उपवनलाई पर्यटकीय स्थलको रुपमा विकसित गरिने

0
723

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिका–१० स्थित उपवनलाई पर्यटकीय स्थलको रुपमा विकसित गरिने भएको छ ।

चमरधाप टोल विकास संस्थाको आयोजनामा उपबन क्षेत्रका बोटबिरुवाको संरक्षण गर्ने तथा पर्यटकीय स्थलको रुपमा विकसित गर्ने उद्देश्यले आयोजित सरसफाई तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो ।

चमरधाप टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र कन्दङ्वाको अध्यक्षता तथा बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा चमरधाप, सापडिग्री क्षेत्रका बासिन्दाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष गुरुङले बिर्तामोडकै गहनाको रुपमा रहेको दुई विगाह सात कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त उपवन क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले उक्त क्षेत्र नगरपालिका समेतले दश कठ्ठा भिन्न प्रयोजनका माग गरे पनि आफू यसलाई टुक्र्याउने पक्षमा नरहेको बताए ।

उपवन तथा समाधिस्थल संरक्षण प्रतिष्ठानका अध्यक्ष समेत रहेका गुरुङले भने– ‘प्रतिष्ठानलाई १० नम्बर वडाका सबै बाइस वटै टोल विकास संस्था एकजुट भएर निश्चित योजनाका साथ अघि बढ्नुपर्छ । जसमा माथिल्लो सरकारको साथ रहनुपर्छ ।

कार्यक्रममा सापडिग्री टोल विकास संस्थाका अध्यक्ष मोहनकुमार उप्रेती, उपबन तथा समाधिस्थल संरक्षण प्रतिष्ठानका सचिव पृथ्वी बस्नेत लगायतले २०६९ सालमा उपवन तथा समाधिस्थल संरक्षण प्रतिष्ठानको नाममा दर्ता भएको यसक्षेत्रलाई समग्र वडाको उन्नति र प्रतिष्ठाका लागि उपयोग गर्न प्रतिष्ठान क्रियाशील बन्नुपर्ने बताए ।

चमरधाप र सापडिग्री टोलको मध्यभागमा अवस्थित उपवन क्षेत्रमा पहिलेदेखि नै आदिवासी जनजाति समुदायले जातीय परम्परा अनुसार कपुर (पक्की चिहान) निर्माण गर्ने गरिएको भए पनि प्रतिष्ठानको मातहातमा आइसकेपछि उक्त क्षेत्रमा देह संस्कारका लागि पक्की घाट (समाधिस्थल) निर्माण गरेर प्रयोग हुँदै आएको स्थानीय बताउँछन् । हाल त्यहाँ सबै समुदायका मानिस सहभागी हुन थालेका छन् ।

कार्यक्रममा कार्यपालिका सदस्य गीता घिमिरे, जर्मन टोल विकास संस्थाका अध्यक्ष प्रभात मुखिया, समाजसेवी कर्णबहादुर गुरुङ, लोकबहादुर राईलगातको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक संस्थाका सचिव डिल्लीराज भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here