नारी संकल्पको सभा

0
1045

बिर्तामोड।

महिलाहरु एक जुटभएमा जस्तोसुकै काम पनि गर्नसक्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
महिलाले केही गर्न सक्दैनन् भन्ने मानसिकता त्यागेर सबै महिला एक भएमा समाजमा जस्तोसुकै काम गर्न सक्नेमा उनीहरुको जोड रहेको छ ।

शनिबार झापाको बिर्तामोड–१ मा रहेको नारी संकल्प संस्थाको प्रथम साधारणसभामा बोल्दै प्रदेश सांसद एकराज कार्कीले महिलाहरु एकजुट भएर कुनै पनि कामको नेतृत्व गरेमा पुरुषको भन्दा राम्रो हुने गरेको बताए । उनले नारीहरु एकजुट भएर समाजका हरेक काममा सक्रिय भएर लागेमा देशको समृद्धिका लागि ठूलो सहयोग पुग्नेमा जोड दिए ।

पिछडिएका वर्ग तथा विभिन्न हिंसामा परेका महिलाहरुको न्यायका लागि महिला एकजुट हुनुपर्नेमा सांसद कार्कीले जोड दिँदै बिर्तामोडमा नारी संकल्पले महिलाको हितका निमित्त छोटो समयमा महत्वपूर्ण काम गर्न सफल भएको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रवक्ता एवम् वडा नं. १ का वडाध्यक्ष अग्नी पाण्डेले नारी संकल्पलाई नगरपालिकाले जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । उनले महिलाले केही गर्न सक्दैनन् भन्नेलाई बिर्तामोडको नारी संकल्पका महिलाहरुले चुनौति दिँदै समाजसुधारका निमित्त धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।

शिक्षा, स्वास्थ्य, चेतना, उद्यमशिलता, सशक्तिकरण, नेतृत्व विकास, सीपमूलक कार्य गर्नका लागि तथा समाजमा रहेका विभिन्न समस्याहरुको पहिचान गरी समाधानका लागि जागरुकता ल्याई सामाजिक हितका लागि यो संस्थाको स्थापना गरिएको बताइएको छ ।

नारी संकल्पकी अध्यक्ष तुलसा मैनाली खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बिर्तामोडका नगर सभापति भोजराज सिटौला, नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाई, राप्रपा नगर अध्यक्ष शंकर रिजाल, पार्वता विमली खरेल, गोमा भट्टराई, निरज ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक १०१ वर्षीया जानुका सेढाईलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । नारीहरुको कार्यक्रममा ज्येष्ठ मातालाई सम्मान गर्दै आमाको ममताको विषयमा प्रशंसा समेत गरिएको थियो ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन मैनालीले प्रस्तुत गरेकी थिइन् भने कोषध्यक्षको प्रतिवेदन दीपा भण्डारीले प्रस्तुत गरेकी थिइन् । संस्थाको परिचय सदस्य नितिका प्रसाईले प्रस्तुत गरेको कार्यक्रममा स्वागत सह–सचिव आशा बानिया उप्रेतीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव हिमा प्रसाईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here