अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापामा फलाए एक किसानले

0
899

दमक,

पहाडी तथा हिमाली क्षेत्रको अति चिसो ठाउँमा फल्ने स्याउ तराईको गर्मी भनेर चिनिने झापा, गौरादहका एक किसानले फलाएका छन् ।

गौरादह– २ का किसान भीमबहादुर खड्काले आफ्नै जग्गामा स्याउ फलाएका हुन् । आफ्नो घर छेउमा करीब एक बिघा खेतलाई माटोले पुरेर डाँडो बनाई ड्याङ बनाएर लगाएको स्याउ फलाएको खड्काले बताउनुभयो । पहिलोपटक उत्पादित यस वर्षको स्याउ केही बिक्री गर्नसमेत उहाँ सफल हुनुभयो ।

खड्काले बारीमा २०० वटा स्याउका बिरुवा लगाउनुभएको छ । परीक्षणका रूपमा पहिलोपटक स्याउको बिरुवा रोपेर हेर्दा फल लागेपछि उहाँको परिवारसहित गाउँले पनि दङ्ग परेका छन् ।

स्याउको बिरुवा रोप्ने समयमा स्याउ फलेर खान पाइन्छ भन्ने कसैले विश्वास गरेका थिएनन् । बिरुवा रोपेको एक वर्षपछि फल फल्ने विश्वास गरेपनि उहाँले लगाउनुभएको स्याउ आठ महीनापछि नै फल्न थालेको हो । दाजुलाई उपचार गराउन भारतको हरियाणा गएको समयमा त्यस क्षेत्रमा स्याउ फलेको देखेपछि आफूलाई पनि स्याउखेती गर्ने प्रेरणा आएको खड्का बताउनुहुन्छ ।

हरियाणाको तीव्र गर्मीमा पनि फलेको स्याउ देख्दा आफ्नो बारीमा पनि स्याउ फलाउन सकिने आत्मविश्वास बढेपछि बिरुवा लगाएको उहाँले बताउनुभयो ।

हरियाणामा फलेको स्याउका बारेमा आफूले जानकारी लिँदा थाइल्याण्डमा लगाइने स्याउ गर्मी मौसममा समेत फल्ने थाहा पाएपछि सोहीअनुसार आफूले खेती शुरु गरेको खड्काले बताउनुभयो । स्याउले विस्तारै राम्रै उत्पादन दिए भने थप खेती विस्तार गरिने उहाँको सोचाइ छ ।

करीब ५० डिग्री तापक्रमसम्ममा फल्न सक्ने ‘रोयल रेड’ जातको स्याउ खानमा पनि स्वादिलो भएकाले यसबाट राम्रो मुनाफा निकाल्न सकिने उहाँको भनाइ थियो ।“सोचेभन्दा अगाडि नै स्याउ फलेपछि थप १५० बिरुवा लगाउने लक्ष्य राखेको छ, राम्रोसँग फल दिएमा कलमी गरेर बिरुवा उत्पादन गर्ने सोच छ”, खड्काले भन्नुभयो ।

गाउँमा बसेर पशुपालन तथा खाद्यान्नबाली लगाउँदै गर्मी मौसममा फल्ने फलफूल लगाउँदै आएका त्यस क्षेत्रका किसानले स्याउ तराईमा फल्छ भन्नेबारेमा आफूले नसोचेको उहाँका बुबा प्रेमबहादुरले बताउनुभयो । उहाँले भन्नुभयो, “अति चिसो र हिमाली क्षेत्रमा मात्र स्याउ फल्ने सुनेको तर अहिले आफ्नो बारीमा पनि त्यही स्याउ फल्दा खुशी छौँ ।”

गर्मी समयमा फल्ने फलफूल लगाउँदै आएकामा चिसो मौसमको स्याउसमेत फल फलाउन सफल भएपछि धानको विकल्प खोज्न सकिने गौरादह– २ का वडाध्यक्ष हेमन्त कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here