परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको आह्वान

0
775

काठमाडौँ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गर्नुभएको छ ।

पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा आज नेकपाको केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, “समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौँ, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम कम चुनौतीपूर्ण छैन । चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् ।

व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ । तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ ।” उहाँले अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवादोन्मुख यात्रामा अघि बढ्ने सङ्कल्प गर्न आवश्यक भएको बताउँदै अराजकतावादीविरुद्ध सजग रही प्रतिकार गर्न आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “हत्केलाले सूर्य छेक्न खोज्न सम्भव छैन । त्यो दुस्साहस मात्र हुनेछ । जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै पार्टीलाई आम जनताको भरोसा जित्न सक्ने आस्थाको केन्द्र बनाउने अभियानमा अनुशासित र जिम्मेवाररूपमा लागौँ ।”

अध्यक्ष प्रचण्डले नेता बोगटीलाई आफूहरुले जहाँ जहाँ अप्ठ्यारो र कठिनाइ हुन्थ्यो, त्यहाँ त्यहाँ खटाउने गरिएको र उहाँले मूल नेतृत्व र नीतिलाई सधैँ सहयोग गर्नुभएको स्मरण गर्नुभयो । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेता बोगटी अरु पार्टीसँग पनि सुमधुर सम्बन्ध बनाउन सक्ने त्यागी र निष्ठावान नेता हुनुभएको र उहाँको त्यो व्यक्तित्वलाई स्मरण गरेर आफूलाई सही मार्गमा अगाडि बढाउनु आजको कार्यभार भएको बताउनुभयो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री बोगटी नुवाकोटका पूर्व सांसद् हुनुहुन्थ्यो । उहाँको २०७१ साल भदौ ३० गते निधन भएको थियो । कार्यक्रममा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले बेगटीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here