अमित खम्बू / अर्जुनधारा। 
झापाको अर्जुनधारा–७स्थित जलेश्वर सडकखण्डअन्र्तगत वडा कार्यालय नजिक निर्माणाधीन पुलको लागि ल्याइएको निर्माण सामग्री जनप्रतिनिधि आफैले प्रयोग गर्ने गरेको पाइएको छ ।
जनगुनासोपछी बुधबार सञ्चारकर्मीहरुको टोली अर्जुनधारा–५ बाट निर्वाचित नगर सभा सदस्य रीता नेपालीको घरमा पुग्दा उक्त सामग्रीहरु घरको बारी छेउमा निर्माण भइरहेको कोठा बनाउन उनले प्रयोग गरेको फेला पारेका थिए ।
नगर सभा सदस्य नेपालीले मंगलबार श्रीमान राजु र दुई जना कामदार परिचालन गरी गिटी र बालुवा अनुमती समेत नलिई लगेको पुल निर्माणको ठेक्का पाएका साह इञ्जिनियरीङ कन्स्ट्रक्सनका सुपरभाइजर रोशनकुमार चौधरीले बताए । पुल निर्माणमा कार्यरत् मिस्त्रीको आग्रहलाई समेत बेवास्ता गर्दै निर्माण सामग्री लगिएको सुपरभाइजर चौधरीले बताए ।
अनुमती विना सामग्री लगेको कुरा कम्पनीको मान्छेले थाहा पाएको खण्डमा आफूहरुको पैसा काटिने भन्दा पनि उनीहरुले मोटरसाइकलको प्रयोग गरी सामग्री लगेको मिस्त्री रोहीत रायले बताए । सोही क्रममा कोही सोधीखोजी गर्न आए घरमा पठाइदिनु भन्दै रक्सी पिउने हो भनी राजुले प्रस्ताव गरेको उनलाई उद्धरीत गर्दै मिस्त्री रायले बताए ।

नगर सभा सदस्य नेपालीले कोठा बनाउने क्रममा थोरै भाग बाँकी रहेको र काम नसकी मिस्त्रीलाई ज्याला दिन लोभ लागेपछी काम सक्नलाई आफूले त्यसो गरेको सञ्चारकर्मीहरु समक्ष स्वीकारीन् । सुरुमा अनुमती लिएको दावी गरे पनि सम्बन्धित ठेकेदारसँग अनुमती नलिएको खुलेपछी नगर सभा सदस्य नेपालीले आफूबाट गल्ती भएको बताइन् ।
पुल निर्माण गर्न ल्याइएको सामग्री व्यक्तिगत प्रयोजनको लागि प्रयोग गरेकी उनले सार्वजनिक सरोकारको विषय रहेको उक्त पुल कसरी निर्माण भइरहेको छ, कस्ता सामग्री प्रयोग भएका छन् भन्ने विषयमा अनभिज्ञता प्रकट गरीन् ।
अर्जुनधारा–५का वडाध्यक्ष एवम् नगर कार्यपालिका सदस्य ध्यानबहादुर भारतीले नगर सभा सदस्य नेपालीले गरेको उक्त कार्य गम्भीर गल्ती भएको बताए । नगर सभा सदस्य नेपालीले कन्स्ट्रक्सनलाई क्षतिपूर्तीबापत एक ट्रयाक्टर बालुवा उपलब्ध गराउने सहमती भएको वडाध्यक्ष भारतीले बताए ।































