हिंसा समाधान होइन


२५ भाद्र २०७६, बुधबार ०५:४७ मा प्रकासित

नेकपा माओवादी विप्लब समूहलाई सरकारले प्रतिबन्ध लगाएपछिका दिनहरु आम जनताका लागि भयमिश्रित, अनिश्चित र दुःखदायी हुन थालेका छन् । अगुल्टोले हानिएका जनताले बिजुली चम्किँदा तर्सिनु, डराउनु, अनिश्चय र दुःखको अनुभूत गर्नु स्वभाविक हो । एक दशकसम्म माओवादीले गरेको सशस्त्र आन्दोलनले क्षतिग्रस्त भौतिक संरचना, व्यक्ति हत्या, लुटपाट र चन्दा आतंकले छियाछिया भएको देश र जनताको मन त्यसकै पुनरावृत्ति हुने आशंकाले भयभित हुन थालेको हुनसक्छ । पछिल्लो पटक झापाको बिर्तामोड नगरपालिकाको चारपानेमा निर्माणाधीन अवस्थाको सहारा नेपालको भवनमा बस बिष्फोट भयो । त्यही दिन गौरादह नगरपालिकाका प्रशासकीय अधिकृतले प्रयोग गर्ने सवारीसाधनमा विष्फोट भयो । विस्फोटको श्रृंखलामा थपिएको यो घटनाले आम जनतामा असुरक्षाको अनुभूति गराएको छ ।

Advertisement

बम विष्फोटको जिम्मा कसैले लिएको छैन । तर, विष्फोटको प्रकृतिले विप्लव नेतृत्वको नेकपाले गराएको हुनसक्ने देखाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले पनि सोही समूहले संलग्नका रहेको हुनसक्ने बताएपछि घटना त्यतैतिरबाट गराइएको हुनसक्ने शंकामा जोड मिलेको छ । यसअघि पनि बिर्तामोड नगरपालिकाको वडा नं. ७, ८ र ९ को वडा कार्यालयमा विष्फोट भएको थियो । यो बाहेक देशका विभिन्न भागमा दिनहुँजसो विष्फोट, चन्दा र घाकधम्कीका घटनाहरु भइरहेका छन् । जसका कारण आम जनताले विश्वासयोग्य सुरक्षा व्यवस्थाको माग गर्नुपरेको छ ।

त्यसो त लामो द्वन्द्व र सशस्त्र हिंसाले बानी पनि परेको छ नेपालीलाई । राजकीय सत्ता परिवर्तनका नाममा, व्यवस्था पुनस्र्थापना वा आफ्नो विचारलाई विजयी गराउने नाममा धेरै आन्दोलनहरुसँग साक्षात्कार भएका छन् नेपाली । यसले कैयौं टुहुरा भए, कतिको सिन्दर पुछियो, कति सन्तानविहीन भए त कतिको सर्वस्व सकियो । तर, त्यसले दिएको परिणाम फेरि पनि जनताको पक्षमा देखिएन र फेरि आन्दोलन गरिए । यस्ता हिंसाजन्य आन्दोलन वा सशस्त्र द्वन्द्वले लाभभन्दा बढी हानी नै गरेको छ । लाभ नेतृत्व वर्गले लिएका छन् भने पछि लाग्नेहरु भाग्यमा भर परेर बसेका छन् । अहिलेको विस्फोट जस्ता घटना पनि त्यही आन्दोलनको निरन्तरता हो भने यसबाट पनि जनताले केही पाउने छैनन् । यो जनताका लागि ‘पाडापाडी जे पाए पनि विगौती’ मात्रै हुनेछ ।

हतियारसहितको आन्दोलन वा विष्फोट जस्ता आन्दोलनका रुपले दीर्घकालीन उपलब्धि दिँदैन । यसले कतै न कतैबाट जनताको र अन्ततः देशको हानी हुन्छ । देशको ढिकुटी भनेकै जनताको खुन–पसिनाबाट निर्माण भएको हुन्छ । त्यसकारण पनि ढिकुटीमा घुन लाग्नु, क्षति हुनु वा नष्ट गरिनुले जनताकै पसिना व्यर्थ हुन्छ । तसर्थ, सरकारले विद्रोहमा रहेको समूहलाई वार्तामा ल्याएर समाधानको बाटो खोज्ने आँट र अग्रसरता देखाउनुपर्छ । जनता छोराछोरी सरह हुन्छन् भन्ने मान्यता छ । त्यसैले उसले विमति राख्नेहरुलाई घुक्र्याएर, तर्साएर वा धम्की दिएर होइन हार्दिक र सद्भावसहितको उदारताले मन जित्नु पर्दछ । यसमै सबैको कल्याण छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्