घोषणा कार्यान्वयन गर

२४ भाद्र २०७६, मंगलवार मा प्रकाशित

स्थानीय सरकार भनेर पालिकाहरुलाई भनिन्छ हिजोआज । पालिका अर्थात् गाउँ तथा नगरपालिकाहरुको क्षेत्र पहिलाभन्दा ठूलो भएको छ । तिनको कार्यक्षेत्र व्यापक भए जस्तै अधिकार पनि थपिएको छ । संघीयताको कार्यान्वयनले क्षेत्राधिकार बढोत्तरी भई जनप्रतिनिधिहरुको पहुँच र शक्ति पनि बढेको छ । जसका कारण केन्द्र वा जिल्लाको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ भने विकास निर्माणका काम उनीहरुकै प्राथमिकताका आधारमा निर्देशित हुन्छन् ।

यसरी वडा प्रमुखदेखि पालिका प्रमुखसम्मका जनप्रतिनिधि अधिकारदेखि सुविधासम्पन्न भइरहेका छन् । बहुदलीय शासन व्यवस्थामा जनप्रतिनिधिहरु आफ्नो खाएर जनताको सेवा गर्थे भने संघीयताले तलबी कर्मचारी बनाएको छ उनीहरुलाई । अझ स्वनिर्णयले सेवासुविधा बढाउने र लिने परिपाटीको विकास हुन थालेको छ, यसले गन्तव्य अनिश्चित हो कि ! भन्ने शंका, भय र अविश्वास पनि जगाउन थालेको छ ।

एउटा पालिका र अर्को पालिकाबीच समन्वय छैन न त कुनै कुरा अनुशरण योग्य मानिन्छ । प्रत्येकले आ–आफ्नै खुशी र ढंगले नीति तथा कार्यक्रम घोषणा गरेका छन् । यस्तो देखिन्छ कि उनीहरुको गतिविधि, काम–कारवाही र कार्यक्रमहरुको अनुगमन तथा नियमन गर्ने नै कोही छैन । बजेट, कार्यक्रम तथा नीति सार्वजनिक गर्दा अनपेक्षित र महत्वाकांक्षी योजना सार्वजनिक गरिन्छ, त्यसको कार्यान्वयन समयावधि सकिँदा समेत उठानकै विन्दूमा हुन्छ । त्यस्तै भएको छ बिर्तामोडको फोहर, शौचालय र कृषिथोक बजारको व्यवस्थापनको विषय । बिर्तामोड नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बनेको नियम र कार्यविधिको परिधिमा रहेर नगरसभाबाट पारित गरेको सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्धता प्रतिद्धतामै सीमित छ । बिर्तामोड जिल्लाकै प्रमुख व्यापारिक केन्द्र हो, यहाँको घनत्व पनि धेरै छ र, आवागमनको दर पनि त्यत्तिकै बढी छ । तर, बजार भर्न आउने वा आवागमन गर्नेहरुका लागि सार्वजनिक शौचालय नहुँदा यात्रु लगायतका सबैले भोगेको सास्तीले सबैलाई दुख्नु पर्दछ ।

त्यसैगरी नगरपालिकाले घोषणा गरेको फोहरको व्यवस्थापन, अग्र्यानिक बिर्तामोड लगायत कृषिथोक बजारको सुव्यवस्थापन र स्तरोन्नतिको कुरा अझै सुन्दर भाषामा सीमित छ । उम्मेदवारहरुले निर्वाचनताका प्रतिबद्धता जाहेर गरे, हार्ने बाहिरिए जो भित्रिए उनले पनि बिर्सिए । परिणाम फोहर सर्वत्र छरपष्ट छ । स्थानीयबासीले समेत आफ्नो घर र कोठाबाट बाहिर लानासाथ दायित्व बिर्सिए, सडक किनार, खोलाको किनार र कतिले त खोलामै फोहर विसर्जन गरिरहेका छन् । आफू पानी माथिको ओभानो भएको दाबी गर्दैछन् ।

मानिसको आचार–विचार, व्यवहारले सभ्यताको संकेत गर्छ । अर्थात् प्रत्येक व्यक्ति आफूले नै सभ्य बन्ने प्रयास गर्नुपर्छ । त्यसका लागि फोहर उत्पन्न गर्ने वस्तुको प्रयोग, उत्सर्जन र व्यवस्थापनमा आफैं जिम्मेवार र सचेत हुनुपर्छ । त्यसपछि मात्र पालिका वा प्रतिनिधिको जिम्मेवारी देखिने छ । बिर्तामोडमा उत्पन्न फोहर अन्य कुनै पालिकाबाट ल्याएको होइन यो सबैले बुझ्नु जरुरी छ । प्रत्येकको चेतना र सजगताले प्रदुषणबाट हुने तत्कालीन र दीर्घकालीन असर कम गर्न सहयोग पुग्नेछ ।

स्थानीय सरकार स्थानीयबासीको संरक्षक हो । उसले संरक्षकको भूमिका र दायित्व निर्वाह गर्नैपर्छ । त्यसका लागि कर्तव्य र अधिकारको सन्तुलित उपयोग गर्ने, सकेसम्म सेवाभाव र सुविधासम्पन्न नागरिक बनाउने लक्ष्य केन्द्रमा राख्नु पर्दछ । बिर्तामोड शिक्षा, स्वास्थ्य, अर्थ, राजनीति र भौतिक विकासका दृष्टिले मात्र होइन सभ्यता, सौन्दर्य, सचेतनाका आँखाले पनि महत्वको पाकिला बन्नु पर्दछ । त्यसका लागि सस्तो लोकप्रियता बटुल्ने बाटो, नाला निर्माण गर्ने कामभन्दा सुदूरपूर्वको लक्ष्यमा केन्द्रीत गर्नुपर्छ । अव्यवस्थाको पहाडले थिचेको छ बिर्तामोडलाई । अव्यवस्थित, योजनारहित र आफू खुशी निर्माण भएको बिर्तामोडलाई व्यवस्थित गर्न काटमार नियन्त्रण गर्ने, सार्वजनिक शौचालय बनाउने, प्रदुषण व्यवस्थापन गर्ने, दीर्घकालीन र दिगो विकासको परिणाम प्राप्त हुने योजना र कार्यक्रमको प्रतिबद्ध अग्रसरता चाहिएको छ । स्थानीय सरकार यसप्रति सचेत र सजग होस् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here