झापा ।

राष्ट्र बैंकले यो वर्ष दशैँ लक्षित नयाँ नोट निस्कासन नगर्ने भएको छ ।
नयाँ नोटको सट्टा राष्ट्र बैकले सफा नोट बजारमा पठाउने तयारी गरेको प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिनुभयो । नयाँ नोट समान देखिने यस्ता नोटलाई प्राथमिकतामा राखेर बजारमा पठाइने प्रवक्ता निरौलाले बताउनुभयो ।
नोटको सुरक्षा तथा पुर्नप्रयोग बढाउन पनि राष्ट्र बैंकले यसपटक फरक प्रयोग गर्न लागेको उहाँको भनाई छ । राष्ट्र बैंकले भदौ अन्तिम साताबाट सुकिला नोटको वितरण सुरु गर्नेछ ।
पहिलो चरणमा बैंक तथा वित्तिय संस्थालाई र दोस्रो चरणमा सर्वसाधारणलाई सुकिला नोट वितरण गर्ने प्रवक्ता निरौलाले जानकारी दिनुभयो । राष्ट्र बैकले यसबर्ष १४ देखि १५ अर्ब रुपैयाँ सम्मका सुकिला नोट बजारमा पठाउने तयारी गरेको छ ।
यद्यपी बजारको माग अनुसार नोटको वितरण गर्ने राष्ट्र बैकले जनाएको छ । नयाँ नोट छपाईको प्रक्रिया नियमित चलिरहेपनि, गोदाममा स्टक रहेका सुकिला नोटको पुर्नप्रयोगलाई प्राथमिकता दिँदै राष्ट्र बैकले यस्तो कदम चाल्न लागेको हो ।
यसैबीच राष्ट्र बैंकले नोटको सुरक्षा र आयु बढाउन विशेष अभियान सञ्चालन गर्ने भएको छ । सर्वसाधारणबाट नोटको सुरक्षामा ध्यान जान नसकेपछि राष्ट्र बैंकले अभियानकै रुपमा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।






























