कनकाई खेलकुदमा लम्साल

0
646

सुरुङ्गा।

कनकाई खेलकुद समितिको अध्यक्षमा कनकाई नगर क्षेत्रका लोकप्रिय युवा व्यक्तित्व रविन्द्र लम्साल सर्वसम्मत चयन भएका छन् ।

नगरपालिकाले कनकाई नगरभित्र हुने सबै प्रकारका खेललाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि लम्सालको नेतृत्वमा कार्यसमिति गठन गरेको हो । नेपाल कम्युनिष्ट पार्टीका कनकाई नगर अध्यक्ष समेत रहेका लम्सालको नेतृत्वमा १४ सदस्यीय समिति निर्माण भएको छ ।

समितिको सदस्यहरुमा फुटबल विधालाई संयोजन गर्ने गरी कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका त्रिलोचन चिमरियालाई जिम्मा दिइएको छ । चिमरियाले विगतमा सुरुङ्गा जेसीजको प्रमुख नेतृत्वमा सुरुङ्गा गोल्डकप सञ्चालन गर्न प्रमुख भूमिका खेलेका थिए ।

भलिबल खेलको संयोजकको जिम्मेवारीसहित यस क्षेत्रका लोकप्रिय खेलाडी समेत रहेका दिलकुमार कार्की (डिल्लु) लाई सदस्यमा राखिएको छ । यसै गरी नगर समितिको अन्य सदस्यहरुमा क्रिकेट विधाबाट विश्वविजय खरेल, योग विधाबाट टीकाप्रसाद जमरकट्टेल र मार्शल आर्टबाट जमुना राईलाई राखिएको छ ।

यसैगरी, अन्य सदस्यहरुमा बाबुराम कोइराला, जबिन तिम्सिना, प्रदीप गजमेर, सारिका गिरी, टंक पाठक, गंगा शिवाकोटी र गोविन्द उप्रेती रहेका छन् । सदस्य सचिवमा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उपसचिव पीताम्बर गौतमलाई चयन गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुडालले दिएको जानकारी अनुसार नवगठित समितिले कनकाई नगरभर हुने खेलकुदका सबै गतिविधि सञ्चालन गर्ने छ । नगरपालिकामा खेलको यो समिति बनेसँगै यस क्षेत्रमा लामो समयदेखि हुन नसकेको सुरुङ्गा गोल्डकप यसै वर्षदेखि सुचारु हुने आशा नगरवासीले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here