लाहा प्रशोधन कारखाना सञ्चालन

0
772

झापा,

झापाको गौरादहमा सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन र शिलबन्दीका लागि प्रयोग हुने लाहा ९चप्रा० प्रशोधन कारखाना सञ्चालन गरिएको छ ।

भारतको पश्चिम बङ्गालमा सात वर्ष लाहा कारखानामा काम गर्नुभएका गौरादह नगरपालिका–२ का ५४ वर्षीय डम्बर विकले स्वदेशमै लाहा प्रशोधन गर्ने उद्देश्यले गत वैशाखमा रु २० लाखको लगानीमा ‘निर्मल चप्रा उद्योग’ स्थापना गर्नुभएको थियो ।

उक्त उद्योगबाट हाल दैनिक ४० केजी प्रशोधित चप्रा उत्पादन हुन थालेको र बजारको माग धान्न कठिन भएको उहाँले जानकारी दिनुभयो । कच्चापदार्थको रूपमा रहेको लाहा प्रशोधन गरिसकेपछि काठ रङ्ग्याउन मिल्ने प्राकृतिक रसायन उत्पादन हुन्छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले उक्त उद्योग मुलुककै पहिलो कारखाना भएको बताउनुभयो । नेपालमा चप्रा आयातमा करोडौं रकम विदेशिने गरेकामा अब बल्ल स्वदेशमै सानो अंशमा भए पनि चप्रा उत्पादन हुनु खुशीको विषय भएको उहाँको भनाइ थियो ।

उक्त कार्यालयले लाहा प्रशोधनमा प्रयोग हुने अत्याधुनिक उपकरण खरीदका लागि रु चार लाख अनुदान दिएको छ । शुरुमा हाते सीपबाटै लाहा प्रशोधन हुँदै आएकामा अब नयाँ उपकरणको प्रयोग भएपछि गुणस्तरसमेत बढ्ने उद्योगी विकले बताउनुभयो । उहाँका अनुसार रुखमा लाग्ने कीराबाट उत्पादन हुने कच्चा पदार्थ सङ्कलन गरी चप्रा बनाउनुपर्ने भएकाले लाहा खेतीका लागि सम्बद्ध किसान र सामुदायिक वनलाई यस कार्यमा प्रोत्साहित गर्नुपर्ने भएको छ । अहिलेसम्म धनकुटा, भोजपुर र तेह्रथुमबाट विकले लाहा खरीद गरेर ल्याउने गर्नुभएको छ । भारतको पश्चिम बङ्गालको उद्योगमा काम गर्दा नेपालमा चप्रा बिक्री हुन थालेको देखेपछि स्वदेशमै उद्योगको सम्भावना देखेर आफूले उद्योग खोलेको उद्योगी विकले बताउनुभयो ।

उहाँको उद्योगमा दैनिक पाँच व्यक्तिले रोजगारी पाएका छन् । स्थानीय किसानलाई शिरीष बयर, खयर र मौवा जातका बिरुवा लगाउन र त्यसमा लाहाखेती गर्न आग्रह गरिएको उहाँको भनाइ थियो । स्थानीय किसानले लाहाखेती गर्ने सोचले उपयुक्त जातका बिरुवा खेतबारीमा रोप्न थालिसकेका छन् । ‘धेरै जमीन चाहिन्न’, उक्त कार्यालय प्रमुख घिमिरेले भन्नुभयो, ‘‘आफ्नो खेतबारीको दुईचार कठ्ठा जमीनमा खयर, बयर, बडहर, शिरीषलगायत जातका बिरुवा हुर्काएर लाहाखेती गर्ने हो भने उद्योग वरपरका किसानले मनग्यै आम्दानी पाउनुहुनेछ ।’’

शुरुमा रुखको हाँगामा बीउ लाहा राखेपछि किराहरुका कारण त्यो आफैं फस्टाएर बढ्ने गर्छ । बैशाखमा लगाएको लाहा कार्तिक महिनामा सङकलनयोग्य हुने उद्योगी विकको भनाइ छ । एकपटक रुखमा लगाएको लाहा खेतीबाट वर्षौसम्म आम्दानी लिन सकिने उहाँले बताउनुभयो । झापाको काँकडभिट्टादेखि मोरङको बेलबारीसम्मका फर्चिनर उद्योगले गौरादहमा उत्पादित चप्रा प्रयोग गर्न थालिसकेका छन् ।

कच्चापदार्थ अभावमा माग धान्नेगरी चप्राको उत्पादन गर्न नसकिएको उहाँको भनाइ थियो। नेपालका फर्चिनर उद्योग नै चप्राको मुख्य प्रयोगकर्ता हुन् । भारतबाट महङ्गो मूल्यमा यसको आयात हुँदै आएको थियो । भारतको दिल्लीबाटै भारु दुई हजार २०० प्रतिकेजीका दरले चप्रा आयात हुँदै आएको बताउनुहुने विर्तामोडस्थित खगेन्द्र काष्ठ उद्योगका सञ्चालक खगेन्द्र खरेलले स्वदेशमै गुणस्तरीय चप्रा उत्पादन भए करोडौं रुपैयाँ विदेशिने क्रम रोकिने बताउनुभयो । उत्पादित चप्रा प्रतिकेजी रु एक हजारमा बिक्री हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here