बिर्तामोड,
झापाको अर्जुनधारा नगरपालिकाले संविधान दिवसको अवसर पारेर नगरका ५८ बिद्यालय र एउटा क्याम्पससहित ५९ वटा निजी तथा सामुदायिक बिद्यालयमा झण्डा र मिठाई वितरण गरेको छ ।
अर्जुनधारा नगरपालिकाकाका सामाजिक तथा विकास समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दिलिप गुरुङले अर्जुनधारा– ६ स्थित हिमाली एजुकेशन फाउण्डेशनमा विहिवार झण्डा तथा बिद्यार्थीलाई चकलेट वितरण गरेका हुन् । 
बिद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रवत्ता सकुन्तला वरालको आतिथ्ययता रहेको थियो । कार्यक्रममा बिद्यालयका कक्षा–७ मा अध्ययनरत मनोज तिवारीले संविधानका विषयमा आफ्नो विचार प्रस्तुत गरेका थिए । प्रमुख अतिथि गुरुङले संविधानलाई कसरी कार्यन्वयन, व्यवस्थित र मर्यादित बनाउँन सकिन्छ त्यसका लागि नगरले संविधान दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरेको बताए । नगरका निजि तथा सामुदायिक बिद्यालयमा जनप्रतिनिधिको उपस्थितिमा राष्ट्रिय झण्डा वितरण साथै अतिरिक्त क्रियाकलाप गरेको गुरुङले जानकारी दिए । 
स्वागत बिद्यालयकी शिक्षिका सुनिता भट्टराईले गरेको कार्यक्रममा बिद्यालयकी प्रिन्सिपल शान्ता गिरीलगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बिद्यालयका संयोजक बासुदेव वरालले गरेका थिए । आधारभूततहसम्म अध्यापन हुने बिद्यालयमा हाल ४ सय ५५ जना बिद्यार्थी अध्ययनरत रहेको बिद्यालयकी प्रिन्सिपल गिरीले जानकारी गराइन् । २०६३ सालमा ८० जना बिद्यार्थीबाट पढाई शुरु गरेको बिद्यालयमा २३ जना शिक्षकशिक्षिका रहेका छन् ।































