बिर्तामोड,
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको बिर्तामोड सडकखण्डमा बिहीबार प्रहरीले अचानक गाडी रोकेर चालकहरुको गलामा खादा र निधारमा अविर पहिर्याएर चकलेट दिँदा उनीहरु औधी खुशी देखिए ।
सवारी नियम नमानेर प्रहरीको कारवाहीमा परेर सधैँ दण्डित हुँदै र गाली खाँदै आएका चालकहरु तीनै प्रहरीबाट चकलेटसहित सम्मान पाउँदा उनीहरुमा खुशीको सीमा नै थिएन । 
नेपाल प्रहरी, ट्राफिक प्रहरी र सामाजिक अभियन्ताले सबै चालकलाई आजका दिनसम्म राम्रोसँग गाडी चलाउनु भएकोमा धन्यवाद, अबका दिनमा अझ जिम्मेवारीपूर्वक गाडी चलाएर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउनु हुन अनुरोध छ भन्दै उनीहरुलाई खादा र अविर पहिर्याएर सम्मान गर्दै चकलेट प्रदान गरेका थिए ।
वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउने उद्देश्यले बिहीबारबाट झापामा शुरु भएको चौथो दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत लामो दुरीबाट आउने÷जाने तथा स्थानीय रुटका सवारीसाधन तथा निजी सवारीका चालकहरुलाई सम्मान गरिएको होे ।
महाअभियानमा विभिन्न पाँच सयभन्दा बढी सवारीसाधनका चालकलाई खादा र अविर पहिर्याएर सम्मान गर्दै चकलेट प्रदान गरिएको थियो भने चेतनामूलक नारा लेखिएका स्टीकर टाँस्नुका साथै पर्चा वितरण गरिएको थियो ।
सोही कार्यक्रममा वर्षभरि सवारी दुर्घटना नगराएको भन्दै सवारी चालकहरु सगरमाथा यातायातका जीवन तामाङ, मातृ भाग्यरेखाका डिल्लीबहादुर थापा र मुनाल यातायातका पर्वत धिमाललाई नगदसहित सम्मान गरिएको थियो ।
वीरता जेसीजका अध्यक्ष विशाल थापाको अध्यक्षता तथा १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रमुख भीम दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होमप्रसाद अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा वीरता जेसीजका विकास बस्नेतले आस्था वाचन गरेका थिए भने मिजास पोखरेलले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दिनेशराज मैनाली, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश सदस्य बलराम कार्की, चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, वीरता जेसीजका पूर्व अध्यक्ष भेषराज भण्डारी, नेपाल उद्यमशील महिला संघकी अध्यक्ष पार्वता खरेल विमली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमकाबीच वीरता जेसीजले जेसीज सप्ताह अभियान समेत शुरु गरेको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको अगुवाईमा बिर्तामोडको पश्चिम बसस्टेण्डमा यात्रु सहायता कक्षा स्थापना गरिएको थियो । कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव कुशल खतिवडाले गरेको कार्यक्रम संयोजक घनश्याम चौधरीले जानकारी दिए ।






























