बिद्यार्थीको रोजाइमा आदर्श मावि

२५ भाद्र २०७६, बुधबार मा प्रकाशित

आर्दश बिद्या मन्दिर मावि घैलाडुब्बा २०१४ सालमा स्थापित विद्यालय हो । शिक्षासेवी देवीप्रसाद उप्रेतीको अगुवाईमा र स्थानीयबासीको सहयोगमा २०१४ साल चैत १ गते विद्यालय स्थापना भएको हो । जमिन्दार देवीप्रसाद उप्रेतीसहित टेकनारायण राजवंशी, कृष्णबहादुर खत्री, विष्णुप्रसाद पोखरेल, भूमिप्रसाद घिमिरे लगायतले विद्यालय निर्माणमा जग्गादान गरी विद्यालय स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । राजवंशी समुदायको बाहुल्यता रहेको घैलाडुब्बा आफैंमा त्यो समयमा विकसित थिएन । स्थानीय दाताकै सहयोगमा यो क्षेत्रमा विद्यालय स्थापनाको अवधारणा अघि सारेर स्थानीयबासीले विद्यालय सञ्चालन गरेको भूमिका अहिले पनि सराहनीय छ ।

विद्यालय स्थापनापछि पनि विद्यालय सञ्चालनमा सहयोग पु¥याउन यहाँका स्थानीयबासीले विघट्टी प्रथा शुरुवात गरी निःशुल्क माध्यमिक तहसम्म सञ्चालन गर्ने अवधारणा अघि सारिएको थियो । पछि सो अवधारणा अनुसार विद्यालय सञ्चालन गर्दा देशभर नै घैलाडुब्बा स्कूल चर्चामा रह्यो । त्यसो त घैलाडुब्बा स्कूलका नामले समेत यो विद्यालय चर्चामा छ । यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो । यही विद्यालयमा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अध्ययन गरेका छन् । उनले यही विद्यालयबाट २०२७ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए । यो विद्यालय अध्ययन गर्ने उनी एक प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरैले यो विद्यालयमा अध्ययन गरेर देशको शिर उच्च पारेका छन् ।

थुप्रै चुनौतिहरु पार गरेर अहिलेको अवस्थामा आइपुगेको यो विद्यालयले शिक्षाको ज्योति छर्न सफल भए पनि अझै यो विद्यालयले जुन उचाई लिनुपर्ने हो त्यो उचाई लिन सकिरहेको छैन । किनकि यो विद्यालयलाई अहिले पनि धेरै कुराहरुको अभाव छ । अभावका बीचमा रहेर पनि यो विद्यालयले अहिले सात सय २२ विद्यार्थीहरुलाई अध्ययन गराइरहेको छ ।

विद्यालय आफैमा सम्पन्न झैं देखिन्छ । विद्यालयको अचल सम्पत्ति मात्रै ९९ विगाह आठ कठ्ठा छ धुर छ । तर, धेरैजसो जमिन सदुपयोगमा आउन सकेको छैन । विद्यालय नियमित सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले यो विद्यालयलाई १० जना दाताले जमिन उपलब्ध गराएका थिए । सोही जमिन मध्ये तीन विगाह साढे १९ कठ्ठा क्षेत्रफलभित्र विद्यालय निर्माण गरिएको छ । जुन जमिन स्वर्गीय देवीप्रसाद उप्रेतीले निःशुल्क प्रदान गरेका थिए । २००७ सालको परिर्वतनपछि शिक्षा क्षेत्रको विकास भएको मान्न सकिन्छ । २०१२ सालमा नै यस क्षेत्रका स्थानीयबासीले यो ठाउँमा विद्यालय स्थापना गर्न खोजे पनि अथक प्रयासपछि मात्रै यो ठाउँमा विद्यालय स्थापना भएको जानकारहरु बताउँछन् ।

प्राविधिक शिक्षा समेत यो विद्यालयले सञ्चालन गरेको छ । सिभिल इञ्जिनियरिङको कक्षा सञ्चालन गर्नुले पनि यो विद्यालयको उचाई अझ माथि पु¥याएको छ । ग्रामीण क्षेत्रका विद्यालयमा पनि सिभिल इञ्जिनियरिङ अध्ययन अध्यापन हुन थालेपछि स्थानीयबासी समेत अहिले हर्षित छन् । कक्षा ६ सम्म पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन हुनु र ७ देखि ९ सम्म दुबै माध्ययबाट अध्ययन अध्यापन हुनुले पनि यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको चाप उच्च छ । पछिल्ला वर्ष अंग्रेजी शिक्षा प्रतिको मोहका कारण निजी विद्यालयतर्फ विद्यार्थी आकर्षित भइरहेका बेला कनकाई नगरपालिका–९ मा रहेको आर्दश विद्या मन्दिर सबैको रोजाईमा पर्न सफल छ ।

कक्षा १२ सम्म अध्ययन–अध्यापन हुने यो विद्यालय अंग्रेजी शिक्षा लिने विद्यार्थीको चापकै कारण निजी स्रोतबाट शिक्षक राख्नु परेको विद्यालयका प्रधानाध्यपक धर्मानन्द निरौलाले बताए । उनले भने– ‘निजी स्रोतबाट तीन जना शिक्षक राख्नु परेको छ । जसको व्यवस्थापन विद्यालय आफैंले गर्दै आएको छ । हाम्रो विद्यालय विद्यार्थीको रोजाइमा परेका कारण दिनानुदिन निजी विद्यालय छाडेर यो विद्यालयमा विद्यार्थी आइरहेका छन् ।’ प्रधानाध्यापक निरौला भन्छन्– ‘प्राविधिक शिक्षाको सुरुवात, अतिरिक्त क्रियाकलाप, प्रविधिमैत्री पढाइका कारण पनि यहाँ विद्यार्थीको चाप उच्च छ ।’

यो विद्यालयलाई निजी स्रोतमा शिक्षक राख्नु परेकाले विद्यालयको आम्दानी शिक्षक व्यवस्थापनमा लाग्ने भएकाले विद्यालयको अन्य गतिविधि सञ्चालन गर्न आर्थिक अभाव हुने गरेको बताइन्छ । भारतीय राजदुतावासको सहयोगमा २०६५ सालमा निर्मित भवनमा अहिले विद्यालयले पठन पाठन गराई रहेको छ । विद्यालयले प्राविधिक शिक्षा थप गरेका कराण विद्यालयलाई अझैं पनि भवनको अभाव भएको बताइन्छ ।

विद्यालयले ई–हाजिरीको व्यवस्था गरेको छ भने स्मार्ट बोर्डको समेत प्रयोग गर्दै सिकाईलाई अझ गुणस्तरीय बनाउदै लगिएको बताइन्छ । ऊर्जा व्यवस्थापन गर्दै विद्यालयले सबै कक्षाकोठामा फेनको व्यवस्था गरेको छ । विद्यालय कम्पाउण्ड वरिपरि लाइटको व्यवस्था गरिएको छ । सौर्य उर्जाका लागि उर्जा मन्त्रालयले गत आर्थिक वर्षमा २३ सय ३१ वाटको सौर्य प्यानल जडान गरेपछि यहाँका विद्यार्थीले जस्तोसुकै गर्मीमा समेत सहज रुपमा फेन मुनी बसेर अध्ययन गर्न सक्ने भएका हुन् ।

विद्यालयमा अहिले १० वटा कम्प्युटरबाट अध्ययन अध्यापन हुँदै आएको छ । तर, यतिले अपुग भएपछि विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापनाको तयारी गरिँदैछ । जसका लागि २५ लाख रुपैयाँ बरावरको कम्प्युटर लगायतका सामग्री प्राप्त हुने प्रधानाध्यापक निरौलाले बताए । उनले भने– ‘त्यसका लागि नेपाल दुर संचार प्राधिकरण कमलादी काठमाडौंले विद्यालयलाई सहयोग गर्ने भएको छ ।’

नेपाल सरकारबाट प्रत्येक नगरपालिकामा एउटा विद्यालयलाई प्राविधिक शिक्षा दिने योजना अनुरुप कनकाई–९ को यो विद्यालयले सिभिल इञ्जिनियरिङको अध्ययन–अध्यापन शुरु गरेको हो प्रधानाध्यपक निरौला भन्छन्– ‘यो विषय अध्ययन हुन थालेपछि महँगो शुल्क तिरेर विद्यार्थीले अब बाहिर गएर अध्ययन गर्ने समस्या हट्यो यो क्षेत्रमा । यहाँ सिभिल इञ्जिनियरिङ अध्ययनका लागि कनकाई नगरपालिकाको सुरुङ्गा, बाह्रदशी गाउँपालिका, बिर्तामोड नगरपालिकाका विभिन्न ठाउँबाट विद्यार्थी आउने गरेका छन् ।

‘खण्डहर जस्तो विद्यालयलाई मन्दिर बनायौ“’

तपाई यो विद्यालयको विद्यार्थी अहिले यही विद्यालयको प्रधानाध्यापक हुनुभएको छ ? कस्तो अनुभव भइरहेको छ ?

– यो विद्यालयमा मैले २०३० सालबाट अध्ययन शुरु गरेको हो । त्यो समयमा अहिले जस्तो थिएन । यो विद्यालयमा पढेको म आफैं यो विद्यालयको प्रधानाध्यापक बनुला जस्तो लागेकै थिएन । म यो विद्यालयको पढे पनि भविष्यमा निजामति क्षेत्रमा सेवा गर्ने सोच बनाएको थिएँ । तर, शिक्षाका सधँै राम्रो गर्ने विद्यार्थी । सधँै कक्षा प्रथम हुन्थे । २०४१ सालमा एसएलसी दिएपछि मेची क्याम्पसमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे ।

त्यसपछि विद्यालयमा शिक्षक आवश्यक रहेछ । मैले आवेदन दिएको थिएँ । छनौटमा परियो र अहिले निरन्तर यही विद्यालयमा कार्यरत् रहँदारहँदै प्रधानाध्यापकको भूमिका आइलाग्यो । १० वर्ष यही विद्यालयमा अध्ययन गरे, त्यसपछि ३० वर्ष यही विद्यालयमा रहेर सेवा गर्ने अवसर मिल्यो । म भाग्यमानी ठान्छु यसलाई । किनकि धेरैलाई मैले शिक्षाको ज्योति यही विद्यालयबाट छरेको छु । अहिले खुशी लाग्छ । विगतलाई फर्केर हेर्दा । किनकि म यही विद्यालयको बिद्यार्थी हुँ अहिले प्रधानाध्यापक छु ।

प्रधानाध्यापक भएपछि पहिलो काम के गर्नु भयो ?

– म २०७४ साल साउनदेखि यो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीमा छु । यो भन्दाअघि मैले २०४६ सालदेखि यही विद्यालयमा शिक्षाकको भूमिका निर्वाह गर्दै विद्यार्थी र समाजप्रति घैलाडुब्बाको सरका नामले चिनिए । पछि प्रधानाध्यपक भएपछि सबै प्रथम विद्यालयको शैक्षिक गुणस्तरलाई अझ सुधार गर्नुपर्छ भन्ने ममा सोच आयो । सोही बमोजिम मैले यो विद्यालयमा अंग्रेजीमाध्यमका कक्षाहरुलाई व्यवस्थित गर्ने निधो गर्दै काम अघि बढाए । जसका लागि अंग्रेजी माध्यमबाट अध्यापन गराउनका लागि निजी स्रोतबाट अंग्रेजी शिक्षकको व्यवस्था, अंग्रेजी कक्षाका विद्यार्थीलाई छुट्टै भवनमा राखेर पूर्ण अंग्रेजी बातावरण दिन थाले ।

विद्यालयको नाममा रहेको घैलाडुब्बा बजार व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गरी २५ वर्षका लागि बजार ठेक्का दिने काम भयो । जसबाट विद्यालयले करिब डेढ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने ठाउँमा अब वार्षिक चार लाख रुपैयाँ र प्रत्येक पाँच वर्षमा २५ प्रतिशत रकम वृद्धि हुने गरी विद्यालयको आयस्रोत बढाउने काम गरेको छु । यसो गर्दा विद्यालयलाई पनि फाइदा पुग्ने र बजारमा पनि नगरपालिकाले लगानी बढाई टहरा तथा भवन निर्माण गरी बजारको समेत विकास भई समाजलाई प्रत्यक्ष फाइदा पुग्ने कामको थालनी गरेको छु ।

नगरपालिकासँग समन्वय गरी खेल मैदानलाई व्यवस्थित गर्दै लगेको छु । छात्रा विद्यार्थीलाई मध्यनजर गर्दै उनीहरुलाई सहजताका लागि पोशाकमा अनिवार्य कक्षा ६ देखि माथि कुर्ता–सुरुवालको अवधारणा अघि सारेर लागू गरे । अब यो विद्यालय अध्ययन गर्ने छात्रा विद्यार्थीले कुर्ता–सुरुवाल मात्रै लगाउने छन् । त्यस्तै विषयगत समिति निर्माण गरी विद्यालयको पठनपाठन तथा अतिरिक्त क्रियाकलावलाई व्यवस्थित गर्दै लगेको छु । जसका कारण विद्यालयको शैक्षिक गुणस्तर सुधारिएको छ ।

विद्यालय भवनलाई रंगरोगन गरी खण्डहर जस्तो देखिने विद्यालयलाई मन्दिर जस्तो बनाइएको छ । जहाँ सधै सरस्वतीको बास रहन्छ । कक्षा ११ ÷१२ मा अध्ययन गर्ने विद्यार्थीका लागि छुट्टै पुस्तकालय कार्डको व्यवस्था गर्दै पुस्तकालयलाई व्यवस्थापन गरिएको छ । यी केही उदाहरण मात्रै हुन् । विद्यालयमा शैक्षिक क्यालेन्डर निर्माण गरी वर्षभरि नै गरिने कामको योजना बनाई सोही अनुसार विद्यालयमा पठनपाठन तथा अतिरिक्त क्रियाकलाप हुने गरेको छ ।

प्राविधिक शिक्षा पनि शुरु गर्नुभएको रहेछ किन आवश्यक ठान्नुभयो र कसरी ल्याउनुभयो यो योजना ?

– व्यवसायिक शिक्षाप्रति विद्यार्थी र अभिभावकको झुकाव छ । त्यसलाई पहिलो प्राथमिकतामा राखेर मैले पहल गर्दै यो विद्यालयमा प्राविधिक शिक्षा भित्र्याएको हुँ । अहिले धेरैले सहजरुपमा आफ्ना छोराछोरीलाई घरैबाट सहजरुपमा यो शिक्षा पढाउन सक्नुभएको छ । साधारण शिक्षाले मात्रै अवको युगमा प्रतिष्पर्धा गर्न नसक्ने भएपछि प्राविधिक धारमा जोड गरेको हुँ । विशेष गरी स्थानीय आदिवासी तथा जनजातिका छोरा छोरीहरुले प्राविधिक शिक्षा हासिल गरी रोजगार पाउन सहज होस् भन्ने हाम्रो चाहना छ ।

अब गाउँ–गाउँका विद्यार्थी इञ्जिनीयर बन्छन् । हामीले छोराछोरीलाई इञ्जिनीयर पढाउन अब बाहिर पठाउनु पर्दैन । घरको खान खाएर गाउँ–गाउँमा छोराछोरी इञ्जिनीयर पढाउन पाउनु हामी सबैका लागि खुशीको कुरा हो । यो ढोका हामीले खुल्ला गरिसक्यांै । यो विद्यालयमा प्राविधिक शिक्षा ल्याउन मेरो मात्र हात छैन । यो ठाउँमा गन्यमान्य शिक्षाप्रेमी महानुभावको ठूलो देन छ । धेरै पटक प्रधानमन्त्रीको कार्यालय चाहारेका छौं । पटक–पटक आश्वासन पाए पनि काम गर्न सहज चाहिँ भएन । मुस्किलले प्रधानमन्त्रीलाई बिन्ती विसाएर उहाँँले अध्ययन गरेको विद्यालयको स्मरण गराउँदै यो विद्यालयमा प्राविधिक शिक्षा भित्र्याइएको हो ।

अरु काम के–के गर्नुभयो नि ?

– विभिन्न निकायहरुसँग समन्वय गरी विद्यालयको भौतिक अवस्था सुधार गर्ने काम गरेको छु । जस अनुसार पूर्व विद्यार्थीहरुसँग समन्वय गरी शुद्ध खानेपानीको व्यवस्था, प्रत्येक कक्षाकोठमा सीसी क्यामेरा तथा साउण्डको व्यवस्था गरी कक्षा कोठालाई डिजिटल बनाई अफिसबाटै व्यवस्थापन गर्न सकिने अवस्थाको सृजना गरेको छु । त्यस्तै विद्यालयमा स्मार्टबोर्डको व्यवस्थापन, विद्यालयको चारैतिर रात्रि सुरक्षार्थ लाइटको व्यवस्थापन गरेको छु ।

आन्तरिक पर्खालको व्यवस्थापन गरी विद्यालयको हाताभित्र सुन्दर बगैंचा निर्माण गर्दै लगेको छु । विद्यालयमै छात्रा प्याडको व्यवस्था गरेको छु । निःशुल्क छात्रा प्याडको व्यवस्थापनले छात्रालाई सहज भएको छ । जसका कारण उनीहरुको पढाईमा कुनै समस्या छैन । सहजरुपमा दिनभरि स्कूलमा पढेर घर फर्कन सक्छन् । विज्ञान प्रयोगशालाको व्यवस्थापन गरिएको छ । विज्ञान सामग्री तथा फर्निचरको व्यवस्थापन गर्दै विज्ञानको हव झैं यो विद्यालयलाई बनाउने सोचले अघि बढेका छौं । प्राविधिक शिक्षाका लागि प्राविधिक ल्यावको काम गर्न शुरु गरेका छौं । जसबाट विद्यार्थीलाई सहज हुने हाम्रो लक्ष्य छ ।

भावि योजना चाहि के छ नि उसो भए ?

– विद्यालयको शैक्षिक गुणस्तर सुधार नै पहिलो योजना हो । जसलाई विभिन्न कुराहरुले बाटोमा ल्याउँछ । विद्यालयको पढाई नै राम्रो छैन भने म यो गर्छु त्यो गर्छु भन्नु बेकार छ । किनकि पढाई राम्रो भयो भने विद्यार्थी र अभिभावकको मन जित्न सकिन्छ । उनीहरुको मन जितेपछि विभिन्न योजनाहरु आफसेआफ आउँछन् । उनीहरुलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने मै म अहिले केन्द्रीत छु । मलाई लागेको छ सबै शिक्षक मित्रहरुको साथ र सहयोगले यो काम सहज रुपमा सम्पन्न गर्नु सक्छु । किनकि सबै शिक्षकले आफ्नो कर्तव्य सहजरुपमा पूरा गरेको खण्डमा यो ठूलो कुरा नै भएन । तथापि अरु धेरै योजना छन् यो विद्यालयलाई अघि बढाउँदै प्रदेशकै उत्कृष्ठ विद्यालय बनाउने ।

त्यसमध्ये सबै विद्यार्थीलाई कम्प्युटराइज शिक्षा, पूर्ण रुपमा अंग्रेजी माध्यमबाट अध्ययन अध्यापन, प्रविधिमैत्री शिक्षा प्रदान गर्दै विधि र प्रविधियुक्त शिक्षा प्रदान गर्ने सोच छ । प्राविधिक शिक्षालाई अझ व्यवस्थित गर्दै लान प्राविधियुक्त प्राविधिक भवन तथा फर्निचर निर्माण गर्ने सोच छ । जग्गा व्यवस्थित गरी विद्यालयको आम्दानी दिर्घकालीन रुपमा वृद्धि गर्दै त्यसवाट विद्यार्थीहरुलाई फाइदा पुग्ने शैक्षिक कार्यक्रम ल्याउने प्रयासमा छु । विद्यार्थीलाई पढाई प्रति अझ अभिरुची जगाउन उनीहरुको रुची परीक्षण गरी सोही अनुसार अतिरिक्त क्रियाकलाप गरी उत्प्रेरित गर्नेखालका कार्यक्रम शुरु गर्छु ।

अन्त्यमा,
यो विद्यालयलाई अहिलेको यो अवस्थासम्म जे–जसरी ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु । किनकि यो ठाउँमा त्यसबेला विद्यालय स्थापना गरेर यहाँका विद्यार्थीलाई शिक्षा प्रदान गर्न अहम् भूमिका निर्वाह गर्ने सबै दाता, शिक्षाप्रेमी महानुभावलाई सम्झँदै उहाँहरुले देखाएको मार्गमा अघि बढ्ने प्रण गर्दै यो विद्यालयको शिर अझ उच्च बनाउने काममा हाम्रो विद्यालय परिवार जुट्ने छ ।

हामो विद्यालय राम्रो विद्यालय भन्ने अवधारणाका साथ विद्यालयलाई अझ राम्रो बनाउन हरतरहले प्रयासरत् रहने हाम्रो प्रण छ । विद्यालयको सम्पूर्ण विकासमा सहयोग गर्नुहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायत साथीहरु, शिक्षक अभिभावक संघका साथीहरु तथा शिक्षक, कर्मचारी वर्गलाई समेत धन्यवाद दिन चाहन्छु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here