खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष बिमल आचार्यले गरेका थिए । २०७४ सालमा स्थापना भएको समूहको २१ जना भन्दा बढी सदस्य रहेको बताइएको छ ।