बगरटोल(अर्जुनधारा)।
झापाको अर्जुनधारा–१ बगरटोलमा गत शनिबार पदम श्रेष्ठको ६२ वर्षको उमेरमा निधन भयो । उनको निधनपछि छरछिमेकी दाजुभाइबीच ठूलै खैलाबैैला पनि भयो किनकि उनका कान्छा छोराले दलितकी छोरीसँग विवाह गरेका थिए ।
श्रेष्ठका कान्छा छोरा दिलीप श्रेष्ठले इलामकी अमृता परियारसँग बिगत सात वर्ष अघि विवाह गरेका थिए । विवाह पश्चात उनीहरुको परिवार सगौलमै दिनहरु बिताइरहेका थिए । परिवारमा सँगै बस्ने खाने आउने जाने क्रम राम्रै थियो । परिवार बढ्दै गएपछि सबै भाइ एकैठाउँमा बस्न नसक्ने भएका कारण श्रेष्ठले आफ्ना भएका तिन भाई छोराहरुलाई भिन्न पारि दिए । भिन्न भएपछि पनि दाजुभाइ आउने जाने हरेक चाडपर्वहरु रमाइलो गर्ने क्रम राम्रै रहिरहेको थियो ।
परिवार चलाउन समस्या नै भएका कारण दिलिप भने अहिले बैदेशिक रोजगारीका सिलसिलामा साउदीमा रहेका छन् । उनी साउदीमा भएकै बेला बाबुको मृत्यु भयो तर बिदा नमिलेका कारण उनी नेपाल नआएको पारिवारिक श्रोतले बताएको छ ।
परिवारका कसैले पनि जातीय बिभेदका कुरा नगरेपनि समाजले दलित भनेर हेर्ने दृष्टिकोण कहिल्यै पनि परिवर्तन भएन । आफू दलितकी छोरी भएकै कारण समाजले आफूलाई हेर्ने दृष्टिकोण नै फरक पाएको अमृताको भोगाइ छ । शनिबार आफ्ना ससुराको निधनमा आफूहरु शोकमा परिरहेको अवस्थामा सामाजिक र पारिवारिक रुपमा आफू एक्लिएको उनले महशुस गरेकी छन् । २७ गते शुक्रबार दिउँसो ३ बजे तिर उनी घरमा एक्लै घोरिएर बसिरहेकी थिइन् ।
उनको अवस्था देख्दा सान्त्वना नदिइ रहन सकिन्नथ्यो । तर उनले गहभरि आँशु पार्दै आफू दलितकी छोरी भएकै कारण आफ्नो ससूरालाई अन्तिम श्रद्धाञ्जलि समेत दिन नपाएको गुनासो गरिन् । उनले भनिन्– दलित भएकै कारण छुवाछूत हुन्छ भने दलितकी छोरीहरुले आफूभन्दा माथिल्लो जातका मान्छेहरुसँग विवाह नै कसैले नगरुन् किनकि यो समाजमा रहेका अगुवाहरुलाई नै दलितका छोरीहरुको उमेर र बैश चल्छ तर पानी चल्दैन ।
परीवारमा यत्रो बिचल्ली आउँदा एउटा छोरो बिदेशबाट फर्किन नपााएको र घरमा भएकी बुहारीलाई समेत परिवारले फरक दृष्टिकोणले हेरेका कारण आफूलाई नराम्रो लागेको ६१ बर्षीया इन्द्रमाया श्रेष्ठले बताईन् । आफ्नो परिवार गरीव भएकै र छोराले अन्तरजातीय बिवाह गरेकै कारण ४ दिनसम्म पुरेत बिना कामकाज गर्नुपरेको उनले गुनासो गरिन् । राज्यले बिभेदमुक्त घोषणा गरे पनि नेपाल समाजमा आज सम्म जातिय बिभेदले जरो गाडिरहेको छ ।
जातीय बिभेदका कारण नेपाली समाजमा गरिने संस्कारमा कसैलाई बहिष्कार गरिन्छ भने त्यो कानून बिपरीत भएको र यदी आफूलाई जातकै कारण कसैले बिभेद गरेको भन्ने लागेमा पीडिले उजुरी गरे आफूहरु पीडितको पक्षमा लागेर लड्ने अर्जुनधारा नगरपालिका वडा नं. १का जनप्रतिनिधि माधव आचार्यले बताए ।