सीमा नाका र जिम्मेवारी


२० भाद्र २०७६, शुक्रबार ०६:३९ मा प्रकासित

राज्यको आम्दानीको मूल स्रोत भनेकै उपभोग्य वस्तुको निकासी तथा पैठारी हो । त्यसमा पनि पैठारी अर्थात् आयातबाट भन्सार कार्यालयहरु मार्फत राजश्व संकलन गरिन्छ । देशको आर्थिक विकासका लागि प्रथम प्रधानमन्त्री भीमसेन थापाले सीमा नाकामा भन्सारको स्थापना गराएका थिए । त्यसपछि क्रमशः सीमा नाकाहरुमा भन्सार स्थापना, सञ्चालन तथा प्रवद्र्धन गर्ने काम निरन्तर भइरह्यो । सम्पूर्ण रुपले जनशक्तिले सम्पन्न गर्नुपर्ने निकासी–पैठारी सम्बन्धी काम प्रविधिको विकाससँगै सहज, सरल र सुदृढ पनि भएको छ । यसका माध्यमबाट राजश्व संकलन गर्दै राष्ट्रिय आवश्यकताको पूर्णता पनि भइरहेको छ ।

Advertisement

पहिले हामी कृषिजन्य वस्तुहरु जडिबुटी, दलहन, तेलहन, खाद्यान्न लगायतका वस्तुको निर्यातबाट उल्लेख्य राजश्व संकलन गर्दै थियौं भने आज निर्यात कम र आयात बढी गर्न थालेका छौं । खुलेका उद्योगधन्दाहरु सञ्चालन गर्न नसकेर कौडीमा बेच्ने, उपभोगविहीन बनाउने र कृषि वस्तुको उत्पादन नगरेर आयातमुखी अर्थतन्त्रको निर्माणमा जोड दिइरहेका छौं । जसका कारण हाम्रो जीवन पद्धति नै आयातित हुन थालेको छ । खाद्यान्नमा आत्मनिर्भर नेपालीको विशेषता परनिर्भरतामा रुपान्तरित भइसकेको छ । यस्तो बेला सरकारले राजश्व वृद्धि गर्दै भौतिक विकासका माध्यमबाट समृद्ध नेपाल निर्माण गर्ने सपना बाँड्दैछ भने राजश्वको ठूलो हिस्सा प्रचण्ड गर्मीमा पसिना, खुन र जीवन साटेर भित्रिएको विप्रेषणले धानेको छ ।

अर्थतन्त्रलाई चलायमान पार्ने माध्यम बन्दव्यापार हो, उद्योग हो र व्यवसायमुखी कृषि पेशा नै हो । पछिल्ला दुई माध्यम कमजोर बन्दै आयातले जित्दै लगेको अवस्थामा हाम्रा आवश्यकताको परिपूर्तिको माध्यम बन्दव्यापार नै हो भन्न लाज मान्नु पर्दैन । व्यापारीहरुले छिमेकी, मित्र लगायतका देशहरुबाट आयात गर्ने खाद्यान्न, खाद्यवस्तु, लत्ताकपडा लगायत सम्पूर्ण उपभोग्य वस्तुहरुले हाम्रा आवश्यकता पूरा गरिरहेका छन् । त्यही भएर सरकारले उत्पादनमा जोड दिनु वा भएका उद्योग धन्दा, पेशा र व्यवसायको संरक्षण गर्नुभन्दा आयातमा कडाइ गरेर राजश्व संकलन गर्ने उद्देश्यले लिएको छ। यसले लक्ष्य प्राप्तिमा सहयोग त गर्ला तर दीर्घकालीन लाभ भने हुँदैन ।

यतिबेला नेपालका गाउँबस्तीमा चाडपर्वहरु प्रवेश गर्न थालेका छन् । कतिपय पर्व बिते तर सबैभन्दा ठूलो भनिने दशैंले संघार टेक्न खोज्दैछ । राम्रो लाउने र मीठो खाने पर्वका रुपमा लिइने दशैंका लागि ‘जोहो’ गर्नु नेपाली संस्कृति नै हो । नसक्नेले पनि दशैंमा नयाँ लगाउनै पर्छ यो परम्परा जस्तै भएको छ । त्यसैले मेरुदण्डको रुपमा रहेको व्यापार र त्यसका सञ्चालकहरु दशैं भित्र्याउने चटारोमा छन् यसबेला । आफू उत्पादन गर्न नसक्ने अर्काले गरेको वस्तुमा ‘मनचिन्ते’ कर लगाउने सरकारको खोटो नियतले गरीबको ढाडको ऋणमा झनै भार थपिने गरेको छ । त्यही भएर व्यापारी अवैध बाटोबाट वस्तु ल्याएर बेच्न र बढी मुनाफा कमाउन लाग्छन् । यसलाई रोक्न सरकारले भन्सार बाहेक सशस्त्र, जनपद प्रहरीलाई नाका निगरानी गर्दै राजश्य संकलनमा लगाएको छ ।

यही समय भद्रपुर नाकाबाट दिनहुँ लाखौंका सामान अवैध बाटोबाट प्रवेश गरिरहेको छ । राजमार्गमा रहेको मुख्य नाकामा सुरक्षा निगरानी बढाइएपछि खुल्ला सीमाको फाइदा उठाउँदै कारोबारीले अवैध कारोबार गरिरहेका छन् । त्यसमध्ये कहिँलेकाहीँ थोरै परिमाणमा त्यस्ता वस्तु बरामद पनि गरिन्छ । दशैं–तिहार लक्षित उपभोग्य वस्तु पैठारी गर्ने यो महत्वको समय हो । दुई फरक–फरक प्रकृतिका प्रहरी संगठन एउटै उद्देश्यका लागि सञ्चालित रहँदा खासगरी मुख्य नाकामा आफ्नै उपयोगका लागि ल्याइने वस्तुमा उच्च निगरानी राख्ने र दुःख दिने गरिन्छ । लाभ लिने उद्देश्यले व्यवसाय नै सञ्चालन गर्नेहरु निर्वाध वस्तु आयात गर्छन् । यसलाई न्यायोचित अनुगमन र नियमन नगर्ने हो भने न जनताले सुख पाउँछन् न त राजश्व वृद्धिको लक्ष्य पूरा हुन्छ । यसप्रति सरोकारी निकायको ध्यान जानु पर्दछ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्