ऐन छ, कार्यान्वयन छैन


१७ भाद्र २०७६, मंगलवार ०५:४९ मा प्रकासित

झापा चेतनाका दृष्टिले धेरै अघि छ । त्यही चेतनाका कारण देशमा भएका सबै परिवर्तनकारी घटनाहरुमा झापाले अग्रणी भूमिका निर्वाह गरेको छ । त्यो २००७ सालको राणा शासनको अन्त्यका लागि भएको क्रान्ति होस् वा ०३६, ०४६ वा ०६२–०६३को आन्दोलन नै किन नहोस् झापाको भूमिका उल्लेख छ । झाापाको यस्तो अग्रतामा भारतको शिक्षा विकासको सहयोग छ । राणा शासनकाल वा त्यसपछिको समयमा भारतको दार्जीलिङबाट शिक्षक ल्याएर झापा, इलाम लगायतका जिल्लाहरुमा विद्यालय खोल्ने प्रचलन शुरु भएपछि यहाँको चेतनाको स्तर पनि बढेको छ । तर पनि अत्यावश्यक वस्तुको उपभोगमा भने झापाली गम्भीर नभएको समाचारले देखाएको छ ।

Advertisement

अत्यावश्यक वस्तु भन्नाले प्रकृति प्रदत्त हावा, पानी र खाद्यान्न हो । यसले प्राणी मात्रको जीवन रक्षा गर्छ र दीर्घता प्रदान गर्दछ । प्राणीमध्येको मानिस चेतनाका हिसाबले सर्वश्रेष्ठ मानिन्छ । त्यसकारण पनि उसको व्यवहार त्यही श्रेष्ठता देखिने वा प्रमाणित हुने खालको हुनुपर्दछ । अन्यथा त्यसकै माध्यमबाट अनेक रोगको संक्रमण भई मानिस बिरामी हुन्छ र कुनै व्यक्तिगत वा सार्वजनिक कार्यमा सामेल हुन सक्दैन । त्यसैले ती तीनमध्ये पनि हावाको स्वच्छता सर्वाधिक महत्वको मानिन्छ, किनकि एकछिन पनि हावा अर्थात् श्वासको आवागमन बन्द हुँदा जीवनको अन्त्य हुन्छ । त्यसपछि पानी र पानीपछि खाद्यवस्तुको अनिवार्यता मानव जीवनसँग प्रत्यक्षरुपले जोडिन्छ ।

जब–जब जनसंख्या बढ्दै गयो तब–तब जनघनत्व पनि बढ्दै जानु स्वभाविक प्रक्रिया हो । जब घनत्व बढ््छ तब उनीहरुबाट उत्सर्जित वस्तुले वातावरणलाई असर गर्न थाल्छ । परिणााम वायु प्रदुषित हुन्छ क्रमैसँग अनि जल प्रदुषण हुन्छ । यी दुईको प्रदुषणको असर जब शरीरमा देखिन थाल्छ त्यसबेला मानव शरीरभित्रको प्रतिरक्षा वा प्रतिरोधी क्षमता कम हुँदै जान्छ । यसले मानव शरीर रागको घर बन्दछ र त्यसको परिणाम व्यक्ति परिवार हुँदै समाज र राष्ट्र नै प्रभावित हुन्छ । यो जान्दाजान्दै पनि अस्वस्थकर पानी वायु र खाद्यवस्तुको प्रयोग गरिरहँदा हामी क्रमशः जटिलतातर्फ उन्मुख भइरहेको त्यही समाचारले उल्लेख गरेको छ ।

समाचारभित्रको समाचारमा जनाइएको छ कि झापामा मांसाहार प्रवृत्ति दिनहुँ बढ्दै गएको छ । त्यसका लागि राँगा, सुँगुर, हाँस, कुखुरा, खसी बाख्रा माछा लगायतका जीवहरुको हत्या गरिन्छ । खाद्यवस्तुका रुपमा प्रयोग हुने तर आफू जस्तै जीवन भएको अबोला प्राणीलाई मारेर खाने प्रवृत्ति आफैंमा हिंस्रक हो । त्यसले त्यस्तो कर्म कुनै सुरक्षित, सब कोहीले नदेख्ने गरी गर्नु एउटा कर्तव्य हो भने मारिने जीवजन्तुको स्वास्थ्य अवस्था ठीक हुनुपर्ने ऐनले निर्धारण गरेको सीमा हो ।

झापामा भएका बधशाला उपभोक्ता हित संरक्षणका दृष्टिले उपयोग गरिएका छैनन् । त्योभन्दा डर लाग्दो अवस्था भनेको खुल्ला ठाउँमा मारिने जीवको स्वास्थ्यप्रतिको वेवास्ता नै हो । उपभोक्ताको अधिकार रक्षाका लागि ०५५ सालमै पशुबधशाला र मासु जाँच ऐन ल्याइयो त्यसपछि ०५७मा नियमावलीले अझ कडाई ग¥यो । तर, कार्यान्वयनको अभावमा, नियमनकारी निकाय र स्थानीय सरकार, जनप्रतिनिधि गम्भीर नहुँदा मापदण्ड, ऐन र नियमावली ‘अवोलाले लगाएको धोती’ सरह भएको छ ।

चाडपर्वका बेलाबर्षमा एकपटक अनुगमनो नाममा झारो टार्ने प्रवृत्तिले उपभोक्ताको हित गर्दैन । अझ पछिल्लो समय फोहर ठाउँ, सडक र अतिव्यस्त ठाउँहरुमा पशुबध गर्ने प्रचलन बढ्दै गएको छ । यसले मानसिक, शारीरिक एवम् संवेदनामा कति असर गर्छ भन्ने ख्याल नगर्ने हो भने सरकार, निकाय, जनप्रतिनिधिलाई किन पाल्नु सोच्नु पर्ला कि !

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्