सम्पादकीय
बिर्तामोड–३ सैनिकमोडमा शुक्रबार एक महिलाको सडकमा जमेको पानीमा डुबेर मृत्यु भयो । यस्ता विपद् दिनहुँ भइरहन्छन् तर सडकमै डुब्नु र ज्यान जानु विशेष घटना हो । यस्तो अनौठो घटना बिर्तामोड–गरामनी यात्रा गरिरहनेहरुका लागि भने सामान्य झैं लाग्न थालेको छ ।
सरकारले बिर्तामोड–भद्रपुर सडकखण्डको स्तरोन्नति गर्ने निर्णय गरेर त्यसको अढाई किलोमिटर क्षेत्र चारलेनको बनाउने गरी आशिष–प्रेरा जेभीलाई निर्माणको जिम्मा दियो । ठेकेदार कम्पनीले पनि गत वर्षको असार २४ गते ठेक्का सम्झौता गरी निर्माण कार्यको थालनी ग¥यो । सम्झौता अनुसार प्रथम चरणमा चार किलोमिटर सडकको स्तरोन्नति गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले यही मंसिरसम्म काम सक्नुपर्ने र पुससम्ममा हस्तान्तरण गर्नुपर्छ ।
सम्झौताको चौध महिना पूरा भइसकेको छ । यस अवधिमा निर्माणको काम भएभन्दा बिगार्नु मात्रै छ । अर्थात् ढल निर्माण गर्न खनेका खाडल दुर्घटना र मृत्युका कारण बनिएका छन् । सामान्य ढंगले एकातिरबाट सम्पन्न गर्दै अर्कातर्फ थाल्नुपर्ने सिद्धान्त पनि यसले पालना गरेको छैन । सडकको दुबैतर्फ ठूल्ठूला खाडल छन्, वर्षादको समय खाडल आकाशे पानीले भरिएका छन् । लाग्छ, त्यसले कोही यात्रुको मृत्यु पर्खेर बसेको छ । त्यसैगरी भएको कालोपत्रे भत्काएर पुरै सडकखण्ड पानी पर्दा रोप्न हुने खेत सरह र सुख्खा हुँदा धुलोको कुहिरीमण्डलले आवागमन मात्र होइन स्थानीयबासीको असीम कष्टको कारण बनिएको छ ।
गाउँ–गाउँमा सिंहदरवार पु¥याएको छ सरकारले । कस्तो सिंहदरवार आयो गाउँ–गाउँमा कि ऊ अपजश जति अरुको जिम्मा लगाउँछ कि सडक विभाग कि त ठेकेदार कम्पनीलाई अव्यवस्था, ढिलासुस्ती र विसंगतिलाई दोष जिम्मा लगाएर सिंहदरवार अर्थात् बिर्तामोड नगरपालिका ‘सिरक ओढेर’ सुतेको छ । अनि निर्माणाधीन क्षेत्रमा निर्मित ‘स्पीड ब्रेकर’ले सद्दे मानिसलाई विरामी बनाइरहेको छ । रोगी, विरामी, वृद्धवृद्धा र स्कूल जाने बिद्यार्थीहरुको अवस्था कस्ता ेहोला सहजै अनुमान लगाउन सकिन्छ । सडकपेटीमा बनाइएका खाल्डाका कारण भइरहने दुर्घटनाभन्दा बेग्लै भयो शुक्रबार । अर्थात् शुक्रबार बिहान डुबेको अवस्थामा बिर्तामोड–१० कि सुमित्रा राईको शव भेटियो ।
सडक स्तरोन्नतिकै नाममा कसैले मृत्युवरण गर्नु सम्बन्धित परिवार मात्र होइन कसैका लागि सामान्य होइन । ठेकेदार कम्पनीले पीडित परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति पनि भयो । यसले तत्कालको समस्या त समाधान ग¥यो तर अबको पुस महिनासम्म अरु कतिले दुर्घटनामा पर्नुपर्ने हो र कतिको ज्यान जाने हो, डर छ किनकि ‘काल पल्कियो’। सडक निर्माणमा भएको ढिलासुस्ती र लापरवाहीका कारण व्यापार–व्यवसाय बिग्रिएको भन्दै आक्रोशित व्यवसायी, प्रदुषण र असुविधाले आजित स्थानीयबासीले नगरपालिकाको पटक–पटक ध्यानाकर्षण गराएका थिए ।
तर, न बिर्तामोड नगरपालिका, न सडक डिभिजन कार्यालय झापा, न त ठेकेदार कम्पनीले नै विषयको गाम्भीर्यलाई अनुभूत गरेका छन् । यसले ‘गाउँमा रहने सिंहदरवार’ प्रति नै वितृष्णा जगायो भने आश्चर्य मान्नु नपर्ने हुनसक्छ । यसतर्फ सरोकार निकाय अझै गम्भीर भएन भने– राम राम भन्नु बाहेक केही रहने छैन ।