कस्ता नेता ? कस्तो नेता !

२७ भाद्र २०७६, शुक्रबार मा प्रकाशित

विष्णुप्रसाद खरेल,

‘नेता’ शब्द अप्रिय बन्न थालेको छ । नेता भन्नासाथ राजनीतिसँग जोडेर हेर्ने गरिन्छ । नेता अर्थात् ‘लिडर’का बहुआयामिक पक्षहरु छन् । तर, नेता भन्नासाथ राजनीतिको आभाष सजिलै हुने गर्दछ । त्यसैले पनि मानिसहरु नेतालाई राजनीतिक विचार, दल वा संगठनसँग जोडेर हेर्ने गर्दछन् । राजनीतिमा शुद्धिकरण आयो भने नेताको गरिमा बढ्दो रहेछ । राजनीति जति दुषित हुन्छ, नेताको छवि धुमिल र घृणित हुँदोरहेछ । अहिले नेपालको राजनीति दुषित छ । त्यसैले नेता शब्द र छवि पनि अप्रिय भएको छ । अहिले सबैभन्दा बढी आलोचना भएको छ भने नेताहरु कै भएको छ । कुनै पनि मानिसले आप्mना सन्तानलाई अशीर्वाद दिँदा नेता बन्नु भनेर आशीर्वाद दिन्छन् । जस्तो यो स्तम्भकारलाई लागेको छैन । सायद, नेताहरु नै पनि आप्mना सन्तानलाई नेता बन्नु भनेर आशीर्वाद दिँदैनन् होला । कसैले पनि भबिष्य नदेखेको यस्तो विषय आफैंमा चर्चित छ, आलोचित छ । किन आलोचित भयो नेता पद र शब्द ? जोसुकैले पनि अनुमान लगाउन सक्दछ, आफनै कारणले आलोचित बनेका छन् नेताहरु ।

नेपालका नेताहरुले ठूलो जोखिम लिएको इतिहास छ । अहिलेका धेरै नेताहरु जेल गएका छन्, यातना पाएका छन् र सामान्य पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा आएका छन् । त्यागी पनि छन् र तपस्वी पनि छन् । आफ्ना जीवनका सारा सपनाहरुलाई तिलाञ्जलि दिएर एकोहोरो राजनीतिमा लागेकाहरु नै नेता बनेका छन् । कुनै पनि मानिस त्यति सजिलै नेता बन्न सक्दैन । यो कुरा सबैलाई थाह छ । निःस्वार्थ भावनाका धेरै नेताहरु पनि छन् । तर, यस्ता ब्यक्तिहरु ओझेलमा छन् ।

नेता भनेको अरुभन्दा फरक हो । नेता–मार्गदर्शक अर्थात् पथ प्रर्दशक हो । अन्य नागरिकको तुलनामा नेता विशिष्ट गुणबाट विभुषित भएको हुन्छ । राष्ट्रप्रतिको समर्पण, नागरिकप्रतिको जवाफदेहिता, सामाजिकता, असल आचरण र व्यवहार, अध्ययन र अनुशिलता, साहस र धैर्यता, ज्ञान र व्यवहार, व्यक्तिगत जीवनबाट सामाजिक जीवनको दृष्टिकोण, भेषभुषा र शब्दशैली यी सबै कुरामा खारिएको निख्खर व्यक्तित्वको छवि हो, नेता । भारतका स्वतन्त्रता सेनानी माहात्मा गान्धी जस्तो हुन्छ, नेता । अहिले पनि गान्धीलाई पूजा गर्नेहरुको कमी छैन, भारतमा । भारतमा मात्र होइन संसार नै गान्धीवादलाई अनुशरण गर्न लालायित छ– विचारमा, व्यवहारमा, आचरण र जीवनशैलीमा । नेपालमा नागरिकहरु पनि त्यस्तै नेताको खोजी गरिरहेका छन् । गान्धी जस्तो छवि भएको नेतालाई सम्मान नगर्ने को होला ?

नेताको परिकल्पना गरिरहँदा, वर्तमान राजनीतिमा लागेका अनुहारहरु सलबलाएर आउँछन् । अहिलेका नेताहरुको विगत सबैलाई थाह छ । वर्तमान सबैले देखिरहेकै विषय हो । देखिएको विगत र अहिलेको वर्तमान अवस्थाको तुलना गर्नासाथ नेताहरुप्रति हरेक नागरिकहरुको पहिलो शब्द नै गालीबाट शुरु हुन्छ । यहीनेर चुकेका छन् नेपालका नेताहरु । विगतमा जे बोले, त्यो गरेनन । विगतमा जस्ता थिए, अब त्यो रहेनन् । नागरिकले जे विश्वास गरेको थियो, त्यो पाएन । पहिलेको र अहिलेको जीवनशैलीमा आकाश र जमिनको फरक देखिन थाल्यो ।

श्रोत बेगरको अथाह सम्पत्तिले नेताहरुलाई नागरिकबाट टाढा पु¥यायो । उनीहरु विस्तारै सामन्ती जीवनशैलीमा प्रवेश गरे । सामन्तवादी जीवनशैलीले उनीहरुको आचरण, व्यवहार र बोलीमा समेत प्रभाव पार्न थाल्यो । हेर्दाहेर्दै नेताहरु पैसा कमाउने व्यवसायी बने । नेताहरुको पैसा कमाउने श्रोत बन्यो जनताको भावनाको शोषण । जनभावनालाई उचालेर राजनीतिमा व्यापार गर्ने ब्ल्याकी जस्ता देखिए, नेताहरु । हरेक नागरिकले नेताहरुबाट आफू ठगिएको महशुस गर्न थाल्यो । विस्तारै नेताहरुको छवि ठग, ठाँट र जोकरको जस्तो देखिन थाल्यो । त्यसैले अहिले नेता शब्द अप्रिय बन्न पुग्यो । नेता भन्नासाथ घृणाको पात्र जस्तो देखिन थाल्यो ।

नेता र नेतागिरी पनि अचम्मको हुँदोरहेछ । हरेक नेताहरुको एउटा न एउटा सिद्धान्त, विचार र दल हुन्छ, नै । उक्त दलका धेरै या थोरै जे भए पनि अनुयायीहरु नहुने कुरै भएन । ती अनुयायीहरुलाई नै संसार मानेर हिँडिरहँदा आफू कता जादैछु भन्ने हेक्का नै नभएकाहरु नेता बनेका छन् । अनुयायीहरुको घेराबाट मुक्त भएर सोच्ने नेताहरुको अभाव देखिएको छ । राजनीतिमा स्वार्थ समूहहरुको घेरा डरलाग्दो हुन्छ । कुनै पनि नेताको वरीपरी रहेको समूह स्वार्थी बन्यो भने त्यस्ता समूहहरुले नेताको छविलाई समाप्त पार्छन् । नेताले आफू नजिक रहेको समूहको परीक्षण गर्न नसकेर आलोचित हुने क्रम राजनीतिको श्रृंखला जस्तै भएको छ । हामी त्यही व्यहोरीरहेका छौं ।

अहिलेका नेताहरु आलोचित हुने विषयको मुख्य कारक नै उनीहरुको जीवनशैली बनेको छ । राजधानी या जिल्लाका मुख्य केन्द्रमा महँगो घर, महँगो जमिन, महँगो गाडी, महँगो पहिरन, परिवारको उत्ताउलो र भडकिलो जीवनशैली, सन्तानहरुको वैदेशिक शिक्षाप्रेम र विदेशमोह । यस्ता विषयहरुमा नेताहरुमा जुन प्रकारको भड्काव देखिएको छ, त्यो नै उनीहरुको आलोचनाको कारण बन्दैछ । नेताहरुले श्रोत नखुलाई आर्जन गरेको सम्पत्ति देखेर जिब्रो काट्नेहरुको कमी छैन । पहिले नेताहरु गरीबका झोपडीमा आश्रय लिन्थे, अहिलेका नेताहरु जिल्ला पुग्दा या गाँउमा जाँदा सम्पन्न र सुविधा उपलब्ध गराउनेहरुको खोजीमा लाग्छन् । त्यस्तै मानिसहरुको घेरामा बस्न रुचाउँछन् । एउटा सामान्य नागरिकले ती नेताहरुसँग सम्पर्क संवाद गर्न नै पाउँदैन । नेताहरुमा देखिएको यस्तो विलक्षण सुविधामोहले उनीहरु आलोचित बनिरहेका छन्, घृणित बनिरहेका छन् ।

वर्तमान नेताहरुले पत्याउन या नपत्याउन, नागरिकहरु उनीहरुभन्दा बेग्लै छवि भएको नेताको खोजीमा छन् । वर्तमानमा रहेका निरश र निरर्थक नेताहरुभन्दा पृथक छविको खोजिमा युवाहरुको आकर्षण देखिन थालेको छ । विचारशून्य, विवेकशून्य, व्यवहारशून्य र लोभानी र पापानीमा रुमल्लिएका नेताभन्दा फरक छविको नेता, अहिलेको माग हो । राजनीतिमा सिद्धान्तको मुखौटोभन्दा सिद्धान्तको व्यवहारिक प्रयोग गर्ने नेताको आवश्यकता देखिन थालेको छ । सचेत नागरिकहरुको यो भावनालाई समेट्न नसक्नेहरु नेताको नाममा घृणाका पात्र र राजनीतिक जोकरका रुपमा चित्रित भए भने यसलाई अनौठो नमाने हुन्छ । राजनीतिमा लागेकाहरु असल नेता र जनताका प्रियपात्र बन्न सकुन् । नेता शब्दलाई मर्यादित र सम्मानित बनाउने कर्म गर्न सकुन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here