सशस्त्रद्वन्द्वमा ज्यान गुमाउने टेक–मानको स्मृतिमा फुटबल

0
1210

अर्जुनधारा।

तत्कालिन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका अर्जुनधारा–१स्थित सिस्ने निवासीद्वय टेकमान लिम्बू र मानबहादुर राईको स्मृतिमा प्रदेशस्तरीय खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

शहीद टेक–मान रंगशाला निर्माण तथा व्यवस्थापन समिति र सयपत्री युवा समूहको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिताको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । टेकमान र मानबहादुरको २०५९ साल असोज १० गते सुरक्षा कार्वाहीमा ज्यान गएको थियो ।

यही असोज ८ गतेदेखि सुरु भइ १७ गते सम्पन्न हुने प्रतियोगितामा इलाम, झापा र मोरङका १० टिमको सहभागिता रहने खेल संयोजक एवम् समितिका अध्यक्ष सूर्य लोहारले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमहरुमा आयोजक सयपत्री युवा समूहसँगै तीनघरे युवा समूह (इलाम), चन्द्रगढी फुटबल एकाडेमी (झापा), बिर्तामोड युनाइटेड क्लब (झापा), रोलिङ फुटबल क्लब (झापा), शिवसताक्षी युवा क्लब (झापा), सैनिक युथ क्लब (झापा), टाँडी युवा क्लब (मोरङ), नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआली र क्षेत्रीय सशस्त्र प्रहरी बल पकली रहेका छन् ।

प्रतियोगिताका आर्थिक उपसमिति संयोजक पवन खनालका अनुसार विजेता टिमले नगद पुरस्कार ५० हजार, उपविजेता टिमले ३० हजार र तेस्रो हुने टिमले १५ हजार प्राप्त गर्ने बताइएको छ । विजेता टिमको नगद पुरस्कार मानबहादुर राईको परिवार, उपविजेता टिमको नगद पुरस्कार टेकमान लिम्बूको परिवार र तेस्रो हुने टिमको नगद पुरस्कार प्रेम निरौलाले प्रदान गर्ने बताइएको छ ।

स्थानीय सरकार, वैदेशिक रोजगारीमा रहेका त्यस क्षेत्रका स्थानीय युवा, प्रायोजक र स्थानीयबाट प्राप्त हुने सहयोग मुख्य स्रोत रहेको उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित सात लाख ५० हजार रुपैयाँ लाग्ने संयोजक खनालले बताए ।

उक्त प्रतियोगिता सम्पन्न गर्न खनालको संयोजकत्वमा आर्थिक उपसमिति, मदन लिमेलको संयोजकत्वमा टिम व्यवस्थापन उपसमिति, डिबी दर्नालको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, विष्णुलाल ढकालको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, भक्ति कोइरालाको संयोजकत्वमा स्वास्थ्य उपसमिति, नयन अधिकारीको संयोजकत्वमा सुरक्षा उपसमिति, विष्णु चौलागाईंको संयोजकत्वमा खेलमैदान तथा पूर्वाधार व्यवस्थापन उपसमिति र राम खतिवडाको संयोजकत्वमा कम्प्युटर तथा पत्राचार उपसमिति गठन गरिएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबो ‘मौसम’ले गर्ने अतिथि सत्कार उपसमितिका संयोजक विष्णुलाल ढकालले गरेका थिए । खेल संयोजक लोहारको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन प्रचार प्रसार उपसमितिका संयोजक दर्नालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here