झापामा साझा पार्टीको घोषणा

0
577

विर्तामोड।

साझा पार्टीको झापा जिल्ला समितिको संयोजकमा मेदनी प्रसाई चयन भएका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित एक कार्यक्रमका बीच केन्द्रीय संयोजक रवीन्द्र मिश्रको उपस्थितिमा प्रसाईको संयोजकत्वमा झापा जिल्ला समिति घोषणा गरिएको हो ।

समितिको उपसंयोजकमा चन्द्र मैनाली, सचिव खगेन्द्र सिलवाल रहेका छन् भने सदस्यहरुमा राजेन्द्र खनाल, प्रशान्त ढकाल, खगेन्द्र मैनाली, खेम अधिकारी, मधु रिजाल, भुपिन कटुवाल, दुर्गा आचार्य, अजित पौडेल, निशा सोनी कर्ण र हरिकुमार कार्की रहेका छन् ।

त्यसैगरी बाह्रदशी र हल्दिबारीको कमिटी पनि घोषणा गरिएको छ । मधु रिजालको संयोजकत्वमा गठित ५ सदस्यीय हल्दिबारी गाउँ कमिटीको सदस्यहरुमा एकराज दाहाल, सुकल किस्कू, घनश्याम अधिकारी र रामचन्द्र मैनाली रहेका छन् ।

भुपिन कटुवालको संयोजकत्वमा घोषित ७ सदस्यीय बाह्रदशी गाउँ कमिटीका सदस्यहरुमा गोविन्द बजगाँई, विकास पौडेल, जीवन ओली, हस्ताली मोहम्मद, जगत भण्डारी र डिल्लीबहादुर थापा रहेका छन् ।

नवगठित समितिलाई बधाई तथा शुभकामना दिँदै साझा पार्टी नेपालका अध्यक्ष रवीन्द्र मिश्रले देश फेरि पनि विकास र समृद्धितर्फ नजाने संकेत देखिएको बताए ।

‘दुई तिहाईको सरकारलाई विकास र समृद्धिका लागि के ले रोकेको छ ?’ भन्ने प्रश्न गर्दै नेता मिश्रले भने– ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई के ले रोकेको छ, ठूला माछा समाते साना माछा आफैं टुङ्गो लाग्छन् ।’

जनताले तिरेको करको तलब खाएर निजामति कर्मचारीलाई राजनीति गर्न दिन नहुने बताएका मिश्रले सम्पत्ति विवरणमा केही नदेखाउने नेताहरुलाई विदेशका महंगा अस्पतालमा परिवारसहित गएर उपचार गर्ने पैसा कहाँबाट आउँछ ? खोजी गर्नुपर्ने धारणा राखे ।

तुलसी उप्रेतीले स्वागत गरेको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीम अधिकारी, प्रदेश संयोजक अनिल भेट्वाललगायतले बोलेका थिए । नवघोषित जिल्ला संयोजक प्रसाईले प्रतिबद्धता मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सुरज दंगालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here