सामुहिक गौहत्या : अमानवीयताको पराकाष्टा

१५ भाद्र २०७६, आईतवार मा प्रकाशित

गाईलाई जिवित देवी मानिने समाजमा गाईको नृशंस हत्या भएको समाचार आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको छाडा पशुचौपाया घर (कान्जीहाउस)मा राखिएका गाईबाच्छाहरु दैलेख लाने क्रममा शुक्रबार वीरेन्द्रनगरस्थित सुब्बाकुना र कटकुवाको जंगलमा भीरबाट खसालेको अवस्थामा मृत भेटिएका थिए । खसालिएको मध्ये चौबिसभन्दा बढी गाई मरेको बताइएको छ । नगरमा खुल्ला छाडिएका चौपाया नेपालगञ्ज उपहानगरापलिका नियन्त्रणमा लिएर कान्जीहाउसमा राखेको थियो । तिनै गाई दैलेखमा विपन्न वर्गका किसानलाई निःशुल्क वितरण गर्ने गरी दैलेखका स्थानीय सरकारको अनुरोधमा पठाएको बताइएको छ ।

ट्रकमा राखेर दैलेख लैँजादै गरेको गाईवस्तु कसरीबीच बाटोमै खसालियो खोजको विषय भएको छ । गाईलाई राष्ट्रिय जनावर मान्ने वैदिक सनातन धर्मको प्राकट्य भूमि नेपालमा यति ठूलो संख्यामा गाई मर्नुले षड्यन्त्रको संकेत गरेको छ । वर्तमान संविधान मार्फत धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएसँगै गाईलाई राष्ट्रिय जनावर मान्ने र नमान्ने विवाद आएसँगै गौहत्याको श्रृंखला बढ्दै आएको छ । यो भन्दा पनि ठूलो विवाद अहिले भएको गौहत्याले उत्पन्न गर्ने डर बढेको छ ।

स्थानीय सरकारको आग्रहमा कान्जीहाउसमा राखिएका दुई सय एकानब्बे वटा गाई आठवटा ट्रकमा राखेर दैलेख लगिएको थियो । ती मध्ये जंगलमा एक सय पचासभन्दा बढी घाइते र चौबीस वटा मृत अवस्थामा फेला परेपछि घटना सार्वजनिक भयो । स्थानीयबासीले सामुहिक गौहत्या गरिएको भन्दै घटनाको छानविन तथा दोषीलाई कारवाही गर्न माग गरेपछि कर्णाली प्रदेशका प्रहरी डिआइजी पूर्णचन्द जोशीले घटनामा संलग्न भएको आशंकामा पाँचवटा ट्रक र तिनका चालकलाई नियन्त्रणमा लिइएको बताएका छन् ।

धर्म, संस्कृति, जीवन निर्वाह र वैज्ञानिक दृष्टिले समेत सर्वाधिक महत्वको मानिने गाईलाई हाम्रो संविधानले नै संरक्षण गरेको छ । तर, जन्मदेखि मृत्युपर्यन्त अनिवार्य गाईलाई आधुनिक र शहरीया संस्कृतिले उपेक्षा गर्दै लगेको छ। अझ जनसंख्या वृद्धि, जमिनको खण्डीकरण, चरिचरन क्षेत्रको अभाव, कृषिमा यान्त्रिकीकरण तथा मानिसको विलासितापूर्ण जीवन बाँच्ने लालसाले पशुपालन सहायक पेशा समेत हुन छाडेको छ । यस्तो बेला केही व्यक्तिले पालेका गाईवस्तु पनि दूध दिउञ्जेल स्याहार गर्ने र दिन छाडेपछि खुल्ला छाड्ने गर्न थालेका छन् । जसका कारण सडक दुर्घटनाको दर बढाएको छ र सनातनी संस्कृतिमा पनि विचलन ल्याएको छ ।

गाईपालक किसानलाई वितरण गर्न लगिएका गाई बीच बाटैमा कसरी खसालिए सबैका लागि टाउको दुखाइ बनेको छ । यसले वैदिक संस्कृति माथि पनि आघात पु¥याएको भन्दै नेपालगञ्जमा विरोध प्रदर्शन हुन थालेको छ । सम्पूर्ण प्राणीको रक्षा हुनुपर्ने वैदिक संस्कृतिको मूल्य र मान्यता विपरीत भएको यो घटनाले प्रकृतिप्रेमी सबैलाई चिन्तित तुल्याएको पनि छ । गाई राष्ट्रिय जनावर मात्र होइन जीवन पद्धति समेत हो । अतः गौ संरक्षण गर्नु सम्पूर्ण मानव जातिको धर्म हो । गहुँत, गोवरदेखि दूधसम्मका गौवंशबाट प्राप्त हुने लाभका कारण गौमाता भनिने संस्कृतिमा हिन्दू सापेक्ष नभए लगत्तै यति ठूलो संख्यामा गौहत्या भएको छ । यसले ठूलै दुर्घटनाको समेत संकेत गरेको छ । त्यसकारण पनि सरकारले तत्काल समिति बनाएर सत्यतथ्य सार्वजनिक गर्नुपर्छ । अन्यथा गौमाताले धेरैको अकल्याण गर्न सक्छिन्, सचेत होऔं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here