नेतृत्वको उदयः विकास र परिवर्तन

0
1150

 जय तिम्सिना,

१. विकास र परिवर्तनको अवधारणामा नेतृत्वको उदय :

विकास भनेको सकारात्मक परिवर्तन हो, आर्थिक वृद्धिसहितको आर्थिक र मानव विकास हो । निरन्तर प्रगति र उन्नतीको परिणाम हो विकास । विकासको समग्र प्रतिफलबाट लाभ लिइएको अवस्था जहाँ नागरिकहरुमा गुण्स्तरीय जीवन रहेको हुन्छ, प्रशस्त स्रोत र अधिकार हुन्छ, सामाजिक सम्मान हुन्छ, खुशी र स्वस्थ्य रहेको हुन्छ । व्यक्ति, समाज, समुदाय र संगठनको क्षमता, चेतना र धारणामा सकरात्मक रुपान्तरणको अवस्था नै परिवर्तन हो । सामाजिक, आर्थिक, वातावरणीय तथा आध्यात्मिक दृष्टिकोणमा विकास हुनुको अर्थ फरक–फरक हुने गर्दछ । बिकासलाई समृद्धिको अवधारणामा बुझ्दा खुशी हुनु, प्रशस्त धन–सम्पत्ति हुनु वा आफू वरिपरीको वातावरण स्वस्थ्य, सफा र सुरक्षित हुनु, सम्मान र सहयोगको भावना हुनु, सामाजिक न्यायको प्रत्याभूति हुनुलाई बुझ्न सकिन्छ ।

समृद्धिले दिगोरुपमा शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरण, यातायात, सञ्चार आदिमा नागरिकहरुको पहुँच र उपयोगलाई इंगित गर्दछ । स्वतन्त्रपूर्वक खुल्ला हृदयले व्यापार गर्न सकिने, राजनीतिमा भाग लिन सकिने, आप्mना कुरा राख्न सकिने वातावरण नै समृद्धि हो । समृद्धि भनेको आशा, भरोसा तथा विश्वासको माध्यम हो, आफूलाई सर्वश्रेष्ठ बनाउन सकिने अनुकूलता हो । त्यसैगरी रोजगारीको प्रशस्त अवसर रहेको, नवीन आविस्कारमा लाग्ने वातावरण भएको अवस्था समृद्धि हो । यो भोग, रोग र द्वन्द्वबाट मुक्त भएको अवस्था हो ।

समृद्धि हुनलाई नवीन आविस्कार (इनोभेसन) र नवीन प्रवर्तन, वैज्ञानिक सोचको विकास आवश्यक छ । नवीन प्रवर्तन केवल यन्त्र वा उपकरण मात्र होइन । हाम्रा विचार, काम, सोच र व्यवहारमा देखिनु पर्दछ । देश समृद्धि हुन पर्याप्त मानवीय तथा भौतिक पूँजी हुन आवश्यक छ । यसको समुचित परिचालनको लागि उपयुक्त संस्थाहरुको स्थापनाको लागि प्राविधिक ज्ञानको सृजना गर्न सकिन्छ । यसैगरी सुशिक्षित वा तालिम प्राप्त व्यक्तिहरुबाट प्रविधिहरुको पहिचान तथा खोज गरी प्रयोग गर्ने विधिलाई संस्थागत गर्नुपर्दछ । यी सबै कुराहरुलाई संस्थागत गर्ने, नियमन गर्ने तथा प्रभावकारी कार्यान्वयनका लागि भिजिनरी नेतृत्वको आवश्यकता अनिवार्य छ । समृद्धिलाई केवल आर्थिक रुपमा मात्र नहेरी व्यक्तिको समग्र विकासको सन्दर्भमा हेरिनु पर्दछ । कतिपयले विश्व खुशी सूचकांकमा राम्रो मानिने देशलाई समृद्ध देश हुन् भन्ने गरेको पाइन्छ ।

वल्र्ड ह्याप्पिनेश रेकर्ड २०१८ अनुसार नेपाल १०१औं स्थानमा छ । १५६ देशमा गरिएको यस अध्ययन अनुसार भारत हामीभन्दा निकै पछि १३३औं स्थानमा छ । खुशीका निम्ति सबैले नमूनाका रुपमा लिने भुटान नेपालभन्दा चार स्थान माथि ९७औं स्थानमा छ । केही देशहरुले धेरै छिटो विकास गरेको उदाहरणहरु पनि हामीसामु छन् । दोस्रो विश्वयुद्ध पछि जापान र जर्मनीले अचम्म किसिमले विकास गरे, जसको बृद्धि अमेरिकाको भन्दा उच्च थियो । विश्वयुद्धमा ध्वस्त भएका यी देशहरुको अवस्था नेपालमा भएको १० वर्षे जनयुद्ध र त्यसपछि १० वर्षे संक्रमणकालीन अवस्थासँग तुलना गर्न मिल्छ । के हामी पनि यस्तै विकासको गति बढाउन सक्छौं ? यदि यस्तै विकास बढाउने हो भने अब युवामा नेतृत्वसीपको बिकास हुनुपर्दछ अर्थात् नयाँ नेतृत्व उदाउनै पर्दछ ।

२. नेतृत्वको अवधारणा :

कुनै खास दिशातर्फ उन्मुख गराउन वा लक्ष्य प्राप्तिको लागि अरुको व्यवहारमा प्रभाव पार्ने क्षमतालाई नेतृत्व भनिन्छ । नेतृत्व प्रदान गर्ने व्यक्तिलाई नेता भनिन्छ । नेता हुनलाई नेताहरुको पछाडि अनुयायीहरु हुनुपर्दछ । अनुयायीहरुको विश्वासमा नेताको चयन हुन्छ । तर, नेता चयन गर्दैमा नेताले नेतृत्व प्रदान गरेको मानिँदैन । नेताले नेतृत्व तबमात्र प्रदान गरेको मानिन्छ जब उसले निर्दिष्ट गरेको लक्ष्य वा दिशातर्फ अनुयायीहरु उन्मुख भई उसको पछि लाग्ने गर्दछन् ।

प्रभावकारी नेतृत्वका लागि नेताहरुको फरक–फरक सोचाई हुन सक्दछ । कसैले समस्या सोचाई विधिबाट सोच्दछ भने कसैले रणनीतिक सोचाईबाट सोच्दछ भने कसैले एकीकृत सोचाई विधिबाट सोच्दछ । यी हाम्रा फरक–फरक सोचका विधिबाट फरक–फरक अवसरमा प्रयोग गरी नयाँ विचारको सूत्रपात गर्न सक्नु पर्दछ ।

३. नेतृत्वको अग्रसरताका लागि आवश्यक पर्ने तत्वहरु :

– हरेक चिज, वस्तु तथा परिवेशलाई स्क्यान गर्न सक्नु पर्दछ । सो स्क्यानिङबाट वस्तु स्थितिको पूर्णतः ज्ञान र जानकारी प्राप्त गर्न सकिन्छ । त्यहाँबाट प्राप्त जानकारी÷सूचनामा आाधारित भई के गर्ने भन्ने विषयमा अर्जुनदृष्टि बनाउनु पर्दछ । अथवा फोक्सिङ रहनु पर्दछ ।

– हामीले फोक्सिङ गरेको वा अर्जुनदृष्टि लगाएको विषय वा उद्देश्यलाई कार्यान्वयन गर्न सम्बन्धित सरोकारवालाहरुलाई संलग्न गराउने र परिचालन गर्ने क्षमता हुनुपर्दछ र आफू स्वयम् मोडेलको रुपमा अगाडि बढी आप्mना सबै अनुयायीहरु तथा संलग्न भएका सरोकारवालाहरुलाई अभिप्रेरित गर्ने गरी अगाडि बढ्नु पर्दछ । प्रभावकारी नेतृत्वका लागि दुरदृष्टिता चाहिन्छ ।

– समझदारी, जिम्मेदारी, इमान्दारी र वफादारी नेतृत्वका सूत्र हुन् । असल नेतामा उपयुक्त समयमा उचित निर्णय गर्ने सक्ने, जनता प्रति जवाफदेही हुने, पारदर्शिता, आर्दश जीवनशैली र चरित्रवान्, कुशल संगठन गर्ने, अनुयायीहरुलाई उत्प्रेरित गर्ने, गतिशिलता, मृदुभाषी, सहयोगी र सहजीकरण गर्न सक्ने, स्पष्टवक्ता, उद्यमशिलता र प्रभावकारी समन्वय र मध्यस्थता गर्न सक्ने गुण र क्षमता हुनुपर्दछ ।

४. नेतृत्व उदयका रणनीतिहरु

– देशभित्र नै प्रयाप्त रोजगारीहरु सृजना गरी युवाको वैदेशिक पलायनतालाई निरुत्साहित गर्ने ।

– प्राविधिक शिक्षा, उत्पादनमुखी शिक्षा र व्यवहारवादी शिक्षामा जोड दिई उद्यमशिलताको विकास गर्ने ।

– विधार्थीहरुलाई माध्यमिक तहदेखि नै समूह तथा संगठन सञ्चालन, समूह गतिशिलता, नेतृत्वसीपका विविध विषयहरुमा व्यवहारिक शिक्षा प्रदान गर्ने ।

– विद्यालयहरुमा नैतिक, आध्यात्मिक, कानूनी र सामाजिक सचेतना सम्बन्धी प्रशिक्षणहरु सञ्चालन गर्ने ।
– बालमैत्री समुदायहरु निर्माण गर्ने र बालक्लवहरु गठन तथा सञ्चालन गर्ने ।

– किशोर–किशोरी तथा युवा विकास सम्बन्धी गतिविधिहरु सञ्चालन गर्ने ।

– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सेमिनार सभा तथा सम्मेलनहरुमा भाग लिने । तथा राष्ट्रिय अन्तर्राष्ट्रिय सामाजिक संघ–संस्थाहरुको सदस्यता लिने ।

– भाषणकला, उद्घोषणकला, सहजीकरण सीप, मध्यस्थ्यता सीप तथा जीवन उपयोगी सीपहरु जस्ता क्षमता विकासका कार्यक्रमहरुमा सहभागी हुने ।

– सानैदेखि सामाजिक क्रियाकलापहरुमा सहभागी हुने, सहयोग र सहकार्य गर्ने बानीको विकास गर्ने ।

– देशको भूराजनीतिक अवस्थाको विश्लेषण गर्ने, विचार विमर्श गर्ने । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे अध्ययन गर्ने ।

– राजनीतिक दलहरुको दस्तावेजहरु, घोषणा पत्रहरु, नीतिहरुबारे अध्ययन र विश्लेषण गर्ने ।
– सूचना प्रविधीमैत्री, सामाजिक सञ्जालमैत्री र मिडियामैत्री भई सकारात्मक र सृजनात्मक विचारहरु सम्प्रेषण गर्ने ।
– सामाजिक न्याय र मानव अधिकारको वारेमा पैरवी गर्ने ।

– युवा, महिला, आदिवासी, जनजाति, दलित, मधेशी, अपाङ्गता भएकालाई सामाजिक जिम्मेवारीहरुमा समानुपातिकरुपमा प्रतिनिधित्व हुने व्यवस्थालाई सुनिश्चित गर्ने ।

५. नेतृत्वको उदयका लागि गर्नुपर्ने केही कार्यभारहरुः

– अत्याधुनिक सूचना प्रविधि तथा इन्टरनेट मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सूचनाको आदान–प्रदान गर्ने ।

– युवा सञ्जालमा आप्mनो पहुँच बढाई युवालाई देश विकासमा संलग्न गराउने वातावरणको विकास गर्ने ।

– एक युवा एक सृजनाको माध्यमबाट युवालाई नयाँ कुराको आविस्कार र विकास गर्न अभिप्रेरित गर्ने तथा सोको प्रभावकारी रुपमा प्रचार–प्रसार गर्ने ।

– केही नयाँ काममा खोज गर्न चाहनेलाई अभिप्रेरित गर्ने, त्यस्तो वातावरण मिलाई दिने, कुनै कानूनले सो गर्न नदिए सोको विश्लेषण गरी कानूनको दायरा समेत बढाउन लविङ्ग गर्ने ।

– परनिर्भरता हटाउन सानै कुरा नै किन नहोस् यदि कसैले केही गर्दछ भने त्यसलाई प्रोत्साहन गर्ने र आत्मनिर्भर हुन सहयोग पु¥याउने ।

– विज्ञान तथा प्रविधिलाई गाउँ तथा टोलको तल्लोस्तरसम्म पु¥याउने, यसलाई इनोभेसनसँग जोड्ने, सबैमा वैज्ञानिक सोचको विकास हुनुपर्ने कुरामा जोड दिने ।

– हरेक व्यक्तिलाई अत्यन्तै क्षमतावान र श्रृजनशील बनाउने, सबैले आप्mनो मस्तिष्कको उच्चतम् प्रयोग गर्न सक्ने वातावरणको श्रृजना गर्ने ।

– समाजका हरेक तह र स्तरमा नेतृत्व तथा व्यवस्थापनमा अभ्यस्त व्यक्तिहरुको सहयोगमा सामाजिक रुपान्तरण कार्यलाई अगाडि बढाउने ।

– गरिबीविरुद्ध लड्न सक्ने सर्वाङ्गिण सोच भएका समूहहरुको विकास गर्ने ।

– कृषि÷वातावरणीय पर्यटनलाई प्रश्रय दिँदै कृषि तथा पर्यटनको अभिवृद्धि गर्ने कार्यमा ध्यान दिने ।

– स्थानीयस्तरमा आवश्यक पर्ने सबै वस्तुहरु यथासम्भव स्थानीयस्तरमा नै उत्पादन गर्ने अनुकूलता श्रृजना गर्ने ।

स्थानीयस्तरमा उपलब्ध स्रोतहरुमा आधारित साना–ठूला उद्योगहरु स्थापना गरी स्थानीय आपूर्ति–पूर्ति गर्दै स्थानीयस्तरमा नै रोजगारी श्रृजना गर्ने, सबैलाई व्यवसायिक हुन प्रेरित गर्ने ।

– गाउँ–गाउँ, शहर–शहरबीच स्वस्थ्य प्रतिष्पर्धा गर्ने वातावरणको श्रृजना गर्ने, पर्यटक, आविस्कारक, लगानीकर्ता आदिलाई आकर्षण गर्ने उपाय खोज्ने ।

– आप्mनो क्षेत्रको समृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्भावना तथा सहयोगको खोजीलाई तिव्रता दिने, वन वनस्पति जोगाएर वा कार्वन सञ्चित गरेर आउन सक्ने बाहिरी सहयोगको प्राप्तिमा जोड दिने ।

– प्रांगारिक खेती प्रणालीमा जोड दिने, रसायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्न प्रतिवद्ध हुने ।

– स्थानीय स्तरमा नै प्राणी तथा वानस्पातिक, विज्ञान पार्क आदिको व्यवस्था गरी सानो उमेरदेखि नै सबैलाई जिज्ञासु हुन प्रेरित गर्ने ।

६. नेतृत्वको उदयको लागि  देखिएका केही चुनौतिहरु

– दक्ष र शिक्षित युवाको वैदेशिक पलायन रोक्न नसक्नु ।

– युवामा वैज्ञानिक र रणनीतिक सोचको प्रवद्धन गर्न नसक्नु ।

– उद्यमशिलताको अभाव र वेरोजगारीको संख्यामा बढोत्तरीको अवस्था विधमान रहनु ।

– अझैसम्म पुराना पुस्ताको हालिमुहाली चल्नु र नयाँ पिढीप्रति विश्वस्त हुन नसक्नु ।

– राजनीतिक परिवर्तनलाई सुशासन र समृद्धिसँग जोड्न नसक्नु ।

– नयाँ प्रविधि, आविस्कार र सृजनाका लागि युवामा जागरुकता ल्याउन नसक्नु ।

– राजनीतिक दलहरुको आन्तरिक संरचनाहरुमा लोकतन्त्रीय पद्धती, कार्यविभाजन, जिम्मेवारीका पक्षहरु कमजोर हुनु ।
– जनजागरण, समाज परिचालन र समावेशिकरणका मुद्दाहरुलाई राजनीतिक दलहरुले बेवस्ता गर्नु ।

– सकारात्मक र सहभागितामूलक नेतृत्वशैलीलाई नजरअन्दाज गर्ने प्रवृतिमा वृद्धि हुनु ।

– जातीय, धार्मिक र साम्प्रादायिक मुद्दाहरुमा नेतृत्व रुमलिनु ।

– नेतृत्व विकासका लागि आवश्यक शिक्षा, प्रशिक्षण, तालिम तथा अवसरहरु अप्रयाप्त हुनु ।

– सहभागितामूलक तथा लोकतान्त्रिक नेतृत्वको चयनभन्दा चमत्कारिक नेतृत्वको अपेक्षा (देवत्वकरण गर्ने) प्रवृत्ति अभिवृद्धि हुनु ।

– आफ्नो पेशा र सेवा कसरी गुणस्तरीय बनाउनेभन्दा अर्काको पेशा र सेवाको नकरात्मक आलोचनामा समय खर्चिनु ।
– सामाजिक सञ्जाल र मिडियाहरुको दुरुपयोगमा अभिवृद्धि हुनु ।

– राजनीतिप्रति नकरात्मकता बढ्दै जानु ।

६) निष्कर्ष

नेतृत्वसँग विषयवस्तु र परिस्थितिको स्क्यानिङ गर्ने, लक्ष्य र उद्देश्यमा फोकस हुने, लक्ष्य र उद्देश्य कार्यान्वयन गर्न सबैलाई परिचालन गर्ने र सोका लागि नेतृत्व स्वयम् आदर्शको रुपमा अगाडि बढ्ने सीप, व्यवहार, प्रवृत्ति र प्रशंसायुक्त दृष्टिकोणको विकास गर्नुपर्दछ ।

सकारात्मक सोचबाट मात्रै शतप्रतिशत कार्य (एक्सन) गर्न सकिन्छ र शतप्रतिशत कार्यबाट मात्र शतप्रतिशत परिणाम (रिजल्ट) प्राप्त गर्न सकिन्छ । कुनै पनि नेतृत्वको विलिफ, विहेवियर र विजनेश समानुभूतिपूर्ण रुपबाट अगाडि बढ्यो भने मात्र प्रभावकारी नेतृत्व स्थापित हुन सक्दछ ।

अल्बर्ट आईन्स्टाईन्सले भनेका छन्– जुन दिमागले समस्या श्रृजना ग¥यो त्यही दिमागले समस्या समाधान गर्न सक्दैन । हामी हरेक व्यक्तिमा कुनै न कुनै काम गर्ने अदम्य साहस हुन्छ, यसलाई हामीले चिनेर आफूमा भएको अथाह शक्तिलाई बाहिर निकाली त्यसको प्रयोग गर्न सकियो भने हामीमा नेतृत्वको उदय हुन सक्दछ ।

देशको समृद्धि र विकासका लागि युवाले आ–आफ्नो स्थानबाट स्वअभिप्रेरित भई आ–आफ्नो पेशा, संगठन र समुदायमा नयाँ नेतृत्वको लागि तयार हुनुपर्दछ । युवा नेतृत्वका लागि हामी सबै तत्पर र क्रियाशील हौं ।
(तिम्सिना भद्रपुर जेसीजका पूर्व अध्यक्ष हुन् ।) भद्रपुर जेसीजको आतिथ्यमा भएको क्षेत्र (क) सम्मेलनको थिम सेमिनारमा प्रस्तुत गरिएको कार्यपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here