टर्रो बोलेर कसैको मन जितिदैन !

0
718

विष्णुप्रसाद खरेल,

संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचार–प्रसार उपसिमितिले यही बुधबार सञ्चार मन्त्रालयमा गरेको छलफल कार्यक्रममा सरकारका प्रबक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रयोग गरेका शब्दले नेपालीहरुको मानमर्दन गरेको छ । त्यसो त, बाँस्कोटा टर्रा शब्दको प्रयोग गर्नमा माहिर देखिएकै हुन् । उनले उक्त छलफलमा भने ‘त्यो दिन (संविधान दिवशको विदाको दिन) तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाइफ्रेण्डलाई भेट्न जानका निम्ति (विदा) दिएको होइन । फाइनल कुरा यही हो ।’

बाँस्कोटाको उक्त भनाइले सरकारी विदाका दिन उनी यस्तै कार्यहरुमा ब्यस्त रहने गरेको आभाष मिल्दछ । मनोबैज्ञानिकहरुको भनाई अनुसार– एउटा मानिसले अर्को मानिसप्रतिको दृष्टिकोण तयार गर्दा पहिला आप्mनो चरित्रबाट प्रभावित भएर सोच्ने गर्दछ, रे । उक्त प्रभावले अरुको मूल्यांकन गर्ने गर्दछ । हामी सबैमा यही हुने हो । कुनै पनि विषयमा धारणा तयार गर्दा एउटा असल मानिसले सकारात्मक सोच राख्दछ र त्यही सोच अनुरुपका शब्दहरुको उच्चारण र प्रयोग गर्दछ । अझ, राज्यको नेतृत्वमा सामेल भएकाहरुवाट प्रयोग गरिने शब्दहरुलाई विशेष ध्यान दिन जरुरी हुन्छ ।

अहिलेका शाषकहरुमा अरुलाई होच्याउने, अरुप्रति शंका र सन्देश जनाउने र आफूमात्र अब्बल दर्जाको ठान्ने प्रवृतिले उनीहरुले प्रयोग गर्ने शब्द, जीवनशैली, आचरण र व्यवहारबाट नै प्रमाणित भएको जगजाहेर नै छ ।
नेपालमा कम्युनिष्टहरुको बलियो सरकार छ । बलियो सरकारमा समावेश भएको दल र सरकारमा सहभागी शासकहरु आफैमा विनम्र हुनुपर्ने हो । अझ, सर्वहारा आचरण र कम्युनिष्ट चरित्रले त जनतालाई सदैव सम्मान गर्ने, उनीहरुलाई विनम्रतापूर्वक सचेत तुल्याउने र आफूलाई सबैभन्दा सर्वश्रेष्ठ जनसेवकका रुपमा प्रस्तुत गर्नुपर्ने हो । त्यो कतै देखिँदैन । विगतका शासकहरुको आलोचना गरिरहँदा अहिलेका शासकहरुमा के फरक छ भनेर सोचियो भने कुनै गुणात्मक भिन्नता पाउन सकिँदैन । अझ अहिलेका शासकहरुमा मन्त्री बाँस्कोटाको जस्तै टर्रो बोली र दम्भकारी संस्कार मौलाउन थालेको छ । जनता नोकर हुन्, शासकले जे बोल्दछ त्यो कुराको अनुशरण जनताले टाउको निहुराएर गर्नुपर्दछ भन्ने प्रवृत्तिले वर्तमान शासकहरु झन् आलोचित बनिरहेका छन् ।

सन्दर्भ एउटा मात्र होइन, मन्त्री बाँस्कोटाको जस्तै शैली र आचरणले अहिले ब्याप्तता छाएको छ । प्रधानमन्त्रीबाट शुरु भएको दम्भकारी चरित्र र होच्याउने शब्दको प्रयोग अहिले कम्युनिष्ट आचरण र व्यवहार बनेको छ । कम्युनिष्टहरुमा एउटा अलग चरित्र विगतदेखि नै देखिएकै हो । स्तम्भकारको स्मरणमा अहिले पनि एउटा शैलीले जरो गाडीरहेको छ । २०३५÷०३६ सालदेखि धेरै पछिसम्म देखिएको त्यो चरित्र पनि कम गज्जबको थिएन ।

चीनको कम्युनिष्ट आन्दोलनका अगुवा माओत्सेतुङ्ग सदैव कपाल ठाडो पारेर कोर्ने गर्दथे । उनले बोक्ने झोला हरियो रंगको थियो । माओको त्यो शैलीलाई नेपालको कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यति धेरै अनुशरण गरे की कपाल ठाडो पारेर कोर्ने र हरियो रंगको झोला बोक्नेहरु आफूलाई अब्बल दर्जाको कार्यकर्ताका रुपमा लिन थाले । प्रायः धेरै भूमिगत कार्यकर्ताहरुको शैली त्यस्तै बन्यो । उनीहरुको भेषभुषा र पहिरनले त्यतिबेलाको प्रहरीलाई कम्युनिष्ट भनेर थाहा पाउन सजिलो बनायो । जसका कारण उक्त शैलीलाई परिवर्तन गर्न उनीहरु बाध्य भएका थिए ।

माथिल्लो नेताको बोली, व्यवहार र जीवनशैलीलाई तल्लो तहका कार्यकर्ताले अनुशरण गर्ने आवेग कम्युनिष्टहरुमा अचाक्ली नै देखिन्छ । सायद त्यसैको परिणाम हुनुपर्दछ, अहिलेका माथिल्लो तहका कम्युनिष्ट नेताहरु जे जस्तो आचरण, व्यवहार र जीवनशैलीबाट गुज्रिएका छन् । तलका कार्यकर्ताहरु पनि त्यसैको अनुशरण गरिरहेका देखिन्छन् । यो जग जाहेर छ । नेपालका कम्युनिष्ट नेताहरुमा अहिले अकुत सम्पत्ति कमाउने होड चलेको छ । माथिल्ला तहका सबै नेताहरु करोडपति हुने कुरा त सामान्य बन्यो, उनीहरु अरबपति र खरबपति हुने दैडाहामा लागेका छन् । व्यक्तिगत सम्पन्नताको यो दौडमा राज्यका सबै संयन्त्रहरुको दुरुपयोग गर्ने र उक्त दुरुपयोगका अवरोधहरुलाई जनताका शत्रुका रुपमा चित्रित गर्दै तथानाम टर्रा शब्दहरुको प्रयोग गर्नमा माहिरता हासिल गरिरहेका छन् ।

माथिल्ला तहका नेताहरुले देखाएको सम्पन्नताको बाटो र उक्त कार्यमा देखिएका अवरोधहरु माथिको तीव्र आक्रमणलाई तल्ला तहका कार्यकर्ताले राम्ररी अनुशरण गरिरहेका छन् । उनीहरुको गलत आचरण, व्यवहार र जीवनशैलीको आलोचना गर्नेहरुका विरुद्ध अरिंगाल शैलीमा आक्रमक भएर प्रस्तुत हुनु उनीहरुको दिनचर्या बनेको छ । नेपालका कम्युनिष्टहरु फरक चरित्रका छन् । चिनिया राष्ट्रपतीले भनेका छन्–‘व्यक्तिगत सम्पत्ति हुने व्यक्ति कम्युनिष्ट हुन सक्दैन ।’ तर, नेपालमा करोडपती नभएको मानिस कम्युनिष्ट बन्न नसक्ने अवस्था तयार हुँदैछ । त्यसैले पनि होला, दुईतिहाईको कम्युनिष्ट सरकारका पालामा सबैभन्दा बढी भ्रष्टाचार भएको अनुभूति नागरिकहरुले गरिरहेका छन् ।

सरकारमा सालिनता देखिएन भने आम नागरिकहरुको विश्वास खस्कन्छ । अगुवामा धैर्यता र सहनशिलता आवश्यक हुन्छ । अझ, अगुवाहरुमा अरुको अस्तित्वको सम्मान गर्ने आचरण प्रमुख भएर आउने गर्दछ । आलोचना सुन्ने र आलोचना ग्रहण गर्ने योग्यताले मात्र कुनै पनि नेता, शासक वा शासनको गरिमा बढ्ने गर्दछ । विभिन्न स्थान, समुदाय, जात, धर्म, वर्ग र पेशाका मानिसहरुले एउटै विषयमा पनि व्यक्तिगत रुपमा फरक धारणा बनाउनु स्वभाविकै हो । त्यो स्वभाविकतालाई सहजरुपमा ग्रहण गर्न सकिएन भने कुनै पनि शासक या नेता लोकप्रिय बन्न सक्दैन ।

अहिले हामी जे देखिरहेका छौं र जे भोगिरहेका छौं, यो ठिक उल्टो देखिन्छ । सरकार र सरकारमा रहेका दलका कार्यकर्ता र नेताहरुमा सहनशिलता शून्य देखिन थालेको छ । धैर्यता भन्ने चिज नै समाप्त हँुदैछ । आक्रमण र प्रतिआक्रमणमा उत्रिहाल्ने र जथाभावी शब्दको प्रयोग गर्ने बिषय प्रमुख भएर आउन थालेको छ । अरुको अस्तित्वलाई स्वीकार गर्ने चरित्र त कतै पनि देखिँदैन । अरु भनेका चरित्रहिन र यो मुलुकका लागि निकम्मा हुन र आफुमात्र सर्वश्रैष्ठ भन्ने भावना चौतर्फी देखिन थालेको छ । फरक विचारहरुलाई आफूमाथिको आक्रमण देख्ने र त्यसका विरुद्धमा प्रतिआक्रमणमा खन्निने आचरणमा अत्यधिक बृद्धि भइरहेको छ ।

फेरि पनि सञ्चारमन्त्री बाँस्कोटा कै सन्दर्भ, संविधान दिवशको विदाका दिन के सबै मानिसहरु तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाइफ्रेण्डलाई भेट्न तल्लिन हुने गर्दछन् ? के यो देशका अहिलेका शासकहरु मात्र सच्चरित्रवान र देशको लागि मरिमेट्ने पात्र हुन् ? अरु आमनागरिक, सरकारी र गैरसरकारी कर्मचारी सबै गलत बाटोमा हिँडेका छन् ? अर्थ न वर्थका यस्ता टर्रा शब्दको प्रयोगले कोही पनि ठूलो र असल बन्न सक्दैन । र, यस्ता टर्रा शब्दको प्रयोगले अरु कसैको मन जित्न पनि सकिँदैन । समयमै चेतना पलाओस् !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here