बिर्तामोड।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडको आयोजनामा चियाको गुणस्तर जाँच्ने तीन दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपालका चिया बगान तथा उद्योगबाट उत्पादित चियाको गुणस्तर पत्ता लगाउन चिया प्राविधिकहरुलाई दक्ष बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका निमित्त प्रमुख रामएकवाल यादवले जानकारी दिए ।
कार्यक्रममा चिया तथा कफी विकास बोर्ड अन्तर्गत विभिन्न कार्यालयमा कार्यरत ११ जना कृषि प्राविधिक र चारवटा साना किसान चिया सहकारीका चारजना प्राविधिकहरु गरी १५ जनालाई चियाको गुणस्तर जाँच्ने प्रशिक्षण प्रदान गरिएको थियो । कार्यक्रममा सहभागी उनीहरुलाई भारतका टी टेस्टरहरु तपनकुमार दास, देवासिस मुजम्दर, प्रर्वेज हर्सद हुसेनले चिया गुणस्तर जाँच्ने प्रशिक्षण प्रदान गरेका थिए ।
गत आइतवारबाट शुरु भएको प्रशिक्षण अन्तर्गत आइतवार सीटीसी, सोमबार अर्थोडक्स र मंगलबार ग्रीन टी र स्पेसियालिटी टीको गुणस्तर मापन प्रशिक्षण गरिएको थियो ।
उक्त परीक्षण प्रशिक्षणमा झापाका ४ वटा फ्याक्ट्रीबाट उत्पान गरिएको सीटीसी, ३० वटा अर्थोडक्स र ३० वटा ग्रीन टी र स्पेसियालिटीको नमूना परीक्षण गरिएको कृषि प्राविधिक कुसुम भण्डारीले जानकारी दिइन् । प्रशिक्षणमा कुन चियाको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी गराइएको उनले बताइन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका निमित्त प्रमुख रामएकवाल यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत कृषि प्राविधिक कुसुम भण्डारीले गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी महिला मजदुर नेतृ सीता सापकोटा, सहकारीकर्मी देवीप्रसाद कोइराला लगायतले शुभकामना दिएका थिए । त्यस्तै प्रशिक्षणमा सहभागी ताइमा राईले प्रशिक्षण फलदायी भएको बताइन् । प्रशिक्षणका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन संस्थाका मिनबहादुर अगुवाले गरेका थिए ।