लोकतन्त्रको विकल्प, अझ परिस्कृत लोकतन्त्र नै हो

२० भाद्र २०७६, शुक्रबार मा प्रकाशित

विष्णुप्रसाद खरेल,

पुराना, अनुभवी र अध्ययनशील राजनीतिज्ञहरुसँगको संवादका माध्यमबाट राजनीति, समाज र देशको समृद्धिलाई बुझ्ने क्रममा म नेपाली कांग्रेसका अनुभवी नेता तथा नेपालको प्रजातान्त्रिक आन्दोलनका सेनानी डिल्ली सिटौलाको निवासमा पुगेँ । बिहान, करिब सात बजे पुग्दा, रेडियोबाट प्रसारण भइरहेको समाचार सुन्नमा व्यस्त, पाएँ । सोचेँ, अहिलेका सक्रिय राजनीतिमा लागेकाहरु यस समयमा के गर्दै होलान् ? कल्पना गरेँ, केही त उठेकै छैनन् ।

उठेकाहरु पनि केही सामाजिक सञ्जालमा ब्यस्त होलान् । कोही भर्खर प्रातःहिँडाई (मर्निङ्गवाक्)बाट आएर नुहाउँदै होलान् । कतिलाई व्यापार, उद्योग वा अन्य व्यवसायमा पुग्न हतार भइरहेको होला । कतिलाई जग्गाजमिनको दलाली गर्न हतार भएको होला । कतिलाई नेताको चाकडीमा पुग्न हतार । कति त चाकडीवाजहरुको घेरामा मन्त्रमुग्ध भएर आफ्नो प्रशंसामा रुमल्लिरहेका होलान् । राजनीतिमा लागेका अहिलेका पुस्ता गहकिलो भएर समाचार सुन्ने, अखबार पढ्ने, सैद्धान्तिक छलफलमा रमाउने वा गहकिला पुस्तकहरुको अध्यन गर्ने काममा यो समयमा लागेका होलान् भन्ने कल्पना मैले गर्न सकिनँ । राजनीतिमा लागेका पहिलो पुस्ताका बजनदार नेताहरु र नयाँ पुस्ताका नेताहरुमा रहेको फरक कल्पना ! मैले यस्तै महशुस गरेँ ।

हामीले कुराकानी शुरु ग¥यौ । २०११ सालमा विद्यार्थी रहँदा काठमाडौंमा गणेशमान सिंहको भाषणबाट प्रभावित भएर सिटौलाले राजनीतिमा प्रवेश गर्नु भएछ । जनताको दबिएको भाषालाई उजागर गर्ने मानवीय साधनका रुपमा गणेशमानलाई लिनु हुने सिटौलाले राजनीतिको प्रारम्भिक विन्दुलाई स्मरणमा ल्याउँदै भन्नुभयो– गणेशमानजी जनताको सिधा भाषा बोल्ने तर वीपी अलिक सैद्धान्तिक हुनुहुन्थ्यो । वीपीले भनेको कुरा बुझ्न सक्ने क्षमता र उमेर त्यो बेला ममा रहेनछ । तर, जति बुझ्दथेँ राम्रो लाग्दथ्यो ।

प्रजातान्त्रिक देश निर्माण र देशको समृद्धिका लागि हरेक नागरिकलाई आफू सरह बनाउने वीपीको भावना थियो । हरेक नागरिक आफू सरह बनाउने र आफूलाई औंला उठाएर प्रश्न गर्न सक्ने बनाउनु नै वीपीको सपना थियो । वीपी भन्नुहुथ्यो– हरेक नागरिक स्वतन्त्र, स्वभिमानी, राष्ट्रवादी, अरुको सम्मान गर्ने र अरुको अस्तित्व स्वीकार गर्ने, राष्ट्रपतिको कर्तव्य निर्वाह गर्न सक्षम बनाउनु नै नेपाली कांग्रेसको परिकल्पना हो ।

वीपीले भन्नुभएको त्यही परिकल्पनामा विश्वास गरेर म नेपाली कांगे्रसको समाजवादी आन्दोलनमा समाहित भएको हुँ । सिटौलाले राजनीतिमा प्रवेश गर्दाको परिकल्पना अथ्र्याउनु भयो । आफूले परिकल्पना गरेको राजनीतिलाई स्मरण गर्दै थप्नुभयो– अहिलेको अवस्थामा लोकतन्त्रको परिभाषालाई स्थापित गर्ने व्यवहार र संस्कार फरक भएको छ । लोकतन्त्र राजनीतिक शब्दावली मात्र होइन यो एउटा संस्कार र संस्कृति पनि हो । हामी त्यो संस्कार र अभ्यास निर्माणका पक्षमा उभिनु पर्दछ । तर, अहिलेका राजनीतिक अभ्यासहरुले लोकतन्त्रको सिद्धान्त, आचरण र व्यवहारलाई उल्टो बनाउने कोशिस पो देखियो । म यही कुराबाट चिन्तित छु । वर्तमान राजनीतिप्रति सिटौलाले चिन्ता व्यक्त गर्नुभयो ।

राजनीतिको विश्लेषण गर्दै उहाँले थप्नुभयो– अहिले राजनीतिलाई नकारात्मक भएर ब्याख्या गरिन थालेको छ । म त्यति नकारात्मक छैन । सम्पूर्ण कुरा बिग्रियो, सबैतिर खराब भयो भन्ने चर्चा धेरै हुन थालेको छ र भिडबाट निर्देशित हुने प्रवृति देखिएको छ, त्यो कुरा भने ठिक होइन । हो, चुनौतिको सामना गर्न राजनीतिले परिस्किृत हुन जरुरी छ । त्यो हुन सकेन । जनताको त्यागबाट उठेर आएका पार्टीहरुले जनताप्रति जवाफदेही हुन नसकेको र लोभानी–पापानीमा फस्न थालेको बिषय भने चिन्ताको बिषय बनेको छ । अहिले राजनीतिमा अनेक शंका र अफवाह फैलाउने काम गरिँदैछ, म त्यस्ता कुरामा बिश्वास गर्दिनँ । राजनीतिमा हरेक विचारहरु लामो समयसम्म रहन्छन् ।

अझ, निरंकुशताका पक्षधरहरु र प्रजातन्त्रका पक्षधरहरुका विचमा निरन्तर राजनीतिक द्वन्द्व र वैचारिक संघर्ष चलिरन्छ । यो स्वभाविकै छ । संसारमा तानाशाह भनेर चिनिएका हिटलरका समर्थकहरु अहिले पनि जर्मनीमा छन् । बेलाबखत उनीहरु विभिन्न खालका उपद्रवपूर्ण आन्दोलन गरिरहन्छन् । तर, अबको विश्वमा हिटलरको क्रुर शासनको सम्भावना नै छैन । नेपालमा पनि निरंकुश राजतन्त्रका पक्षधरहरु त्यस्तै गरिरहेका छन् । यो उनीहरुको राजनीतिक ‘हृाङ्गओभर’ मात्र हो । त्यो सम्भावना म नेपालमा देख्दिनँ ।

राजनीतिको सैद्धान्तिक बहस ओझेलमा परेको महशुस सिटौलामा पनि देखियो । नेपालको राजनीतिमा फरक बिचार राख्ने लोकतान्त्रिक शक्तिका रुपमा रहेका नेपाली कांग्रेस र साम्यवादी विचार बोकेका कम्युनिष्टहरुनै प्रमुख राजनीतिक शक्तिका रुपमा रहेका छन् । तर, यी दुई विचार बोकेकाहरुमा के फरक छ भनेर हेर्न खोजियो भने सामान्य नागरिकले केही फरक भेट्न सक्ने अवस्था छैन । विचार बेगरको राजनीति र गन्तब्य बेगरको हिँडाइले हामीलाई कहीँ पनि पु¥याउँदैन । अहिले राजनीतिमा वैचारिक स्पष्टता धुमिल भएको छ । राजनीतिमा गहिरो अध्ययन गर्नेहरुले सैद्धान्तिक रुपमा फरक भेट्लान, दलीय विचारको बिष्लेशण गरेर धारणा प्रवाह गर्न सक्लान् । तर, सामान्य नागरिकहरु को, के हो ? भन्नेमा अलमलमा पर्ने अवस्था देखिएको छ । यही नागरिकहरुको अलमलवाट केही राजनीतिक दलहरुले फाइदा उठाइरहेका छन् । त्यसैले पनि अबका दिनमा राजनीतिक अवधारणा बीचको फरकका बारेमा राजनीतिक बहस सञ्चालन गर्नु जरुरी छ । अहिले राजनीतिक बहसमा खिया लाग्न थालेको छ ।

नेपालको नयाँ संविधान, सर्वस्वीकार्य भएको छ । तर, संविधनलाई टेकेर सत्तामा पुग्नेहरु नै संविधानको विरोधमा उत्रनु आफैमा अराजनीतिक चिन्तन हो । यस्ता गलत चिन्तलाई उछालेर मौकाको फाइदा लिनु नै गलत राजनीतिकशैली हो । राजनीतिलाई ‘स्कुलिंङ्ग’ले ठूलो प्रभाव पार्दछ । नेपालका कम्युनिष्टहरुको स्कुलिंङ्ग र नेपाली कांग्रेसको स्कुलिंङ्ग नै फरक छ । कम्युनिष्टहरुलाई राजनीतिक शिक्षा दिँदा शुरुमा नै सर्वहारा वर्गको अधिनायकत्वसहितको एकदलीय कम्युनिष्ट पार्टीको शासनका बारेमा पढाइयो÷सिकाइयो ।

यसैले उनीहरुका अभ्यासहरु नियन्त्रणवादतर्फ उन्मुख देखिए । जे कुरा पनि राज्यबाट नियन्त्रित हुनुपर्दछ भन्ने सिकाईले उनीहरुले प्रयोग गर्ने शब्दहरु पनि त्यस्तै बने । ‘जसरी पनि चलाउनु पर्छ’, ‘पेलेर लानुपछर्’, ‘कब्जा गर्नुपछर्’, ‘ठोक्नुपर्छ’ भन्नेजस्ता नियन्त्रण र निरंकुशतालाई चरितार्थ गर्ने शब्दहरुको प्रयोग सबैभन्दा बढी कम्युनिष्टहरुले गर्ने गरेको हामी सबैले देखेकै र सुनेकै हो । त्यो हुनुमा उनीहरुको स्कुलिंङ्गको प्रभाव हो । तर, नेपाली कांगे्रसको राजनीति बुझेकाहरु र प्रजातान्त्रको शिक्षा पाएकाहरुले यस्ता शब्दको प्रयोग कहिल्यै गर्दैनन् र गर्नु पनि हुँदैन । समानता, सहअस्तित्व र स्वतन्त्रताका कुराहरु नै कांगे्रसले प्रयोग गर्ने शब्द हुन् । सैद्धान्तिक दृष्टिकोणबाट विश्लेषण गर्दै राजनीतिको व्यवहारिक फरकलाई सिटौलाले यसरी ब्याख्या गर्नुभयो ।

अहिले, राजनीतिक रुपमा बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भएको छ । यो प्रणालीको राजनीतिक मेरुदण्ड भनेको आवधिक निर्वाचन हो । नेपालको संविधानले लोकतान्त्रिक आचरण, ब्यवहार र अभ्यासको माग गरेको छ । तर, सौभाग्य वा दुर्भाग्यले कम्युनिष्टहरुको दुईतिहाइको सरकार अहिले सत्तामा छ । उनीहरुको मनले लोकतन्त्रलाई पूर्णरुपमा स्वीकार गर्न सकेको देखिँदैन । अधिनायकवादी एकदलिय शासनको सपनालाई मनमा राखेका कम्युनिष्टहरु, मष्तिस्कबाट लोकतन्त्रलाई स्वीकार गर्नुपर्ने बाध्यतामा छन् ।

कम्युनिष्टहरुको मन एकातिर र मस्तिष्क अर्कातिर भएका कारण उनीहरुमा अनेकौं विरोधाभाष देखिएको हो । मनबाट कम्युनिष्ट अधिनायकवादलाई हटाउन नसकेका कारण यो सरकारका गतिविधिहरु नियन्त्रणवादतिर उन्मुख देखिएका हुन् । अब, मात्र हेर्न के बाँकी छ भने उनीहरु मनबाट चल्ने हुन या मस्तिष्कबाट ? जसरी नेपाली कांगे्रसले राजनीतिक रुपमा मन र मस्तिष्कलाई जोडेको स्पष्टता देखिन्छ, त्यो नेपालका कम्युनिष्टहरुमा अपुरो र अधुरो देखिएको छ । वर्तमान राजनीतिक विरोधाभाषको बिश्लेषणमा रहेको सिटौलाले बताउनुभयो ।

सिटौलासँग कुरा गरिरहँदा मैले अनुभूत गरेँ, राजनीति भनेको जनतासंगको घनिष्ठ सम्बन्ध हो । जनतासँगको सम्बन्ध विस्तारको सबैभन्दा ठूलो माध्यम भनेको निरन्तरको संवाद हो । राजनीति भने कै सरोकारवालाहरुसँगको नियमित संवाद हो । संवादले कुरा बुझ्न र बुझाउन सहज बनाउँछ । राजनीतिक संवादमा राजनीतिक विचार, आदर्श र व्यवहारको समिश्रण जरुरी हुन्छ । अहिले यस्तो राजनीतिक मिश्रणसहितको संवाद कम हुन थालेको छ । जसले गर्दा राजनीतिक आदर्श, आदर्श अनुरुपको राजनीतिक सच्चरित्रपूर्ण व्यवहार र राजनीतिक विचारका बारेमा नागरिकसँगको गहिरो संवादको अभाव देखिन थालेको छ । अहिले धेरै मानिसहरु, राजनीतिक प्रतिस्प्रर्धा सत्ता र शक्तिका लागि मात्र हो भन्ने अपुरो बुझाईबाट ग्रसित भएका छन् ।

दलीय स्वार्थमा आधारित शक्ति हत्याउने अस्वस्थ प्रतिस्पर्धाका दृश्यहरुले नागरिकहरुमा वितृष्णा पलाउन थालेको छ । नागरिकहरुमा देखिन थालेको त्यही वितृष्णालाई हतियार बनाएर केही राजनीतिक ‘ऐंजेरुहरु’ बेलाबखत पलाउने र राजनीतिलाई धुमिल बनाउने कोशिसमा लागेका छन् । तर पनि, लोकतन्त्रको विकल्प भनेको अझ परिस्कृत लोकतन्त्र मात्र हो । लोकतन्त्रको विकल्प निरंकुशता हुन सक्दैन । अनुभवी राजनीतिज्ञ र स्वतन्त्रता सेनानी डिल्ली सिटौलासँगको कुराकानीबाट मैले यही महशुस गरेँ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here