घर पाउँदा नाँचगान (फोटो फिचर सहित )

२६ भाद्र २०७६, बिहीबार मा प्रकाशित

 

[सुरेन्द्र भण्डारी]

बिर्तामोड,

बिर्तामोड नगरपालिका – ७ मुन्सी टोलका सन्थाल समुदायका महिलासहित अन्य समुदायका महिलाले बिहीवार अतिथिलाई नाचेर स्वगत गरे । नाचेर अतिथिको स्वगत गर्नुको एउटै उद्देश्य थियो – आफूहरु खुशी भएको र अतिथिलाई पनि खुशी राख्नु । अतिथिको स्वगतका लागि महिला मात्रै नाँचेनन्– महिलासंगै पुरुष पनि नाचे । त्यो पनि सन्थाल समुदायको संस्कृति झल्कने गीतमा ।

बिर्तामोड नगरपालिका, सहारा नेपाल सहकारी संस्था र ह्याविट्याड फर ह्युमानिटीले विपन्न आवास कार्यक्रम अन्तरगत बिर्तामोड– ७ मा ३४ बटा घर निर्माण गरेका थिए । सोही घर हस्तान्तरणका लागि १ नम्वर प्रदेसका सांसद एकराज कार्की सहित नगरापालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी र ह्याविट्याड फर ह्युमानिटीका विजयप्रसाद गुप्ता सहितका अतिथि मुन्सी टोल पुगेका थिए । औपचारिक कार्यक्रम समापनसंगै घर उद्घाटनका लागि सबै अथिति मुन्सीको पुगेका थिए । त्यत्तिबेला सन्थाल समुदायका महिलाले पुरुषले बजाएको बाध्य बाधनको तालमा नाचेर अतिथिलाई नै चकित पारे । सन्थाल भेष भुषामा सजिएका उनीहरुसंगै अन्य समुदायका महिलाहरु पनि सन्थाली युवतीसंगै सुरमा सुर मिलाएर नाँची रहेका थिए ।

मुन्सीाको घरमा टाँगिएको रिवन काटेर घरको औपचारिक उद्घाटन गर्दै प्रदेश सांसद कार्कीसंगै बिर्तामोड नगरपालिका प्रमुख शिवाकोटी, सहकारीका कार्यकारी निर्देशक गिरी, ह्याविट्याडका प्रतिनिध सहित सबै सन्थाल गीतमा नाच्दा क्षणभरमै त्यहाँको माहोल नै बेग्लै भएको थियो विहीवार विहान । नहोस् पनि किन – पुसको छाना र टाटीले बारेर बनाइएका घर भत्काउँदै पिल्लर ठड्याएर सुरक्षित र जस्तासहितको घर उनीहरुले निःशुल्क पाएका थिए । आधुनिक र नयाँ शैलीको घर पाउँदा मुन्सी बस्तीका सन्थालहरुमात्र होइन उनीहरुका छर छिमेकीहरु पनि दंग थिए ।

सहारा नेपाल सहकारी संस्थाको विपन्न आवास कार्यक्रम अन्तरगत ह्याविट्याड फर ह्युमानिटीसंगको आर्थिक सहयोगमा सहकारीले गत बर्ष नगरपालिकासंग घर निर्माणको सम्झौता गरेको थियो । सोही बमोजिम सहकारी संस्थाले प्राविधिक सहयोग सहित प्रति घर निर्माणका लागि २५ हजार रुपैयाँ ह्याविट्याडका तर्फबाट ५० हजार रुपैयाँ र नगरपालिकाको तर्फबाट ७५ हजार रुपैयाँ तथा घर धनीको समेत जनश्रमदान गरी दुई लाख १५ हजार भन्दा बढीको लागतमा घर निर्माण विपन्न आवास कार्यक्रमकी संयोजक लीला शिवाकोटीले बताइन् ।

सोच्दै नसोचेको भयो – नयाँ घर पाएकी मार्ता मुर्मूले भनिन् – हाम्रो समुदायमा अझैंपनि चेतनाको कमी छ,अशिक्षा र गरिवीका कारण सन्थाल समुदायले केही गर्न सकेका छैनन् । मैले १२ कक्षासम्मको अध्ययन गरे । तर, अब अगाडि कसरी पढ्ने चिन्ता छ । हिजोसम्म घरको चिन्ता थियो । आज त्यो चिन्ता दुर भएको छ । किनकि नगरपालिका सहित विभिन्न संस्था मिलेर हाम्रो समुदायमा नयाँ घर निर्माण गरिदिनु भएकोछ ।’

मार्ता त्यो समुदायकी घर पाउँदा खुशी हुने प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै अरुले पनि नयाँ घर पाउँदा खुशी व्यक्त गरेका छन् । अझ मुन्सीले त नयाँ घर पाएपछि आफ्नो खुशी शबदमा यसरी सुनाए –‘ अब गरिखानसजिलो भयो । सरकारले घर बनाईदियो । यस्तो घरमा बस्न पाइएला भन्ने सोचेको पनि थिइन् । सपना जस्तै भइरहेको छ ।’

८६ वर्षीया मुन्सी हुन त त्यो ठाउँका पहिलाका मुखिया हुन् । तर, उनले आर्थिक अभावकै कारण घर बनाउन सकेका थिएनन् । सोही गाउँँमा जन्मिएका मुन्सीले अहिलेसम्म झुप्रो घरमा जीवन बिताइरहेका थिए ।

मार्ता र मुन्सी त्यो ठाउँका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्तै अन्य १८ सन्थाल परिवारले नयाँ घर पाएका छन् । त्यस्तै अन्य समुदायका १२ परिवारले पनि नयाँ घर पाएका छन् । नयाँ घर पाएसंगै ३४ परिवारका १ सय ५५ जना प्रत्यक्ष लाभान्वित भएका छन् । नयाँ घर पाउनेहरुमा विष्णुमाया शिवाकोटी (परिवार संख्या–४), मंगली हेमरम मुर्मू(परिवार संख्या–५),रानी मुर्मू (परिवार संख्या–८),मुन्सी मुर्मू (परिवार संख्या–१),सिता हास्दा (परिवार संख्या–४),राजु हास्ता (परिवार संख्या–४), वावु नारायण (परिवार संख्या–५), वर्षा ऋषिदेव (परिवार संख्या–३),जले ऋषिदेव (परिवार संख्या–४), साहेव मुर्मू (परिवार संख्या–६) रहेका छन् । त्यस्तै कमली हस्दा (परिवार संख्या–२), सुरमुनी हस्दा (परिवार संख्या–७), टीका हास्दा(परिवार संख्या–७)मन्जन सोरेन (परिवार संख्या–६),तारादेवी गुरागाई (परिवार संख्या–६), फूलमनी मुर्मू(परिवार संख्या–७), लखिराम सोरेन (परिवार संख्या–४), राममाया दर्जी (परिवार संख्या– ७), तीला सार्की (परिवार संख्या–२), अर्जुन राई (परिवार संख्या–४), हर्क राई (परिवार संख्या–३), लखिराम मण्डी (परिवार संख्या–४) रहेका छन् । त्यस्तै बड्की सोरेन (परिवार संख्या–८), फूलमनी सोरेन (परिवार संख्या–५), झडु किस्कू (परिवार संख्या–६), सायर महमद (परिवार संख्या–४), उदय मुर्मू (परिवार संख्या–४), मण्डल मुर्मू (परिवार संख्या–६), आइते बेस्रा (परिवार संख्या–५), मुसे हास्दा (परिवार संख्या–४), दिलवहादुर विक (परिवार संख्या–४) मिना राजवंशी (परिवार संख्या–१), कुविर राई (परिवार संख्या–३) र शन्तकुमार राई (परिवार संख्या–३) रहेका छन् ।

घर हस्तान्तरण समारोहमा बोल्दै प्रदेश सांसद कार्कीले प्रदेश सरकारबाट विनियोजित रकम मध्ये विपन्न परिवारका लागि घर निर्माण गर्न दश लाख रुपैयाँ सहयोग गरेको बताए । उनले भने – ‘संविधानमै व्यवस्था भएअनुरुप विपन्नको घर निर्माणमा सहयोग गरेको हुँ । आगामी दिनमा पनि गर्ने छु र बिर्तामोड नगरपालिकासंग सहकार्य गर्दै सहाराले जुन आँट र हिम्मत देखायो यो सबैका लागि सह्रानीय रहेको छ । सहारा बिर्तामोडवासीको मात्र होइन सबैको सहारा रहेछ ।’

प्रदेश सरकारको सहयोगमा सातवटा घर निर्माण भएको बताउँदै उनले भने – आगामी दिनमा सबै विपन्नलाई घर निर्माणमा सहयोग पु¥याउने बचन दिन्छु ।’

प्रदेश सांसद कार्कीले सरकार गरिव , विपन्न नागरिकको पक्षमा रहेको बताएका छन् । घर नभएकालाई घर, शिक्षाको पहुँचमा नभएकालाई शिक्षा र बेराजगारलाई रोजगारी वर्तमान सरकारको मुख्य प्राथमिकतामा रहेको छ उनले भने – अघिल्लो सरकारले गरिवलाई के दियो ? हामीले घर दिएका छौं । कोही पनि नागरिक अब आवास विहीन बन्नुपर्ने छैन ।’

सांसद कार्कीले सबैलाई अघिल्लो सरकारहरुले गरेको कामलाई फर्केर हेर्न आग्रह समेत गरेका छन् । उनले तराई फाँडेर बस्ने नागरिकको घर समेत नहुनु विडम्बना भएको भन्दै अब कोहीपनि घर वार विहीन हुनु नपर्ने बताए ।

कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिका प्रमुख शिवाकोटीले संविधानले नागरिकको आवासको अधिकारलाई मौकिल हकको रुपमा व्यवस्था गरेको भन्दै आफूहरुले सोही अनुसार विपन्नका लागि घर निर्माण गरिदिएको बताए । यो आर्थिक वर्षमा विर्तामोड नगरपालिकामा ७६ घर निर्माण गरिएको छ । आगामी आर्थिक वर्षमा दुई सय घर निर्माण गरिदिन्छौं ।

नगरप्रमुख शिवाकोटीले ‘मादक पदार्थ खाने पैसा बचत गनुहोस्, घर हामीले बनाइदिइएका छौं । स्वास्थ्य र शिक्षा हाम्रो जिम्मा हो’ शिवाकोटीले भने – अब हामीले बनाईदिएको घरमा बसेर रक्सी खाँदै स्वास्नी कुट्न चाँही पाइदैन नि । रक्सी खाएर स्वास्वास्नी कुटेको थाहा पाए म आफैं आएर घरबाट निकाली दिन्छु ।’

उनले मादक पदार्थ खान निरुत्साहित गर्दै आय आर्जनका काममा लाग्न सबैलाई प्रोत्साहन समेत दिए ।

कार्यक्रममा बोल्दै सहारा नेपाल सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक गिरीले बिर्तामोड नगरपालिका सहित झापाको ८ स्थानीय तहमा २ सय ५४ वटा घर निर्माण गरिएको र केही पालिकाका घर समुदायलाई हस्तान्तरण गरिसकिएको बताए । उनले आगामी वर्ष झापा , मोरङ र सुनसरीमा ह्याविट्याट फर ह्युमानिटीको आर्थिक सहयोगमा पाँचसय घर निर्माण गर्ने बताएका छन् । उनले एक सयवटा बिर्तामोड नगरपालिकामा मात्रै निर्माण गर्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालाई काम शुरु गरिहालौं भन्दै प्रस्ताव समेत गरे ।

घरको अवस्थाकै कारण कतिपय छोरीहरुको विवाह समेत नहुँने र सर्पको जोखिम समेत उच्च हुने हुँदा त्यस्ता परिवारको छनौट गर्दै स्थानीय निकायसंग मिलेर घर निर्माण थालिएको बताए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खतिवडा, घर निर्माण उपभोक्ता सििमतका अध्यक्ष चन्द्रकला पकुवाल, सचिव कृष्ण खरेल अविरल ह्याविट्याट फर ह्युमानिटीका विजयप्रसाद गुप्ता लगायतले बोलेका थिए ।

गत माघ ११ गते घर निर्माणको शुरु गरिएको बताउँदै घर निर्माणमा सहयोग पु¥याउने सबै संस्था सहित स्थानीयवासीलाई नगरपालिकाले धन्यवाद समेत दिएको छ ।

सो अवसरमा घर निर्माणमा सहयोग पु¥याउने निर्माण समितिका पदाधिकारी सहित सहयोगी संस्था सहारा नेपाल र ह्याविट्याड फर ह्युमानेटीलाई समेत बिर्तामोड नगरपालिकाले सम्मान गरेको थियो ।

वडा सदस्य प्रेम थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन विर्तामोड नगरपालिकाका कर्मचारी जय तिम्सिनाले गरेका थिए ।

 

 

 

 

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here