काङ्ग्रेसको दोस्रो चरणको जागरण अभियान प्रारम्भ

0
708

भीष्मराज ओझा / काठमाडौँ,

नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आजदेखि मुलुकभर एकसाथ प्रारम्भ भएको छ ।

जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान आजदेखि प्रारम्भ भई आगामी असोज ७ गते समापन हुनेछ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ ।

जसअनुसार आज बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको देशव्यापीरूपमा उद्घाटन गरिएको छ । अभियानको उद्घाटनमा सम्बोधन गर्न काङ्ग्रेसका केन्द्रीय पदाधिकारीसमेत विभिन्न जिल्लामा खटिनुभएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सुनसरीमा सभापति शेरबहादुर देउवा, कास्कीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, धनुषामा उपसभापति विमलेन्द्र निधि, सुनसरीमा उपसभापति विजयकुमार गच्छदार, मकवानपुरमा महामन्त्री डा शशाङ्क कोइराला, भक्तपुरमा महामन्त्री पूर्णबहादुर खड्का तथा काठमाडौँंमा कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नुहुनेछ ।

अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य रहेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । अभियानका लागि काङ्ग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक÷एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाइएको छ । प्रवक्ता शर्माले भन्नुभयो, “अभियानका औपचारिक कार्यक्रम छरितो हुने र वक्ता सीमित सङ्ख्या तथा बढी अन्तक्र्रियात्मक हुनेछन् । अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका कार्यक्रम निर्धारण गरिएको छ ।”

अभियानका क्रममा नागरिक पङ्क्तिमा स्थानीय तहमा वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरूद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिनेछन् । अभियानका कार्यक्रममध्ये वडास्तरीय अन्तक्र्रियामा पार्टी सुदृढीकरण र प्रभाव विस्तारका सन्दर्भमा गाउँ–गाउँमा रहेका नेता कार्यकर्ताको भावना बुझ्न महत्वपूर्ण हुने काङ्ग्रेसको बुझाइ छ ।

वडाको विकास निर्माणमा पार्टीको भूमिका, गाउँ–नगरपालिकाको कार्य समीक्षा तथा समग्रमा काङ्ग्रेस सुदृढीकरणका लागि आवश्यक कार्यबारे वडास्तरीय विशेष छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो । जागरण अभियानका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य नेताकार्यकर्ता आजको स्थिति बुझ्न पार्टीका अग्रज, तथा शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उहाँहरूको घरमा पुग्ने कार्यक्रम तय गरिएको छ ।

यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिनेछ । साथै काङ्ग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरूप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वाचित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि अन्तक्र्रिया हुने बताइएको छ ।

जागरण अभियानका क्रममा पार्टीका सबै जिल्ला कार्यसमितिले अभिलेख सङ्कलनलाई गति दिने, सबै प्रदेश क्षेत्रमा युवा केन्द्रित विशेष संवादको सहजीकरण गर्ने, प्रदेशसभा क्षेत्रका जागरण कार्यक्रमको आवश्यक समन्वय गर्ने, असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय जनप्रदर्शनको गरिनेछ । अभियानका क्रममा पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले अभियान सफल बनाउन तोकिएका कार्यक्रममा आफ्नो संयन्त्र परिचालन गर्नेछन् ।

नेपाली जनसम्पर्क समितिहरूले विदेशमा रहेका सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै राजदूतावास र कन्सुलेटमार्फत सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेश गर्नेछन् । काठमाडौँमा रहेका पार्टीका जिल्ला सम्पर्क समितिहरूले जागरण अभियानका क्रममा अभियानको प्रचारका लागि भूमिका निर्वाह गर्नेछन् ।

जागरण अभियानको अवधिमा पर्ने संविधान दिवस असोज ३ गते विभिन्न कार्यक्रम गर्ने, जागरणको अन्तिम दिन असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने उहाँले बताउनुभयो ।

यसअघि काङ्ग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here