आज दर खाने दिन, यस्तो छ तीजको दिन वर्त बस्नुको वैज्ञानिक कारण

0
769

काठमाडौं ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीज भोलि सोमबार परेको छ । भोलि तीजको व्रत बसिन्छ । तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने चलन छ ।

भाद्र शुक्ल द्वितीयाको बेलुकी दर खाने र तृतीयामा व्रत बस्ने परम्परा छ। विवाहित नारीहरूले पति र सन्तानको सुस्वास्थ्य र दीर्घायुको कामना गरेर तथा अविवाहित युवतीहरूले सुयोग्य पतिको कामना गरी पानी पनि नखाई तीजको व्रत बस्ने गर्छन् ।

तर, पछिल्लो वर्षमा व्रतको बेलुका कतिपय महिलाहरुले फलफूल खाने र दूध पिउने गर्छन् । पानी समेत नखाइ व्रस्त बस्ने भएकाले तीजको अघिल्लो दिन खाइने दरको भने विशेष महत्त्व छ। खानाबाटै मन, आत्मा, चित्त शुद्ध बन्ने विश्वास रहेकाले पवित्र कार्यअघि खानेकुरा छनोटलाई पनि महत्त्व दिइन्छ।

व्रतको अघिल्लो दिन चोखो, मनलाई शान्त पार्ने खालको खानेकुरा खाने र थोरै खानाले भोलिपल्ट तन्दुरुस्त रहन मद्दत गर्छ। पहिले पहिले गाउँघरमा महिलाहरूले सामान्य खानेकुरा मात्र खान पाउँथे, जसले गर्दा उनीहरूलाई पर्याप्त पौष्टिक आहार पनि पुग्दैन थियो। शारीरिक रूपमा पोषण नपुग्ने भएकाले पनि दरको प्रचलन सुरु भएको हो।

तीज भनेको धार्मिक परम्परासँग जोडिएको पर्व हो तर तीजमा खाइने दरको सम्बन्ध धर्मसँग त्यति धेरै जोडिएको पाइँदैन। पछिल्लो दिन व्रत बस्न अघिल्लो दिन आडिलो खानेकुरा खाँदा व्रतको दिन सजिलो हुन्छ भनेर दर खाने प्रचलन बसेको हो। तीजमा दरिलो, आडिलो खानेकुरा खानुपर्छ भन्ने मान्यता छ। व्रत बस्दा शरीर कमजोर हुन नदिने विषयसँग दरको सम्बन्ध रहेको छ।

दरमा खाइने खानेकुराहरू स्वस्थ र पोषणयुक्त हुनपर्छ। तर पछिल्लो समय दरमा महिलाहरूले एकदम चिल्लो पिरोयुक्त माछा मासु, विभिन्न किसिमका गुलियो पेय पदार्थहरू खाने चलन बढेको छ। अझ आजभोलि घरमा बनाएर भन्दा बाहिर पार्टी प्यालेसहरूमा बनाएको रेडिमेड खानेकुरा खाने प्रचलन बढ्दै गएको छ।

चेलीबेटीहरू तीजको दिन व्रत बस्ने भएपछि उनीहरूलाई अघिल्लो दिन नै मीठोमीठो खुवाउने चलन पहिलेदेखि नै चलेको हो। तीजको अघिल्लो दिन शरीरलाई दह्रो बनाउने आडिलो खानेकुरासहित दर खुवाउने चलन सुरु भएको हो। दरको रूपमा तीजको अघिल्लो दिन राति अबेरतिर अनादीको लट्टे, घिउ हालेको खाना, खीर, ढकने जस्ता तागत दिने खानेकुरा खाने चलन छ। तर हिजोआज दरको रूपमा माछा मासुलगायतका खानेकुरा पनि खाने गरेको पाइएको छ।

तीजमा व्रत बस्नुलाई धर्मसँग जोडिने भएकाले अघिल्लो दिन माछा मासु खाएर व्रत बस्नु शुद्ध मानिँदैन। व्रत बस्ने अघिल्लो दिन दूध, घिउबाट बनेको चोखो र आडिलो खानेकुरा खानुपर्छ। हिजोआज ठाउँअनुसार तीजको दिन शारीरिक परिश्रम गर्ने चलन घटेको छ।

त्यसैले प्रोटिनयुक्त खानेकुरा खाँदा शरीरलाई थप असर गर्ने कुरामा ख्याल गर्नुपर्छ। शरीरको अवस्थाअनुसार पानी, फलफूल, जुस, दूध र दही खाएर व्रत बस्न सकिन्छ। हाम्रो धर्मशास्त्रले पानी नखाई व्रत बस्नु भनेर कतै भनेको छैन, जसले गर्दा शारीरिक अवस्थाअनुसार पानी र फलफूल खान सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here