भाइरल ज्वरोले किशोरीको मृत्यु

२३ भाद्र २०७६, सोमबार मा प्रकाशित

जाजरकोट,

जाजरकोटमा भाइरल ज्वरोले एक किशोरीको मृत्यु भएको छ । बारेकोट गाउँपालिका–६ टाँसीधुमा घर भई सदरमुकाम खलङ्गा थाप्लेमा बस्दै आएकी १४ वर्षिया आशा विकको आज मृत्यु भएको हो ।

ज्वरो आउने, घाँटी, टाउको र हातखुट्टा दुख्नेलगायत समस्या देखिएपछि उनी जिल्ला अस्पतालमा साताअघि उपचारका लागि भर्ना भएकी थिइन् । सातासम्म पनि उनको अवस्थामा सुधार नआएपछि अस्पतालले नेपालगञ्ज ‘रिफर’ गरेको थियो ।

उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको आफन्त गणेश विकले बताउनुभयो । आशा खलङ्गाको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनका बाबुआमा मजदुरीका लागि पाँच वर्षदेखि भारतको हिमाञ्चलमा बस्दै आएका छन् ।

केही दिनयता जिल्ला अस्पताल र संस्थाहरुमा भाइरल ज्वरोका बिरामी बढेको स्वास्थ्यकर्मीले बताएका छन् । जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउने गरेकोमा आधा बिरामी भाइरल ज्वरोका आउने गरेको डा केशर कार्कीले बताउनुभयो ।

बिरामी बढ्दै गएको तर औषधिको ‘स्टक’ सकिँदै गएकाले समस्या हुन थालेको उहाँले बताउनुभयो । मौसम परिवर्तनको समय भएकाले खानपिनमा उचित ध्यान दिन र बिरामी हुनेबित्तिकै नजिकको स्वास्थ्य संस्था जान उहाँले आग्रह गर्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here