महारानीगञ्ज माविको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
956

अर्जुनधारा।

झापाको अर्जुनधारा–११ सालबारीमा रहेको महारानीगञ्ज माध्यमिक विद्यालयले विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन मंगलबार सार्वजनिक गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहीतमान ढकालको अध्यक्षता र वडाध्यक्ष भैरवबहादुर खड्काको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सामाजिक परीक्षण समितिका सदस्य सचिव मणिलाल खड्काले उक्त प्रतिवेदन सार्वजनिक गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार विद्यालयको गत आर्थिक वर्ष ०७५÷०७६को जम्मा आम्दानी एक करोड ३० लाख ५३ हजार चार सय नौ रुपैयाँ ४० पैसा, जम्मा खर्च एक करोड २६ लाख ११ हजार आठ सय ८७ रुपैयाँ ८७ पैसा र बैंक मौज्दात चार लाख ४१ हजार पाँच सय २१ रुपैयाँ ५३ पैसा उल्लेख गरिएको छ ।

उक्त आम्दानीमध्ये आर्थिक वर्ष ०७४÷०७५को बैंक मौजदात छ लाख २९ हजार सात सय ८१ रुपैयाँ ७९ पैसा, सरकारी अनुदान ९१ लाख ७१ हजार तीन सय ५३ रुपैयाँ २० पैसा, स्थानीय स्रोत १० लाख २१ हजार छ सय चार रुपैयाँ, अन्य आम्दानी १५ लाख ६१ हजार सात सय ४२ रुपैयाँ ४९ पैसा र दायित्व भुक्तान गर्नुपर्ने छ लाख ६८ हजार नौ सय २७ रुपैयाँ ९२ पैसा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी विद्यालयको भौतिक, शैक्षिक, विद्यार्थीको सिकाइ उपलब्धी विवरण, शिक्षक र कर्मचारी विवरण, विद्यालय व्यवस्थापन समिति विवरण, शिक्षक अभिभावक संघ विवरण, सल्लाहकार समिति विवरणलगायत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै समितिले विद्यालयमा सुधार गर्नुपर्ने पक्षहरु अन्र्तगत आठ वटा बुँदा उल्लेख गरेका छन् । सो बुँदाहरुमा आधुनिक शौचालयको निर्माण गर्नुपर्ने, शुद्ध पिउने पानीको व्यवस्थापन गर्नुपर्ने, मावि तहको विषयगत शिक्षकहरुको व्यवस्थापन गर्नुपर्ने, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्थापन गर्नुपर्ने, विद्यालयमा इन्टरनेटको व्यवस्थापन गर्नुपर्ने, सवारीसाधन राख्ने स्थल निर्माण गर्नुपर्ने, मञ्च व्यवस्थित गर्नुपर्ने, जीर्ण कक्षाकोठाको ठाउँमा कक्षाकोठा थप बनाउनुपर्ने रहेका छन् ।

समितिले सुझाएका सुधार गर्नुपर्ने पक्षहरुलाई चालु आर्थिक वर्ष ०७६÷०७७को अन्त्यसम्म सम्पन्न गर्ने विद्यालयका प्रधानाध्यापक मनबहादुर लिम्बूले प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी तामाङ, नगर सभा सदस्य मोहन योगी, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमराज इङनाम, सल्लाहकार समितिका सदस्यहरु इन्दिरा गिरी, गंगा रिमाल, लवकुश गौतम र लालबहादुर बस्नेत, पूर्व प्रधानाध्यापकहरु बच्चेलाल चौधरी र हस्त परियारलगायतको आतिथ्यता रहेको थियो ।

प्रधानाध्यापक लिम्बूले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सहप्रधानाध्यापक लीलाधर चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here