विषयको गाम्भीर्य बुझ


२२ भाद्र २०७६, आईतवार ०५:५३ मा प्रकासित

भारत पश्चिम बंगालको शिलगढीदेखि काठमाडौंसम्म सिधा बस सेवा सञ्चालन भएको छ । भर्खरै शुरु भएको यो सेवाका कारण भारतको दार्जीलिङ, सिक्किम लगायतका सीमावर्ती क्षेत्रका बासिन्दालाई काठमाडौं जान–आउन सहज भएको छ ।

Advertisement

भाषिक, सांस्कृतिक, धार्मिक तथा व्यावहारिक निकटताले नेपालीहरु भारत जान र भारतीयहरु नेपाल आउन सक्छन् । दुई देशबीच सन् १९५० मा भएको सन्धिले पनि यी दुई देशका नागरिकलाई आवागमनमा अरु कानूनी वा वैधानिक झन्झट व्यहोर्नु पर्दैन । यसकारण पनि भर्खरै सेवा प्रारम्भ गरेको सिधा बस सेवाले सीमाक्षेत्रका मात्र होइन बागडोग्रा विमानस्थल हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरुका लागि समेत सुविधा र सहुलियत भएको हुनुपर्छ ।

भारतीय बसले दिने यो सेवाका कारण भारतीय पर्यटकहरुले अब काठमाडौं जानकै लागि काँकरभिट्टा आउनुपर्ने बाध्यता हटेको छ। जसका कारण भारतीय यात्रुहरुलाई लक्षित गर्दै लाखौं रुपैयाँ ऋण लिएर काँकरभिट्टा–काठमाडौं बस तथा माइक्रोबस सेवा सञ्चालन गरिरहेका व्यवसायीहरुको पेशामाथि भने संकट उत्पन्न भएको छ । त्यसैगरी भारतीय पर्यटकलाई लक्ष्य बनाएर स्थापित होटेल, ट्राभल एजेन्सी तथा व्यवसायीहरुको पेशा–व्यवसाय पनि संकटमा परेको छ । यसले सीमान्त बजार काँकरभिट्टाको गतिविधि सुस्त हुने, समस्त पूर्वी–क्षेत्रमा नकारात्मक असर पर्ने र आर्थिक क्रियाकलाप ठप्प हुने भन्दै स्थानीय व्यवसायीहरु यसको विरोधमा उत्रिएका छन् ।

नेपाल–भारतमैत्री यातायात सञ्चालनका लागि दुई देशबीच भएको सम्झौतामा नेपाल र भारतका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेका शहरबीच सिधा बस सेवा सञ्चालन गर्ने सहमति भएको थियो । त्यही सहमतिलाई टेकेर नयाँ सेवा शुरु भएको बताइन्छ । तर, यसले नकारात्मक असर मात्र दिने भन्दै स्थानीय व्यवसायीले काँकरभिट्टा बचाऊ सरोकार समिति गठन गरेर काँकरभिट्टामा विरोध प्रदर्शन गरेका छन् । शिलगढी न धार्मिक, न पर्यटकीय न त ऐतिहासिक महत्व बोकेको शहर हो भन्दै प्रदर्शनकारीले दुई देशबीचको सहमतिको अपब्याख्या गरेको आरोप समेत लगाएका छन् ।

स्वतन्त्रपूर्वक आवागमन गर्न पाउनु नागरिकको जन्मसिद्ध अधिकार हो । त्यसलाई कुनै नाम वा बहानामा अवरोध गर्न पाइँदैन । तर, गैरनेपालीलाई त्यही कुरा अधिकार हुन सक्दैन । अनि पनि यी दुई देशबीच विगतमा भएको सम्झौता अनुसार स्वतन्त्र आवागमन गर्ने छुट छ । तर, नेपाली सवारीहरु भने भारतमा निर्वाध र स्वतन्त्र प्रवेश गर्न पाउँदैनन् जसरी भारतीय सवारी नेपाली भूमिमा जसरी प्रवेश गर्न, बस्न र घुमफिर गर्न पाउँछन् । सहमति दुबै पक्षका लागि समान अवसरका लागि हुनुपर्ने हो । अहिले काँकरभिट्टाका व्यवसायी आन्दोलित छन्– सिधा बस सेवा सञ्चालनको विरोधमा ।

त्यस्तो सेवाले पार्न सक्ने नकारात्मक असरलाई सहमति गर्ने पक्षले बेलैमा आँकलन गर्नुपथ्र्यो । कि नेपाली बस तथा अन्य सवारीहरुले पनि भारत प्रवेशको निर्वाध अनुमति पाउनुपर्छ । अन्यथा यो सानो झिल्कोका रुपमा प्रकट भएको विरोध र विद्रोह सरकारको टाउको दुखाइको विषय हुनसक्छ, सम्बद्ध पक्षलाई चेतना होस् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्