जिम्मेवारी नबिर्स

0
414

आयुर्वेद विश्वकै प्राचीनतम् उपचार पद्धति हो । विश्वकै जेठा ग्रन्थ वेदभन्दा अघिदेखि नै झारपात अर्थात् प्रदत्त वनस्पतिको योगबाट गरिने यो पद्धतिमा मृत शरीरलाई पनि पुनर्जिवित गर्न सक्ने सामथ्र्य थियो । त्यहीकारण देवी–देवताहरुका समयदेखि नै सर्वग्राह्य र निर्विकल्प बनेको आयुर्वेदिक पद्धति खासगरी एसिया महादेशमा अत्यन्त विश्वासयोग्य र पहुँचमा रहेको थियो । त्रेतायुगमा राम–रावण युद्धमा मृत्युको मुखमा पुगेका लक्ष्मणलाई हनुमानले हिमालबाट सञ्जीवनी बुटी ल्याएर बचाएका थिए । प्रत्येक बोटबिरुवामा औषधीय गुण हुन्छ । तर, सबैले त्यसको उपयोगिता बुझ्न सक्दैनन् । अझ औषधि सेवन गर्नासाथ रोगमुक्त भइहाल्नुपर्ने आजको मानसिकताका कारण आयुर्वेद पद्धति ओझेलमा पर्दैछ ।

पछिल्लो समय आयुर्वेदिक पद्धतिमा पनि आधुनिक प्रविधिको योग गर्न थालिएको छ । अर्थात् आयुर्वेदमा यन्त्र, उपकरण तथा विज्ञानसम्मत् परीक्षण गर्न शुरु भएपछि यसले विश्वास आर्जन गर्न थालेको छ । एलोपेथिक पद्धतिमा जस्तो चिरफार नहुने, एउटाको उपचार गर्दा अर्कालाई मलजल नहुने कारणले आयुर्वेदिक उपचार पद्धति लोकप्रिय हुन थालेको पनि हुनसक्छ । त्यहीकारण आयुर्वेदिक पसल खुल्नेक्रम बढेको छ, अनुभव मात्रले होइन औपचारिक योग्यता हासिल गरेर उपचार गर्ने दक्ष चिकित्सक, उपचारकर्मी बढ्दै जाँदा पनि आयुर्वेदिक क्लिनिक र फार्मेसीहरु बढेका छन् ।

कतिपय रोगहरुको आयुर्वेदिक पद्धतिमा पनि शल्यक्रिया हुन थालेको सन्दर्भले कहिलेकाहीँ दुर्घटना निम्त्याउने गर्छ । यस्तै भयो दमकस्थित एक आयुर्वेदिक चिकित्सा केन्द्रमा । पायल्सको शल्यक्रिया गर्ने क्रममा एक विरामीको मृत्यु भएपछि घटना सतहमा आयो । कुनै पनि व्यापार प्रतिष्ठान, उद्योग वा व्यवसाय सञ्चालन गर्नु पूर्व सम्बद्ध निकायमा दर्ता गर्नुपर्छ । तर, वरदान आयुर्वेदिक चिकित्सा केन्द्रमा उपचार गर्न आएकी सत्र वर्षीया सुमित्रादेवी चौधरीको उपचारकै क्रममा मृत्यु भयो ।

सरोकार निकायले अनुगम तथा नियमन नगर्दा हुन पुगेको यस्तो घटना पछि थोरै चेतना जागेको छ । स्थानीय सरकार भनिने दमक नगरपालिकाले यतिञ्जेल के हेरेर बस्यो ? आफ्नो क्षेत्रभित्रका विसंगति र विकृतिको अन्त्य गर्नु उसको दायित्व होइन ? यदि हो भने समाजलाई नकारात्मक असर दिने सम्पूर्ण बेथितिको अन्त्य हुनुपर्छ । जनप्रतिनिधि सुविधामुखी हुँदै जाँदा उत्पन्न यस्ता घटनाबाट पीडित सर्वसाधारणले न्याय पाउनै पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here