बिर्तामोड, कञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजाने क्रममा सुर्खेतको जंगलमा हालै भिरबाट खसालेर करिब तीन सय गाई मारेको विरोधमा आज झापामा विरोध सभा सम्पन्न भएको छ । 
बैदिक सनातन धर्म संरक्षण समिति नेपाल गो वंश संरक्षण मञ्च झापाले बिर्तामोडमा वृहत गौ हत्याको विरोध गर्दै गाई मार्ने षड्यन्त्रकारीलाईa आजीवन कारावासको माग गरेको छ । नेपालको संविधानले राष्ट्रिय जनवार गाईलाई मानेको भन्दै गाईलाई मार्न कसैलाई पनि छुट नभएको भन्दै गौ हत्यामा संलग्नलाई कानूनी कारवाही गर्न सरकारसंग माग गर्दै विरोध सभा सम्पन्न भएको हो ।
विरोध सभामा सतासीधाम विकास समितिका अध्यक्ष प्रसाद सुब्बाले गौहत्या जघन्य अपराध भएको भन्दै अनादिकालदेखि गोरक्षात्मक राष्ट्र नेपाल भएको र गौहत्यामा सम्लग्नलाई आजीवन कारवास हुनुपर्ने माग गर्नुभयो ।
विरोध सभामा बैदिक सनातन धर्म संरक्षण समिति नेपाल गो वंश संरक्षण मञ्च झापाका अध्यक्ष आचार्य लक्ष्मीप्रसाद खतिवडा, सामाजिक अभियन्ता तीलक गिरी, छन्दूराम भण्डारी, मीना अधिकारी, भानु शिवाकोटी, महेन्द्र प्रसाई, प्रेमप्रकाश फलाहरी ,इन्द्रप्रसाद ओली, विष्णुप्रसाद खतिवडा लगायतले बोल्नुभएको थियो ।






























