कृषिबाट समृद्धि बाख्राले फेरियो जीवन, गोठबाटै सय लिटर दूध विक्री

0
1432

सुरेन्द्र भण्डारी / बिर्तामोड।

उनी पेशाले व्यवसायी हुन् । उनको अर्जुनधारामा पसल छ । पसल राम्रो चलेकै छ । तर, मनमा शान्ति नभएपछि अर्जुनधारा नगरपालिका–७ निवासी ५० वर्षीया गीता चापागाँई अहिले ढुक्कले बाख्रापालन व्यवसायमा रमाएकी छिन् । नरमाउन् पनि किन ? उनले १० वटा बाख्रा किनेर फूलमती खोलाको किनार कैलाशघाटमा यो व्यवसाय शुरु गरिन् । अहिले उनको खोरमा ५०भन्दा बढी बाख्रा छन् । बाख्राले नै मनग्ये आम्दानी दिने भएपछि उनी दंग मात्र छैनन् बिगतमा गरेको दुःखको कथा पनि बिर्सिंदै गएकी छिन् ।

विरीङ खोलाको भंगालो पसेर बनेको फूलमती खोला वर्षायाममा डरलाग्दो गरी बढ्छ । गर्दागर्दैको व्यापार छाडेर त्यही खोलाको किनारमा आफ्नो भएको ११ कठ्ठा जमिनमा उनले बाख्रा पाल्ने निधो गरिन्् र शुरु गरिन् बाख्रापालन व्यवसाय । जुन व्यवसायले उनलाई अहिले अर्जुनधारा नगरमा मात्रै होइन देशविदेशमा सफल बाख्रापालक कृषकको रुपमा चिनाएको छ ।
सहारा नेपाल सहकारी संस्थाको सहारा उज्ज्वल महिला समूहको केन्द्र नम्वर १२४की सदस्य उनी अहिले सोही केन्द्रको प्रमुख छिन् । समूहका सदस्यको जीवनस्तर उकास्दै आय–आर्जनको क्षेत्रमा सहकारीले लगानी गर्ने भएपछि उनले पनि बाख्रा पाल्ने निधो गरेकी थिइन् । तीन लाख रुपैयाँ सहाराबाट ऋण लिएर डराउँदै १० वटा बाख्रा किनेर शुरु गरेको व्यवसाय यति छिटो यसरी फष्टाउला भन्ने कल्पनासम्म नगरेकी गीता अहिले आफैं आश्र्चयमा छिन् ।

किनकि उनले पालेका बाख्राको दुई महिने पाठो ३५देखि ४० हजार रुपैयाँसम्ममा बिक्री हुन थालेको छ । नसोचेको आम्दानी हुँदा उनी मात्र होइन देख्ने सुन्ने सबै आश्चर्यमा छन् । बोयर जातिको उन्नत बाख्राको दाम महंगो हुँदो रहेछ उनले भनिन्– ‘दुई महिने पाठो ४० हजारमा बिक्छ ।’

सहारा नेपाल सहकारीले व्यवसायिक कृषि कर्जाका लागि लगानी ग¥यो– उनले भनिन्– म त कस्मेटिक व्यवसाय सञ्चालन गरेर बसेकी मान्छे बाख्रापालन सम्बन्धी ज्ञान नै थिएन, तालिम पनि सहकारीले नै दियो, बाख्रा पाल्ने किसानलाई घाँस पनि सहकारीले नै दिने भएपछि बाख्रा पाल्न थालेकी हुँ । अहिले स्थानीयसहित बोयर, जमुनापारी प्रजातिका बाख्रा छन्– उनले भनिन्– सबै बाख्राको बीमा गराएकी छु ।

गतवर्ष साउनबाट बाख्रा पाल्न शुरु गरेकी गीताले अहिले दुई जनालाई रोजगारी पनि दिएकी छिन् । उनको व्यवसायमा श्रीमान् आनन्द चापागाँईले पनि सघाउँदै आएका छन् । बाख्रापाल्नकै लागि फूलमती खोलाको बगरमा चापागाँई परिवारले अहिले व्यवस्थित खोर निर्माण गरेका छन् । जहाँ एक हजारभन्दा बढी बाख्रा राख्न मिल्ने बताइएको छ ।

सहारा नेपालको अग्रसरतामा बाख्रापालन व्यवसाय शुरु गरेकी गीताले अहिले बाख्रापालन व्यवसायका लागि एक बिगाह जमिन लिजमा लिएकी छिन् । जहाँ उनले उन्नत जातको घाँस लगाएकी छिन् । उनी भन्छिन्– ‘सहाराले काम गर्न सिकायो, अहिले हाम्रा लागि सहारा साँच्चै सहारा बनेको छ ।’ एक वर्षभित्र एक सय माउ बाख्रा पाल्ने र जसबाट आफूसहित १० जनालाई रोजगारी दिने उनको भनाइ छ ।

यता झापाको अर्जुनधारा नगरपालिका–९ खरवन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षबाट बाख्रापालन व्यवसाय शुरु गरेसँगै उनको परिचय पनि फेरिएको हो ।

‘जत्ति दुःख गर्दा पनि खानै पुग्दैन थियो’– सरस्वतीले भनिन्–‘बाख्रापालन व्यवसाय शुरु गरेसँगै परिवार धान्न मात्र सहज भएको छैन, छरछिमेकमा आपत पर्दा सहयोग गर्न पनि पाइएको छ ।’

‘ऋण खान पाइन्छ भन्ने आशमा २०७० साल असोजमा सहारा नेपाल सहकारी संस्थाको नमूना महिला कृषक समूहमा आबद्ध भएँ’– सरस्वतीले भनिन्– ‘त्यो समूहको उपसमूह नम्वर १मा आवद्ध भएको दिन मेरा लागि साँच्चै खुशीको दिन थियो, किनकि सहकारीबाट ऋण लिएर मैले पनि केही गर्नुथियो ।’

बिगत सम्झिँदै उनले भनिन्– ‘घर खर्च चलाउन मुस्किल भएको बेला बनिबुतो नगरी धरै थिएन, म गाउँमा मजदुरी गर्थेँ भने श्रीमान् केशव पौडेल अरुको पसलमा काम गर्नु हुन्थ्यो । महिना दिन खाईनखाई ड्युटी गयो, महिना मर्दा साहुले आधा महिनाको मात्रै तलब दिन्थे ।’ ‘सहकारीमा आवद्ध भएसँगै सहकारीबाटै लिएको ऋणले कमाउन सिकायो’– सरस्वतीले थपिन्–‘ श्रीमानले टेम्पो किन्नु भयो– म चाहिँ बाख्रा पाल्न थालेँ, अहिले हाम्रो आ–आफ्नै व्यवसाय छ ।’
सहकारीबाट ऋण लिएको पैसामध्ये चार हजार ५ सय रुपैयाँका दुई वटा बाख्राका पाठी किनेर बाख्रा पाल्न शुरु गरेकी सरस्वतीको अहिले खोरभरि बाख्रा छन् । बाख्रासँगै उनले गाई पनि पालेकी छिन् । जसका कारण अहिले उनको परिवारलाई पहिले जस्तो अहिले के खाउँ भरे के खाउँ भन्ने चिन्ता छैन ।

समूहमा आबद्ध महिलाहरुलाई बाख्रापालन सम्वन्धी दुई दिने तालिम प्रदान गरेपछि सरस्वतीको सोच बाख्रा पालनमा गयो । सहकारीबाट तीन लाख रुपैयाँ आँट गरेर ऋण लिएँ– उनले भनिन्– बाख्रा राख्ने खोर बनाउन र मिस्त्रीको ज्याला मात्रै एक लाख रुपैयाँ लाग्यो, बचेको पैसाले आफू बस्ने घर र बाख्रालाई खानेकुराको बन्दोबस्त मिलाउन छुट्याएँ । जुन आँटका कारण म अहिले यो ठाउँमा छु ।’

हुन पनि हो– सरस्वतीको आँट र हिम्मतका कारण अहिले उनको दैनिकी नै फेरिएको छ । ‘त्यसको श्रेय सहकारीलाई जान्छ’ पौडेलले भनिन्– म जस्तालाई बिश्वास गरेर सहकारीले बिना धितो ऋण नदिएको भए हाम्रो परिवारको हालत उस्तै हुन्थ्यो ।’ डाँडो र बलौटे जमिनका कारण अन्नबाली खासै उब्जनी हुँदैन, भएको आफ्नो साढे ६ कठ्ठा जमिनमा सबै घास लगाएकी छु– सरस्वतीले भनिन्– ‘बाख्राको संख्या बढ्दै गएपछि छिमेकीको पाँच कठ्ठा जमिन पनि लिजमा लिएर घाँस नै लगाएकी छु ।’

‘प्रशस्तै डाले घाँस र अन्न खाएर हुर्किएका बाख्रा खँदिला हुन्छन्’– सरस्वतीले भनिन्– ‘घरको गर्जाे टार्ने माध्यम नै अहिले बाख्रा बनेको छ ।’ सरस्वतीले बाख्राका लागि सहकारीबाटै उन्नत जातको घाँसको बीऊ पनि प्राप्त गरेकी छिन् । जसका कारण उनको वारिभरि इपिलइपिल, बाज्रा सहितको डालेघाँस, टाँकी, किम्बू, बकाइनो लगाइएको छ ।
सरस्वतीका घरमा पालिएका सबै बाख्राको बीमा पनि गरिएको छ । जसका कारण सरस्वतीलाई बाख्रा बिरामी होलान् र मर्लान् भन्ने एकरत्ति चिन्ता छैन । किनकि बिमा गरिएका सबै बाख्राको रेखदेखका लागि सहकारीले नै कर्मचारी राखेर निःशुल्क हेरचाह गर्दै आएको छ ।

आफ्ना शेयर सदस्यको जीवनस्तरमाथि उठाउन सहकारीले बिना धितो ऋण र पशुपालक कृषकका लागि प्राविधिक समेत निःशुल्क उपलब्ध गराएपछि अर्जुनधारा–९की सरस्वती मात्र होइन नगरपालिकाभित्र झण्डै दुई सयभन्दा बढी महिलाहरुले व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आएको सहकारीकी पशु प्राविधिक सृजना आचार्यले बताइन् । उनले भनिन्– ‘यो क्षेत्र पशुपालनका लागि उत्तम ठाउँ रहेछ, पहिचान गरेरै यस ठाउँमा बाख्रा र कुखुरा पालनका लागि सहकारीले योजना अघि बढाएको हो ।’ ‘अहिले यस क्षेत्रका अधिकांश महिला उद्यमी भएका छन्’– आचार्यले भनिन्– ‘हिजोसम्म अरुकहाँ मजदुरी गर्ने माहिला अहिले आफैं उद्यमी बनेर घर चलाएका छन् ।’

हुन त झापाको अर्जुनधारा नगरपालिकाभित्र व्यवसायिक पशुपालन गर्ने क्रम दिन प्रतिदिन बढ्दोछ । कोही बिदेशबाट फर्किएर पशुपालन गरिरहेका छन् त कोही रोजगारीको अन्य विकल्प नभएर यो पेशामा आवद्ध छन् । सुनेकै भरमा बाख्रापालन व्यवसाय शुरु गरेकी सरस्वतीको दिन प्रतिदिन बाख्रापालन व्यवसाय फष्टाउँदै गएपछि उनको सिको गर्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । पाँच बर्षभित्र बाख्रापालन व्यवसायबाटै एक करोडभन्दा बढी आन्दानी लिने सोचका साथ उनले अहिले स्थानीयसहित उन्नत जातका बाख्रा पालन गरिरहेकी छिन् ।

सरस्वतीले अहिले समूहमा आबद्ध अरु महिलालाई पनि समूह मै बाख्रापालन सम्बन्धी तालिम प्रदान गर्दै आएकी छिन् । अर्जुनधारा–९मा अहिले उनकै अग्रसरतामा किसान पाठशाला समेत सञ्चालनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here