मह प्रशोधन केन्द्र स्थापना

0
840

जाजरकोट,

महको पकेट क्षेत्रका रुपमा रहेको जिल्लाको नलगाड नगरपालिका–२ छेप्कामा मह प्रशोधन केन्द्र स्थापना भएको छ ।

नगरपालिकाका वडा नं १, २, ३ र ४ मा बढी मह उत्पादन हुने भएपछि यहाँ प्रशोधन केन्द्र स्थापना गरिएको हो । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु ५० लाख सहयोगमा उक्त प्रशोधन केन्द्र निर्माण गरिएको हो ।

जिल्लालाई माहुरी जोनका रुपमा स्थापना गरी काम शुरु भएसँगै नलगाडमा प्रशोधन केन्द्र स्थापना गरिएको बताइएको छ । नगरपालिकाले पनि यो क्षेत्रलाई महको पकेट क्षेत्र घोषणा गरेको छ । किसानको आर्थिकरुपमा जीवनस्तर उकास्न यहाँ प्रशोधन केन्द्र स्थापना गरिएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो ।

यस क्षेत्रमा तीन हजार २०० भन्दा बढी घरधुरीले मौरीबाट मह उत्पादन गर्ने स्थानीय सेते बुढाले बताउनुभयो । जाजरकोट–डोल्पा सडकखण्डभित्र पर्ने यो क्षेत्र व्यापारिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो ।

सो प्रशोधन केन्द्र ज्वाला साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको छ । योभन्दा पहिले मह प्रशोधन नगरी कृषकले बिक्री, वितरण गर्दै आएका थिए । प्रशोधन केन्द्र स्थापनासँगै यहाँका किसानले घर नजिकै मह प्रशोधन गरेर बजारीकरण गर्ने बताएका छन् ।

जाजरकोट, रुकुम र डोल्पाका स्थानीयवासीले यहाँ मह प्रशोधन गर्न पाउने सहकारीकी प्रबन्धक चन्द्रा थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here