पार्थ मण्डल / भद्रपुर।
चाडपर्व नजिकिएसँगै झापाका खुल्ला सीमा नाकामा तस्करी बढेको छ । विशेषगरी भारतबाट नेपाल भित्र्याइने लत्ताकपडाका पोकाहरू तस्कर समूहले भन्सार छलेर भित्र्याइरहेका छन् ।
लत्ताकपडाको भन्सार मूल्याङ्कन बढी हुँदा तस्कर समूह चोरी निकासीको बाटो प्रयोग गरी लत्ताकपडा भित्र्याउन अहिले सीमा नाकामा सलबलाइरहेका छन् ।
दशैंमा झापा लगायत पूर्वका बजारमा लत्ताकपडाको माग उच्च रहेको हुन्छ । यो समय झापासहित पूर्वका व्यापारीहरू सीमा क्षेत्रका कारोबारी समातेर लत्ताकपडा भित्र्याउँछन् ।
व्यापारीले एक पोका कपडा बराबर १५ देखि २० प्रतिशत ढुवानी खर्च कारोबारीलाई दिने गरेको व्यापारी स्रोतको दाबी छ । त्यही प्रतिशतमा कारोबारीले व्यापारीको पसल र गोदामसम्म पु¥याउने गर्दै आइरहेको छ । त्यही १५ देखि २० प्रतिशतको लोभमा कारोबारीले भन्सार छाडेर तस्करीको बाटो रोज्ने गरेका छन् ।
तस्करीको माध्यमबाटै लत्ताकपडा भित्र्याउन खोजिरहेको घटना प्रहरीले सामान समातेपछि मात्र सार्वजनिक हुने गरेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सेटिङ मिलुञ्जेल कारोबारीले भन्सार छलेर धमाधम लत्ताकपडा भित्र्याइरहेका हुन्छन् । त्यो कुरा नाकाका खटिएका प्रहरी र कारोबारी बाहेक कसैलाई थाहा हुँदैन ।
सेटिङ नमिलेको, जिल्ला वा प्रदेश प्रहरी प्रमुखलाई तस्करीको विषयमा कसैले सूचना दिएपछि मात्र सशस्त्र प्रहरी र नेपाल प्रहरीले कपडा बरामद गर्ने गरेका घटनाहरू बाहिर आउँछ । प्रहरीले सामान बरामद गरे लगत्तै केही दिन त्यो नाकामा तस्करी गतिविधि रोकिन्छ, अनि फेरि सात दिन पछि तस्कर समूहको चलखेल शुरु भइहाल्छ ।
चाड पर्व आउन लागेपछि तस्कर समूह विशेष गरी अन्य सामान छाडेर लत्ताकपडा भित्र्याउने योजना बनाएर लागीपर्छन् । विशेष गरी जिल्लाका बाहुण्डाँगी, तिरीङ, सतीघट्टा, काँकरभिट्टा, ज्यामिरगढी, भद्रपुरको घोडामारा, गणेश मन्दिर, देवी बस्ती, डाँगीवारी, किच्चकबध, पृथ्वीनगर, पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, कोरोबारी, गौरीगञ्ज नाका लत्ताकपडासहित अन्य सामग्री भित्र्याउने मुख्य नाका हुन् ।
नाकामा तस्करी बढ्यो
पछिल्लो समयमा भद्रपुर नाकाबाट भन्सार छलेर भित्र्याइएको लत्ताकपडा वडा प्रहरी कार्यालय भद्रपुरले बरामद गर्दै आइरहेको छ । सीमा नाकाकै सुरक्षामा खटिएका सशस्त्र प्रहरी यस विषयमा रमिते बनेको छ ।
वडा प्रहरीले दिनैपिच्छे लत्ताकपडा बरामद गर्दै आए पनि सशस्त्र प्रहरी बल २ नम्बर गण झापाबाट खटिएका सशस्त्र प्रहरीले तस्करी नियन्त्रणमा खासै चासो देखाएको छैन । सशस्त्र प्रहरी उल्टै तस्कर समूहलाई संरक्षण गर्दै आइरहेकोले नाकामा लत्ताकपडाको तस्करी बढेको स्रोतको दावी छ । सशस्त्र प्रहरीले गर्नु पर्ने काम नेपाल प्रहरीले गर्न थालेपछि भद्रपुर सीमामा सशस्त्र प्रहरीको कामै देखिएन । अहिले भद्रपुरको घोडामारा, गणेश मन्दिर र डाँगीवारी नाकाबाट लत्ताकपडा धमाधम भित्रिरहेको स्रोतको दाबी छ ।
घोडामारा र गणेश मन्दिर नाका नजिकै सशस्त्र प्रहरी बल २ नम्बर गण झापा रहेको छ । सशस्त्र प्रहरीको गण आसपासका क्षेत्रबाटै दिनहुँ लत्ताकपडा भित्रिँदासमेत सशस्त्र प्रहरी प्रमुख अनभिज्ञ भएर बसेका देखिन्छ ।
यता वडा प्रहरी कार्यालयले मङ्गलवार बिहान ४ बजे भद्रपुर ५ स्थित डागीबारी नाकाबाट एक लाख ७५ हजार मूल्य बराबरको कपडा बरामद गरेको थियो । भारतबाट भन्सार छलेर लत्ताकपडा भित्र्याइरहेको गोप्य सूचनाको आधारमा वडाबाट खटिएका सादा पोशाकको प्रहरी टोलीले डाँगीवारीबाट तीन पोका कपडा बरामद गरेको वडाका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।
बरामद गरिएको लत्ताकपडा थोरै परिमाणको भए पनि महँगो मूल्यको रहेको र मङ्गलवार नै भद्रपुर भन्सार कार्यालय बुझाइसकेको उनले बताए । त्यस्तै वडाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार भद्रपुर– ६ स्थित कृष्णराज कम्प्लेक्स अगाडिबाट २ लाख ३५ हजार मूल्य बराबरको लत्ताकपडा बरामद गरेको थियो । गोदामबाट निकालेर बिर्तामोड लैजाने तयारी अवस्थामा रहेको चार पोका कपडा बरामद गरिएको जनाइएको छ । बरामद गरिएको कपडामा २७० मिटर कटन, ४२० मिटर सर्ट, पर्दा सेट ९३ र १०५ पिस कुर्ता सुरुवाल रहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी भदौ ४ गते भद्रपुर –५ स्थित देवीवस्ती नाकाबाट लत्ताकपडा भित्र्याइरहेको सूचनाको आधारमा वडा प्रहरीले तीन पोका कपडा बरामद गरेको थियो । बरामद गरिएको कपडाको मूल्य ७९ हजार कायम गरी भद्रपुर भन्सार बुझाएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
भन्सारमा आउने कपडाको परिमाण घट्यो
साबिक छोटी भन्सार कार्यालय भद्रपुरको विगतको तथ्याङ्क केलाउँदा असार, साउन र भदौमा ठूलो परिमाणमा लत्ताकपडा भित्रिने गरेका थिए । स्तरोन्नति भएको भद्रपुर भन्सार कार्यालयमा त्यति परिमाणको लत्ताकपडा नआएको भन्सारका सुब्बा रेवती गिरीले बताए ।
‘चाडपर्वलाई मध्यनजर गरी लत्ताकपडा ठूलो परिणाममा भित्रिनु पर्ने हो’ – उनले भने– ‘चोरी निकासीको बाटो भएर लत्ताकपडा भित्रिँदा भन्सारको राजश्वमा कमी आएको हो ।’ जिल्लाका दुईवटा मूल भन्सारमध्ये भद्रपुर भन्सारबाट मात्र लत्ताकपडा भित्रिन्छ ।
मेची भन्सार काँकरभिट्टामा लत्ताकपडा जानै छोडिसकेको भन्सार कर्मचारी बताउँछन् । ‘बजारमा प्रशस्त मात्रामा लत्ताकपडा गइरहेको छ, कहाँबाट गइरहेको छ, त्यो सबैले अनुमान लगाउन सक्छ’– उनले भने । उनका अनुसार भदौमा भन्सार राजश्व संकलनकोे लक्ष्य २ करोड रहेकोमा अहिलेसम्ममा एक करोड २० लाख राजश्व सङ्कलन भएको छ । ‘पछिल्लो समयमा वडा प्रहरीले लत्ताकपडा बरामद गरी भन्सार बुझाइरहेको छ, सशस्त्र प्रहरीले खासै ल्याएको छैन’– उनले भने । ‘चोरी निकासीको बाटोबाट आउने लत्ताकपडा भन्सार आए लक्ष्य भन्दा बढी राजश्व उठ्छ’– उनले थपे ।
के भन्छन् प्रहरी प्रमुख ?
जिल्लामा चोरी तस्करी रोकथामका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अभियान नै थालेका छन् ।
प्रहरी उपरीक्षक मैनालीले अभियान थालेपनि सादा पोशाकमा खटिएका प्रहरी र नाका इञ्चार्जहरूले तस्करी नियन्त्रणमा खासै चासो नदेखाउँदा अभियान असफल हुन थालेको छ । अरू नाकाभन्दा अहिले वडा प्रहरी भद्रपुर र काँकरभिट्टा इलाकाले मात्र लत्ताकपडा बरामद गर्दै आइरहेको पत्रकारलाई पठाइएको सामाचार बुलेटिनको तथ्याङ्कमा छ ।
नेपाल प्रहरीले लत्ताकपडा बरामद गर्दै आइरहेको बताउँदै प्रहरी उपरीक्षक मैनालीले भने –बजारमा लत्ताकपडा भित्रिरहेको छ, ११८ किलोमिटर खुल्ला नाका छ, तस्कर समूह अहिले लत्ताकपडा मात्रै भित्र्याउन खोज्दैछ, त्यसलाई नियन्त्रण गर्न मैले अभियान नै थालेको छु । प्रहरीले दिनैपिच्छे लत्ताकपडा मात्र बरामद गर्दै रहेको छ– उनले भने ‘तस्करसँग साँठगाँठ भएको थाहा पाए प्रहरी कर्मचारीलाई विभागीय कारबाही गर्छौं ।’
सशस्त्र प्रहरीले सामान बरामद गर्दै आइरहेको दाबी गर्दै सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थाक्सूले सञ्चारमाध्यममा समाचार नदिँदा त्यस्तो देखिएको बताए । चाडपर्वलाई लक्षित गरी चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालन गरेका छांै – सशस्त्र प्रहरी उपरीक्षक थाक्सूले भने– ‘सामान भित्रिरहेको भन्ने सूचना आउँछ, टोली पठाउँदा सामान भेटिँदैन, यो एउटा समस्या छ ।’ अन्य सामान बढी मात्रा बरामद गरिन्छ ।
लत्ताकपडा त्यति बरामद गरिँदैन भन्ने जिज्ञासामा उनले भने– ‘त्यस्तो होइन, सशस्त्र प्रहरीले फेला पारेको सामान सबै बरामद गर्छ ।’