१५ वर्षदेखि कुकुरलाई सामुहिक भोजन !

0
525

रत्नबहादुर बस्नेत / बिर्तामोड।

कुकुर, बिरालो घरपालुवा जनवार हुन् । यी पशुप्राणी धेरैले घरमा पाल्ने गर्छन् । घरको सुरक्षा र सोखका लागि प्रायः धेरैले एक÷दुई वटा कुकुर, विरालो पाल्ने गर्छन् ।

नेपाली समाजमा सोख वा प्रत्युपकारको भावनाले यी यस्ता पशुप्राणी पाल्ने प्रचलन रहेको छ । यिनलाई विहान बेलुका मानिसले आफूसँगै खाने बस्ने व्यवस्था पनि गरेको पाइन्छ । तर, एउटा दुई वटा होइन एक दर्जनजति कुकुरलाई दैनिक खानेकुरा खुवाएर मात्र आफू खाने व्यक्ति पनि छन् भन्दा हामीलाई अचम्म लाग्न सक्छ, पत्यार नलाग्न सक्छ ।

तर यथार्थ कुरा हो, झापा बिर्तामोडकी एक महिलाले करिब एक दर्जन कुकुरलाई दैनिक विहान बेलुका भोजन गराउँदै आएकी छन् । बिर्तामोड नगरपालिका–४ भद्रपुररोड निवासी पुष्पा पौडेलले एक दर्जन सामुदायिक कुकुरलाई दैनिक खाना खुवाउने गरेकी हुन् । आफ्नै घर अगाडि भद्रपुर बसस्टेण्डमा विहान सबेरै कुकुरलाई सामुहिक भोजन गराउँदै गरेकी भेटिएकी ५१ वर्षीया पौडेलले १५ वर्ष अघिदेखि नियमित रुपमा दैनिक एक दर्जन कुकुरलाई खाना खुवाउने गरेको बताइन् । तीन वटा कुकुर भने उनकै घरमा बस्ने गरेका छन् ।

‘यो घर बनाएको १५ वर्ष भयो, घर बनाएदेखि सँधै बिहान–बेलुका यिनलाई खाना खुवाउने गरेकी छु’– उनले आफ्नो चार तले पक्की घर देखाउँदै भनिन्– ‘एउटा नानी चेपेर एउटा कोठाको सहारा लिएर आएको अहिले यतिको अवस्थामा पुगियो । यति पनि नगरेर के गर्नु ?’ अहिले उनको घर व्यवसायिक प्रयोजनमा समेत उपयोग भएको छ । मानिसले धर्मकर्म तथा पुण्यका लागि पुराण आदि धार्मिक अनुष्ठान गर्ने गर्छन् । तर, प्राणीको दया–सेवा गरेर पनि पुण्य मिल्ने उनको भनाइ छ ।

आजका मान्छे लाभ वा फाइदाका लागि फलको आशा गरेर मात्र कर्म गर्छ, तर निःस्वार्थ सेवाबाटै ईश्वरको दर्शन हुने वा सच्चा सुख शान्ति प्राप्त हुन्छ । प्रत्युपकारको आशा नराखी गरिने प्राणीको सेवा नै सच्चा सेवा हुने शास्त्रादिमा समेत बताइएको छ।उनले यसप्रकारको सेवा कार्यबाट आनन्द र आत्मसन्तुष्टि मिल्ने अनुभव सुनाइन् ।

उनले दैनिक आउने यी कुकुरहरुलाई कहिले भात पकाएर दिने गरेकी छन् भने कहिले चिउरा, चाउमिनलगायत खानेकुरा खान दिने गरेकी छन् ।

कहिलेकाहिँ कुकुरको संख्या घटबढ हुने गरेको भए पनि यी कुकुर अनुशासित ढंगले नबाझिकन मिलेर खाना खाने गरेको बानी परेका स्थानीय होटल व्यवसायी दुर्गा आचार्य बताउँछन् । अत्यन्त ध्यान दिएर श्रद्धापूर्वक गरिएको उक्त दया धर्मरुपी कर्म उदारणीय रहेको घरबाट केही खाना लिएर दिनहूँ एकदुई बटुवा कुकुरलाई ख्वाउँदै आएकी अर्की महिला स्थानीय व्यवसायी रमा पुलामीले बताइन् ।

सबैलाई आफूजस्तै सम्झेर जीविकोपार्जन वृति नभएका प्राणीलाई शक्तिले भ्याएसम्म मद्दत गर्नुपर्नेमा कुकुरलाई तुच्छ प्राणी ठानेर हेय दृष्टि राख्ने र यस्ता बटुवा तथा सामुदायिक कुकुरलाई कुटेर निर्दयी ढंगले हत्या गर्ने सम्मको समाचार आइरहेको वर्तमान समयमा उनको परोपकारी कार्य अरुका लागि पाठ बन्न सक्छ । किनभने धर्म कार्यले पुण्य प्राप्ति हुन्छ भने प्राणीप्रति दान, दया गर्नु धर्मकार्य हो ।

ठूला र विदेशी कुकुरलाई सोखका रुपमा सेवा सुविधा दिई पाल्ने गरे पनि यी सामुदायिक स्थानीय कुकुर सबैले उपेक्षा गर्ने गरेको पाइन्छ । तर, पुण्य तथा धर्मकर्म सम्झेर परोपकारको भावनाले भए पनि यिनलाई पालन पोषण गर्नुपर्ने प्रेरणा पुष्पाजस्ता मनकारी व्यक्तिबाट अरुले पनि लिन सके यी यस्ता प्राणीले खान नपाई दुःखी बनेर भोकै खालीपेट बस्नुपर्ने थिएन कि !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here