ओली नेतृत्वको सरकार संस्थागत भ्रष्टचारमा फस्यो– प्रवक्ता लावती

0
452

लक्ष्मी उप्रेती / मेचीनगर,

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय प्रवक्ता सगुनसुन्दर लावतीले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार संस्थागतरुपमा भ्रष्टचारमा फसेको आरोप लगाएका छन् ।

नेता लावतीले मुलुकमा अहिले भ्रष्टचार र वेथिति बढेको, देश आर्थिक रुपमा जर्जर हुँदै गएको आरोप समेत लगाए । ‘अहिलेसम्मकै बलियो दुई तिहाइको नेकपा सरमारलाई नेपाली जनताले मौका दिएका थिए’ मंगलबार पार्टीको मेचीनगर समितिले झापाको चारआलीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दैं पार्टीको प्रदेश नम्बर १ समायोजन समितिका संयोजक समेत रहेका नेता लावतीले भने —‘तर नेकपाको दुइ तिहाइको सरकारमा बढी दम्भ भयो जनताको अपेक्षा अनुसार काम गर्न सकेन ।’ लावतीले ओली सरकारको गलत नीतिका कारण अर्थतन्त्र धराशायी हुने दिशामा अघि बढेको बताए ।

मुलुकमा सम्पन्न तीन तहको निर्वाचनअघि सिहंदरवारको अधिकार गाउँ गाउँमा पुर्याउने भन्दैं प्रचार गरिएपनि अहिले सिहंदरवार नभएर हरेक गाउँ शहरमा भ्रष्टचार मौलाएको उनले टिप्पणी गरे । भ्रष्टचारले नेपालमा सीमा नाघेको प्रष्ट पादैं अहिले हरेक गाउँ शहरमा सिहंदरवारको अधिकार नभएर भ्रष्टचार, विकृति, विसंगतिमात्र नेपाली जनताले प्राप्त गर्न सकेको उनको भनाई थियो । संघीय सरकारको हरेक गतिविधिले संघीय नेतृत्व भ्रष्टचारलाई संस्थागत गदै अघि बढ्न व्यस्त रहेको नेता लावतीको टिप्पणी थियो । वर्तमान सरकारले मुलुकको विकास र प्रगतिका लागि केही पनि गर्न नसकेको उनको निष्कर्ष थियो ।

जनताको अमूल्य मत प्राप्त गर्दै अहिले तीनै तहको सरकारमा नेतृत्व सम्हाल्न पुगेका जनप्रतिनिधिहरुले जनताभन्दा पनि आफ्नो पार्टीको कार्यकर्ता तथा अन्य नाता सम्बन्धका आधारमा पूर्वाग्राही ढंगले काम गर्ने गरेको समेत बताए । उनले ओली सरकारले भ्रष्टचार, कुशासन, र अधिनायकवाद उन्मुख शासनशैली बाहेक नेपाली जनतालाई केही दिन नसकेको भन्दैं सरकारको आलोचना गरे ।

शुरुमा नयाँ नेपालको नारा दिएर अन्य दलका नेताले जनतालाई झुक्याएरको भन्दैं उहाँले नयाँ नेपाल भन्दैं गर्दा जात, जनजाति, लिङ्ग, वर्ग, क्षेत्रलाई शासन सत्तामा पुर्याउने वाचाका साथ सपना बाडेपनि नयाँ नेपालको यो नाराले अब नयाँ पुस्ता, युवा तथा यो देशका आम शोषित पीडित, अल्पसंख्यक, पिछडिएका जाति, जनजाति, वर्ग, समुदायलाई सम्बोधन गर्न नसक्ने तथा थेक्नै नसक्ने दावी गरे । वर्तमान ओली नेतृत्वको सरकारले लोकतन्त्र र प्रजातन्त्रका नाममा नेपाली जनतालाई आर्थिक भार बोक्न बाँध्य बनाएको आरोप समेत लगाए ।

कञ्चनपुरकी वालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा अहिलेसम्म सरकारले दोषीलाई पक्राउ गर्न नसकेको, निर्मलालाई न्याय दिन असफल भएको, सुन काण्ड वाइडवडी काण्डलगायत अन्तगिन्ती काण्डले ओली नेतृत्वको सरकार असफल भएको उनको आरोप थियो । अब नेपाली जनता यो सरकारबाट वाक्कदिक्क भइसकेकाले ओली सरकारको कुशासनबाट आक्रोशित नेपाली जनताले विकल्प खोजीरहेको भन्दैं नेता लावतीले अब राष्ट्रवादी र सम्वद्र्घनवादी शक्तिको स्थान खुला रहेको ठहर गरे ।

उनले समान विचारधार भएका दल, समुह र व्यक्तिसँग एकता सहकार्य हुने समेत संकेत गरे । ओली नेतृत्व सरकारको अहिलेसम्मको विकासक्रम, जनताको चाहना, घटनाक्रम, राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय घटनाक्रमले पनि यो देशले एउटा परिवर्तन खोजीरहेको दावी गरे ।‘यो सरकारको हरेक गतिविधिका कारण जनतामा निराशा पैदा भएको र आक्रोश समेत बढ्दै गएको छ ’ बोल्ने क्रममा उनले भने —‘जनता अब पर्खेर बस्नेवाला छैनन् गुठी विधेयक र रवि लामिछाने प्रकरणमा जनताको आक्रोश वाहिर आएको पुष्टि हुन्छ ।’

राजसंस्थासहितको प्रजातन्त्रको पक्षमा पार्टी रहेको भन्दैं उनले राष्ट्रपतिको भूमिका समेत निष्पक्ष हुनुपर्नेमा जोड दिए । संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्रको सवालमा संविधानप्रति राप्रपा संयुक्तको विमति छ । अब नेपालमा राजसंस्थाको आवश्यकता रहेको भन्दैं उनले आम नेपाली जनताको चाहाना बमोजिम राजसंस्था र सनातन हिन्दु राष्ट्रको लागि सवैजना एक ढिक्का हुन समेत आग्रह गरे ।

संविधान प्रदत्त अधिकार प्रयोग गदैं देशको रक्षा र जनताको चाहना बमोजिम संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रका लागि अघि बढ्न समेत सवैमा आग्रह गरे । ‘सवैलाई स्वीकार्य हुने राजसंस्था आजको आवश्यता हो ’नेता लावतीले भने —‘ अब पार्टीले तिहारपछि सनातन हिन्दु संस्कृति संरक्षण अभियान सञ्चालन गर्ने र सीताको जन्मस्थल जनकपुरधामबाट आरम्भ भएर सीताको समाधिस्थल त्रिवेणीधाम हुँदै भगवान बुद्घकोे जन्मस्थल लुम्बिनि पुगेर समापन हुने छ । ’ उनले पार्टीको सिद्घान्त, आदर्श, लक्ष्य प्राप्तका लागि सवै नेता कार्यकर्तालाई एक हुन आग्रह गरे ।

पार्टीको मेचीनगर अध्यक्ष नरेश महराले केन्द्रीय नेतृत्वले जिल्ला, क्षेत्रलगायत सवै तहमा अब प्रशिक्षणको खाँचो औल्याए । पार्टीका जिल्ला प्रवक्ता लक्ष्मीप्रसाद ढकालले अब केन्द्रीय नेतृत्वले कहि कतै बाटो नविराई पार्टीलाई चलायमान बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको सञ्चालन पार्टीका जिल्ला सचिव निरबहादुर कार्की नेत्रले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here